चोभारको सुख्खा बन्दरगाह निर्माण सकियो, भन्सार र क्वारेन्टाइन राखेर संचालनमा ल्याइने – Nepal Press

चोभारको सुख्खा बन्दरगाह निर्माण सकियो, भन्सार र क्वारेन्टाइन राखेर संचालनमा ल्याइने

काठमाडौं । चोभारबाटै सामान आयात-निर्यात हुने गरी बनाइएको सुख्खा बन्दरगाह निर्माण सकिएको छ । भन्सार र क्वारेन्टाइन राखिएसँगै बन्दरगाह संचालनमा ल्याइने बताइएको छ ।

आयोजनाका कार्यकारी निर्देशक आशिष गजुरेलले चोभारको सुख्खा बन्दरगाह निर्माणको काम सम्पन्न भएको बताए ।
गजुरेलले नेपाल प्रेससँग भने, ‘निर्माणको काम पूर्णरूपमा सम्पन्न भएको छ । अब भन्सार र क्वारेन्टाइन आए सुख्खा बन्दरगाह बसेपछि सञ्चालनमा आउनेछ । त्यसको लागि पनि तयारी शुरू भइसकेको छ । त्यसपछि विदेशबाट आयात हुने वस्तु सीधै चोभार ल्याउन पाइनेछ । नेपालबाट निर्यात हुने वस्तु पनि यही बन्दरगाहबाट सबै प्रक्रिया पूरा गरी लैजान सकिनेछ ।’

चोभारबाट नै नेपालमा उत्पादन भएको वस्तु निर्यात गर्न सकिने भएपछि नेपालको निर्यात पनि वृद्धि हुने गजुरेलले बताए । नेपालमा आयात हुने वस्तु धेरै मात्रामा काठमाडौंमा खपत हुने भएकाले वस्तु आयातकर्तालाई सहज हुनेछ ।

स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह निर्माण सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए ।

बन्दरगाह निर्माणका शुरूमा छुट्ट्याइएको १ अर्ब ४० करोडबाट १२ प्रतिशत लागत बढेपछि १ अर्ब ६० करोड खर्च भएको छ । निर्माणमा विश्व बैंकले सहयोग गरेका थिए । आशिष र साक्षी ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मा पाएको थियो ।

बन्दरगाह बनेको ठाउँमा यसअघि हिमाल सिमेन्टको कारखाना थियो । सिमेन्ट उद्योगको १ हजार ५४ रोपनीमध्ये २ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो ।

निजगढ-काठमाडौं द्रूतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहमा व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । व्यापारीले आफ्नो सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर नगइ चोभार सुख्खा बन्दरगाहबाट नै सबै काम गर्न सक्ने छन् ।

बन्दरगाहमा ५ सय कन्टेनर राख्न सकिने छ । पाँचवटा ब्लकको गोदाम बनेका छन् । १ हजार ३ सय वर्गमिटरमा खुला जाँच क्षेत्र रहेको छ । यस्तै, यहाँ सामान जाँच्ने स्टेसन, लोड-अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।

२२० रोपनी जग्गामा फैलिएको उक्त बन्दरगाहमा ३ वटा मुख्य गेट, भन्सार, क्वारेन्टाइन र प्रशासनिक गरी ३ वटा भवन, ३ वटा गोदाम, ३ वटा सवारीसाधनको चेकजाँच गर्ने संरचना निर्माण भएको छ ।

हाल वीरगञ्ज, भैरहवा, तातोपानी र विराटनगरबाट नै भन्सारको सबै काम सकेर सामान आयात हुने गरेको छ ।

वीरगञ्ज, वीरटनगर, भैरहवा, तातोपानी र विराटनगरबाट सामान आयात हुँदा त्यहाँको भन्सारमा सामान्य प्रक्रियामात्रै गरेर चोभारको सुख्खा बन्दरगाह ल्याएर भन्सार तिर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *