माधव नेपालको नयाँ दलमा एमालेका ६० केन्द्रीय सदस्य र ३३ सांसदको शक्ति – Nepal Press

माधव नेपालको नयाँ दलमा एमालेका ६० केन्द्रीय सदस्य र ३३ सांसदको शक्ति

सनाखत भने ५६ केन्द्रीय सदस्य र ३० सांसदको मात्रै

काठमाडौं । विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेका माधवकुमार नेपालले साविक एमालेबाट करिब २२ प्रतिशत शक्तिको साथ पाएका छन् । बुधबार निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी)को सनाखत गर्न निर्वाचन आयोगमा ६० केन्द्रीय सदस्य र ३३ संघीय सांसद पुगेका छन्।

यसलाई प्रतिशतमा अनुवाद गर्दा केन्द्रीय कमिटीमा यो करिब २३ प्रतिशत हुन्छ भने संघीय संसदमा करिब २० प्रतिशत हुन्छ । राजनीतिक दल सम्बन्धी नयाँ अध्यादेश अनुसार केन्द्रीय समितिमा वा संघीय संसदीय दलमा २० प्रतिशत पुगेको खण्डमा त्यसले नयाँ दलको मान्यता पाउँछ ।

जस अनुसार माधव नेपाललाई एकीकृत समाजवादी दलको मान्यता पाउन ४१ केन्द्रीय वा ३१ संघीय सांसद भए पुग्छ । निर्वाचन आयोग पुगेका सबैको भने सनाखत हुन सकेन । तीनजना संघीय सांसद र चार केन्द्रीय सदस्यले माधव नेपाललाई साथ दिएर निर्वाचन आयोग पुगे पनि दल विभाजनमा सनाखत गर्न पाएनन् ।

दल दर्ताको निवेदनका बेला उनीहरुको नाम र हस्ताक्षर नभएकाले उनीहरुको सनाखत हुन नसकेको हो । दिल्लीमा रहेका झलनाथ खनालको भने सनाखत भएको छ ।

प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद तथा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे, समानुपातिक सांसद माया ज्ञवाली र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले दल विभाजनमा सनाखत गर्न पाएनन् ।

पाण्डे शुरुमा एमाले एकता अभियानमा थिए । माधव नेपालका सम्धी भएकाले उनी अन्तिममा एकीकृत समाजवादीमै लाग्ने भनेर आयोगमा गए पनि यसअघि निवेदनमा नाम नभएकाले आयोगले सनाखत गर्न नमानेको हो ।

त्यस्तै केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य राजन राई, केन्द्रीय सदस्य विक्रम शाही र रामप्रित पासवानको पनि सनाखत हुन सकेन । तर उनीहरु एकीकृत समाजवादीको केन्द्रीय समितिमा छन् ।

सनाखत भएको संख्या मात्रै हेर्दा माधव नेपालको नयाँ दलले केन्द्रीय कमिटिमा २० प्रतिशत भन्दा धेरै पुर्‍याएको छ भने संघीय संसदमा भने १ जना सांसद अपुग हुँदा २० प्रतिशत पुग्न सकेन । तर, अध्यादेशको व्यवस्था अनुसार दुई मध्य एउटामा २० प्रतिशत पुग्ने भएकाले निर्वाचन आयोगबाट एकीकृत समाजवादीले नयाँ दलको मान्यता पाउने सम्भावना छ ।

निर्वाचन आयोगले यो समाचार तयार पार्दा (७:४६)सम्म दल दर्ताको प्रमाण पत्र दिइसकेको छैन् । तर, आयुक्तहरु सकेसम्म आजै प्रमाणपत्र दिने तयारीमा छन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अहिलेसम्म निर्णय नभइसकेको भए पनि आयुक्तहरु आजै प्रमाण पत्र दिने गरि जुटेको जानकारी नेपाल प्रेसलाई दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर