ईंग्ल्यान्डका कप्तान जोए रुट ६ वर्षपछि टेस्ट वरीयताको शीर्षस्थानमा – Nepal Press

ईंग्ल्यान्डका कप्तान जोए रुट ६ वर्षपछि टेस्ट वरीयताको शीर्षस्थानमा

काठमाडौं । भारतविरुद्ध टेस्ट श्रृंखलामा उत्कृष्ट प्रदर्शनसँगै बेलायतका कप्तान जोय रुट विश्व टेस्ट वरीयताको शीर्षस्थानमा फर्केका छन् । यसअघि आईसीसीको र्‍याङ्किङ्मा पाँचौ वरीयतामा रहेका उनले फड्को मार्दै शीर्ष स्थान कब्जा जमाएका हुन् ।

छ वर्षपछि रुट टेस्ट क्रिकेटको पहिलो नम्बरमा पुगेका हुन् । उनले भारतविरुद्धको टेस्ट श्रृंखला अन्तरगत तीनवटा टेस्टमा लगातार हानेका छन् । अहिलेसम्म ५०७ रन बटुलिसकेका उनको औसत १२६.७५ छ । यही रफ्तारले उनलाई न्यूजिल्यान्डका कप्तान केन विलियम्सनभन्दा अगाडि पुर्‍याएको छ ।

भारतविरुद्धको श्रृंखलासँगै ईंग्ल्यान्डका अन्य दुई ब्याट्म्यानले पनि आफ्नो वरीयतामा उच्च सुधार गरेका छन् । जोन्नी बेयरस्टो पाँच स्थानको फड्को पार्दै २४ औं स्थानमा पुगेका छन् । अर्का ब्याट्सम्यान डेभिड मलनले ८८ औं स्थानमा आफूलाई उभ्याएका छन् ।

भारतीय ब्याट्सम्यानहरूको कुरा गर्दा रोहित शर्माले विराट कोहलीलाई उछिनेर टप ५ भित्र परेका छन् । अर्का ब्याट्सम्यान चेतेश्वर पुजाराको पनि वरियता सुधार भएको छ । तेस्रो टेस्टको दोस्रो इनिङमा ९१ रन बनाएसँगै उनी १५ औं स्थानमा उक्लेका छन् ।

बलिङतर्फ पनि ईंग्ल्यान्डका खेलाडीहरूको प्रगति भएको छ । तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेसँगै भेट्रान जेम्स एन्डरसन एक स्थान माथि उक्लिँदै टप ५ मा प्रवेश गरेका छन् । सोही टेस्टमा प्लेयर अफ द म्याच बनेका ओल्ली रोबिन्सन नौ स्थानको फड्को मार्दै ३६ औं वरीयतामा उक्लिएका छन् ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर