नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाउन डब्लुएचओको आग्रह – Nepal Press

नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाउन डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका आफ्ना सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई अझ तीव्र बनाउन अपिल गरेको छ । यस क्षेत्रमा हुने मृत्युहरू मध्ये दुई–तिहाइ मृत्युहरू नसर्ने रोगका कारणले हुने गरेको र तिनले गम्भीर कोभिड-१९ को जोखिम पनि बढाएको डब्लुएचओले जनाएको छ ।

“कोभिड–१९ महामारीले नसर्ने रोगसहित बाँचिरहेका व्यक्तिहरूको संवेदनशीलतालाई थप उजागर गरिदिएको छ । गम्भीर रोग तथा मृत्युको जोखिम बढ्नुको अलावा, अत्यावश्यक सेवाहरू अवरुद्ध हुनाले नसर्ने रोगहरूको नियन्त्रणमा हासिल गरिएको प्रगति सुस्त हुने र उल्टिने नै पनि डर छ,” डब्लुएचओ क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले क्षेत्रीय बैठकको अन्तिम दिन भनिन् ।

मुटु सम्बन्धी रोग, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप आदि जस्ता नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रण डा. खेत्रपाल सिंहका प्रमुख प्राथमिकताहरूमध्येमा रहेको छ ।

सन् २०१४ देखि सदस्य राष्ट्रहरूले नसर्ने रोगहरू सम्बन्धी सेवाहरू प्रदान गर्ने वा सेवाको परिमाण अभिवृद्धि गर्ने, शारीरिक क्रियाकलापहरू प्रवद्र्धन गर्ने, चिनीयुक्त तथा गुलिया पेयपदार्थमा कर लगाउने, खैनी तथा सुर्तीको प्रयोगको नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने, मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने लगायतका कार्यहरू गरिरहेको जनाइएको छ ।

“हामीले नसर्ने रोगहरूलाई सम्बोधन गर्न र तिनलाई महामारीको तयारी तथा प्रतिकार्यको अभिन्न अङ्ग बनाउन जरुरी छ । यसो भएमा आपतकालीन अवस्थामा नसर्ने रोगहरू सम्बन्धी सेवाहरूको निर्वाध पहुँचका लागि संयन्त्रहरू स्थापना गर्न र स्वास्थ्य सम्बन्धी गम्भीर जटिलताहरूको जोखिम न्यूनीकरण गर्न मद्दत पुग्छ,” क्षेत्रीय निर्देशकले भनिन् ।

हाल जारी चुनौतीहरूको परिप्रेक्ष्यमा, सदस्य राष्ट्रहरूले दिगो विकास लक्ष्य २०३० का लक्ष्यहरू हासिल गर्नका लागि नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि क्षेत्रीय कार्ययोजना विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् ।

सदस्य राष्ट्रहरूले आँखा तथा मुखको एकीकृत स्वास्थ्य स्याहार र त्यसका लागि क्षेत्रीय कार्य योजना विकास गर्ने सम्बन्धमा पनि छलफल गरेका छन् । मुखको क्यान्सर सबैभन्दा व्याप्त पाँच क्यान्सरहरूमध्येमा रहेको छ र मुख सम्बन्धी स्वास्थ्य समस्या प्रमुख जनस्वास्थ्य चासोको रूपमा रहेको छ । यस क्षेत्रमा व्याप्त दृष्टि दोष तथा अन्धोपनको दर विश्वव्यापी रूपमा नै अत्यधिक मध्येमा रहेको छ ।

यस क्षेत्रमा सन् १९९० र २०१५ को बीचमा अन्धोपन तथा मध्यमदेखि गम्भीर दृष्टदोषको दर घटेको केही प्रमाण छन् । तथापि, विश्वको औसतभन्दा यस क्षेत्रको दर उच्च रहँदै आएको छ र मोतिबिन्दुको प्रभावकारी शल्यक्रियाको दर लक्ष्यभन्दा कम रहेको छ ।

सन् २०२० मा गरिएको मुख सम्बन्धी स्वास्थ्य नीतिहरूको अवस्था विश्लेषणले केही प्रगति भएको देखाएको भएता पनि सन् २०२५ का लक्ष्यहरू भेट्नका लागि अझ धेरै अन्तर विद्यमान रहेको देखाएको छ ।

नसर्ने रोगहरूका कारणले हुने मृत्युको करिब आधा ३० देखि ६९ वर्ष बीचको उमेरमा असामयिक रूपमा हुने गरेको छ । यस क्षेत्रको एक चौथाइ वयस्क जनसङ्ख्या उच्च रक्तचापबाट पीडित छ भने प्रत्येक १२ जना वयस्कमध्ये एकजनालाई मधुमेह छ ।

दिगो विकास लक्ष्यको लक्ष्य ३.४ हासिल गर्नका लागि भएका उपलब्धिहरूलाई कसरी कायम राख्ने, प्राथमिकता दिनुपर्ने क्षेत्रहरूमा कार्यलाई कसरी तीव्रता दिने र यस क्षेत्रमा नवीनतम उपाय तथा पद्धतिहरूको परीक्षण गर्नका लागि सञ्चालन मार्गनिर्देशन दिने नसर्ने रोगहरूको क्षेत्रीय कार्यान्वयन मार्गचित्र २०२२–२०३० विकास गर्ने सम्बन्धमा पनि सदस्य राष्ट्रहरूले छलफल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *