महिला फुटबलः सावित्राको अनुपस्थितिमा नेपालको कमजोरी उदांगो – Nepal Press

महिला फुटबलः सावित्राको अनुपस्थितिमा नेपालको कमजोरी उदांगो

काठमाडौं । महिला फुटबलमा नेपाल र भारत दक्षिण एसियामा बलिया मानिन्छन् । विगतको रेकर्ड हर्दा नेपालले भारतबाहेकका अन्य दक्षिण एसियाली राष्ट्रसँग प्राय ठूलो अन्तरको जित हात पार्दै आएको छ । तर, काठमाडौंमा भर्खरै सम्पन्न दुई म्याचको प्रतियोगितामा बंगलादेशले नेपाललाई कडा चुनौति दियो ।

बंगलादेशको महिला फुटबल फिफा वरियतामा नेपालभन्दा निकै तल छ । नेपाली महिला फुटबल टोलीको अभ्यासका लागि आयोजित प्रतियोगितामा नेपालले आफ्नो स्तरअनुसारको खेल देखाउन सकेन । पहिलो म्याचमा नेपालले २-१ को कठिन जित हात पार्‍यो भने दोस्रोमा निराशाजनक बराबरीमा चित्त बुझाउनुपर्यो । यसले एएफसी छनोट खेलका लागि नेपालको तयारी अपूरो देखिएको छ ।

पहिलो खेल नेपालले जितेको भए पनि खुशी चाहिँ बंगलादेश भयो । उसले फर्काएको १ गोल नेपालसँगका ९ भेटमा दोस्रो थियो । दोस्रो खेलमा गोलरहित बराबरी नेपालका लागि स्तब्ध नतिजा हो । यो नतिजामार्फत बंगलादेशले भने इतिहास रचेको छ । दक्षिण एसियाको बलियो प्रतिद्वन्द्वमा गनिने नेपाललाई बराबरीमा रोक्नु बंगलादेशका लागि ठूलो सफलता हो । नेपालले भने पहिलोभन्दा दोस्रो खेलमा झन् आफ्नो लय गुमाएको थियो ।

विगतमा नेपालले बंगलादेशलाई गोलको मौका नदिई सहजरुपमा पराजित गर्द आएको थियो । त्यसैले बंगलादेशविरुद्धका दुई म्याचबाट नेपाली समर्थक निराश बनेका छन् ।

एएफसी एसियन कप छनोट खेल्न लागेको नेपाली महिला टोलीलाई बंगलादेशविरुद्धका नतिजाले उत्साहित तुल्याउन सकेन । दशरथ रंगशालामा उत्कृष्ट खेल देखाउँदै हङकङ र फिलिपिन्ससँगको खेलमा कडा चुनौति दिनेमा आम समर्थकले विश्वास लिएका छन् । तर बंगलादेशसँगको खेलपछि नेपाली टिममाथि धेरै प्रश्नहरु उठेका छन् ।

नेपाली महिला टोलीले सोचे जस्तो प्रदर्शन गर्न नसकेको पूर्वप्रशिक्षक हरी खड्काको भनाइ छ । एएफसी छनोट खेलमा कमीकमजोरी सुधार गर्दै खेल्ने उनी बताउँछन् ।

सावित्राको अनुपस्थिति खट्कियो

नेपाली महिला फुटबलकी खम्बाको रुपमा रहेकी स्ट्राइकर सावित्रा भण्डारी उर्फ सम्बा अहिले टिममा छैनन् । घुँडाको शल्यक्रिया गराएकी सावित्राको अनुपस्थितिमा नेपाली टिम कमजोर देखिएको छ । बंगलादेशविरुद्धको प्रतियोगितामा सावित्राको अभाव पूर्णरुपमा खट्कियो । पूर्णरुपमा खट्कियो ।

विगतमा नेपालका हरेक म्याचमा सावित्राले ‘गोल मेसिन’ को रुपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन् । उनको अनुपस्थितिमा नेपाली टिमको प्रदर्शन कस्तो रहला भन्ने कौतुहल पनि थियो । बंगलादेशविरुद्धको दुई म्याचलाई आधार मान्ने हो भने सावित्रा बिनाको नेपाल मैदानमा भुत्ते सावित भएको छ ।

त्यसो त अर्की नियमित खेलाडी पुन जर्घामगरलाई पनि नेपाली टोलीले गुमाउनु परेको थियो । खेलअघि गरिएको स्वास्थ्य परिक्षणमा नेपाली टिमकी नियमित रक्षक पुनम जर्घा मगरको मुटुमा समस्या देखिएको थियो ।

दुई मैत्रिपूर्ण खेलबाट दुई टोलीको तुलना गर्दा बंगलादेशले नेपाल भ्रमणलाई सार्थक बनायो भने नेपालले सुधारको संकेत देखाउन सकेन । अब नेपाली महिला टोलीलाई एएफसी छनोट खेल निकै चुनौतिपूर्ण हुने देखिएको छ ।

एएफसी छनोट चरणका खेलहरु २८ भदौदेखि ९ असोजसम्म नेपालमै आयोजना हुदैछन् । समूह एफमा रहेको नेपालले हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । यो समुहको शीर्ष स्थानमा रहने टोली भारतमा हुने एसियन कपका लागि छनोट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर