अर्घाखाँची कांग्रेसको नेतृत्वका लागि आधादर्जन आकांक्षी, देउवाबाट घिमिरे र पौडेल पक्षबाट खनाल बलिया दाबेदार – Nepal Press

अर्घाखाँची कांग्रेसको नेतृत्वका लागि आधादर्जन आकांक्षी, देउवाबाट घिमिरे र पौडेल पक्षबाट खनाल बलिया दाबेदार

रूपन्देही । सबैभन्दा पहिले क्रियाशील सदस्यताको सूची केन्द्रमा बुझाउने जिल्ला अर्घाखाँचीमा नेपाली कांग्रेसको आगामी नेतृत्व लिन आधा दर्जन नेताहरु मैदानमा उत्रेका छन् ।

पूर्वमन्त्री मानबहादुर विश्वकर्मा, नेतृ पुष्पा भुसालको गृहजिल्लामा सभापति शेरबहादुर देउवा पक्षमा नेताहरु धेरै भए पनि कार्यकर्ता तहमा वरिष्ठ नेता रामचन्द्र पौडेल केही बलियो रहेको आंकलन धेरैले गरेका छन् ।

जिल्ला नेतृत्वका लागि देउवा पक्षबाट नेता यादव घिमिरे र बाबुराम पौडेल तयारीमा लागिसकेका छन् । पौडेल समूहबाट वर्तमान सभापति विष्णु मुस्कान, महासमिति सदस्य केशव श्रेष्ठ, वर्तमान सचिव छविलाल पौडेल, वर्तमान उपसभापति शान्ता भण्डारी सबैले तयारी गरेपछि कसलाई अघि बढाउने भन्ने अन्योल छ ।

पछिल्लो समय युवा नेता इन्द्रमणि पौडेलले आफ्नो सभापतिको दावेदारी पेश गरेका छन् । पछिल्लोपटक जिल्ला सभापति पदमा युवानेता इन्द्रमणि पौडेलले उम्मेदवारी घोषणा गरेसँगै जिल्ला सभापतिमा आकांक्षीको संख्या बढेको हो । पौडेल कांग्रेसको १३ औँ महाधिवेशनमा धेरै मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका थिए ।

‘मैले नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा जिल्ला सभापतिमा चुनाव लड्नका लागी घोषणा गरिसकेको छु’, संस्थापनइतर समूहका पौडेल भन्छन्, ‘राजनीति पाका उमेरकाले मात्र गर्नुपर्छ भन्ने कुरा हुँदैन । बिपी कोइराला ४५ वर्षको उमेरमा प्रधानमन्त्री बन्नुभएको थियो । म पनि सानै उमेरदेखि राजनीति र सामाजिक क्षेत्रमा क्रियाशील भएका कारण पनि पार्टीको संगठन चलाउने क्षमता छ । नयाँ प्राविधिक युगसँगै पार्टी सञ्चालन गर्ने तरिका पनि प्रविधिमैत्री हुनुपर्छ ।’

महाधिवेशन नजिकिँदै जाँदा जिल्लामा केन्द्रीय गुटगत समूहहरु बन्न थालेका छन् । यसअघिको अधिवेशनमा अर्घाखाँचीमा सर्वसम्मतरुपमा विष्णु खनाल ‘मुस्कान’ सभापति बनेका थिए ।

वर्तमान सभापति खनालसहित सबै प्रत्यासीले निर्वाचन तयारीलाई तीव्रता दिएका छन् । जिल्ला सभापतिको अर्का दावेदार वर्तमान सचिव छविलाल पौडेल हुन् । कांग्रेसका पाका नेता पौडेल यसपटक सभापति भएर पार्टी हाँक्न तयार भएको बताउँछन् ।

त्यस्तै अहिलेका उपसभापति शान्ता भण्डारी पनि आंकाक्षी बनेकी छन् । उनले महिलाको नेतृत्वमा पार्टी अगाडि बढ्नुपर्ने बताउँदै महिलाहरुको अधिकार स्थापित गराउन र महिलाहरुलाई पार्टीमा आकर्षित गराउन १४ औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने बताएकी छन् ।

देउवा समूहकाको बलियो प्रतिनिधि मानिने अर्घाखाँचीका नेता महासमिति सदस्य यादवप्रसाद घिमिरे बलियो उम्मेदवार हुन् । नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष रहेका घिमिरे अधिवेशनमा प्रतिस्पर्धा गर्न स्थायी जागिर छोडेर मैदानमा उत्रेका छन् ।

त्यसैगरी महासमिति सदस्य केशव श्रेष्ठ पनि सभापतिका बलियो दावेदार हुन् । तरुण दलहुँदै पार्टी राजनीतिमा सक्रिय श्रेष्ठले सभापतिका लागि मैदानमा आइसकेको बताएका छन् ।

त्यस्तै कांग्रेसका पूर्व पार्टी सचिव बाबुराम पौडेल पनि यसपटक आफू सभापतिको बलियो उम्मेदवार रहेको बताउँछन् ।

जिल्लामा केन्द्रमा भन्दा अलग समूह बन्ने पुराना पत्रकार विष्णु भुसालले बताए । ‘अरु जिल्लामा जस्तो समीकरण यहाँ छैन, यहाँको अलग्गै समूह बन्छ’, उनले भने । जिल्लामा अहिलेका सभापति विष्णु मुस्कानलाई प्रदेश सचिवमा पठाएर सभापतिमा यादव घिमिरे अगाडि ल्याउन दुवै समूहले छलफल गरेको उनको आंकलन छ ।

जिल्लाबाट केन्द्रीय समितिमा देउवा पक्षबाट मानबहादुर विक, पुष्पा भुसाल जाने निश्चितजस्तै छ भने पौडेल पक्षबाट डा. रामबहादुर विसीले आकांक्षा व्यक्त गरेका छन् । त्यसैगरी डा. मुक्ति श्रेष्ठ र नेता रेवती भुसाल पनि केन्द्रीय सदस्यमा जाने तयारीमा छन् ।

कांग्रेस अर्घाखाँचीको सभापतिमा वर्तमान सभापति विष्णु मुस्कान, जिल्ला सचिव छविलाल पौडेल, महासमिति सदस्यद्वय केशव श्रेष्ठ, यादव घिमिरे, पूर्व जिल्ला सहसचिव बाबुराम पौडेल आकांक्षी छन् ।

जिल्ला सभापति मुस्कान भने संस्थापनइतर समूहबाट लुम्बिनी प्रदेशको महामन्त्रीमा उम्मेदवार बन्ने तयारी गरेका छन् । धेरैले पौडेल समूहबाट वर्तमान सभापतिले पुनः जिम्मेवारी पाउने पनि अनुमान गरेका छन् ।

उनकै समूहबाट केशव श्रेष्ठ पनि बलियो दावेदार भएकाले कसको पल्ला भारी हुन्छ भनेर नेताहरु लविङमा लागिरहेका छन् । देउवा समूहबाट नेतृ पुष्पा भुसालले यादव घिमिरेलाई अगाडि बढ्न संकेत गरिसकेको उनी निकटका नेताहरुले बताएका छन् । यसअघि जिल्लामा केन्द्रीय गुट नबनेपनि अहिले त्यो तयार भएको छ ।

भदौ १८ मा हुने वडा अधिवेशनका लागि अहिले सबै नेता कार्यकर्ता घरदैलोमा पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर