अबको खोप काठमाडौं, जनघनत्व भएका तराईका जिल्ला र विद्यार्थीलाई लगाइने : १८ देखि ३० वर्ष उमेरकालाई कोभिसिल्ड दिइने (भिडियो) – Nepal Press

अबको खोप काठमाडौं, जनघनत्व भएका तराईका जिल्ला र विद्यार्थीलाई लगाइने : १८ देखि ३० वर्ष उमेरकालाई कोभिसिल्ड दिइने (भिडियो)

काठमाडौं । सरकारले अबको कोभिड खोप प्राथमिकतामा राजधानी काठमाडौं, बढी जनघनत्व भएका तराईका जिल्ला र विद्यार्थीलाई राख्ने भएको छ । आज प्रतिनिधि सभामा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ती क्षेत्रका व्यक्तिलाई प्राथमिकता दिई काम अघि बढाउने बताए ।

५०० भन्दा बढी संक्रिय संक्रमित भएका जिल्लाहरुमा पनि खोप कार्यक्रम प्राथमिकताका साथ अघि बढाउने उनले बताए । असोजसम्म थप एक करोडभन्दा बढी खोप आउने भएकाले खोप अभाव हुन नदिइने पनि उनले बताए । बुधबारको तथ्यांक अनुसार २० जिल्लामा सक्रिय संक्रमित छन्।

खोप कार्यक्रमलाई व्यवस्थित बनाउन खोप केन्द्रहरु गप गरिने जानकारी पनि श्रेष्ठले दिए । खोप आपूर्तिमा वृद्धि गरिएको र ५ करोड ५० लाख डोज खोप आवश्यक पर्ने भन्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलव्ध गराएको जानकारी गराए । बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए ।

सरकारले खोप अभियानअन्तर्गत दैनिक १ लाख देखि २ लाख डोज लगाउने कार्यक्रम सुरु गरेको उनले जनाए । असोज मसान्तसम्म १ करोड ८ लाख डोज खोप प्राप्त हुने सुनिश्चत भएको उनले जनाए । उमेर समूह र आर्थिक गतिविधि हुने ठाउँमा छुट्टै व्यवस्थापन गरेर खोप दिइने उनको भनाइ छ। धेरै संक्रमित रहेका १५र१६ जिल्लामा खोप पहिला दिइने उनले बताए।

निजी क्षेत्रसँगको साझेदारीबाट खोप कार्यक्रमलाई अघि बढाउने स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको भनाई छ । निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफाभन्दा सेवामुखी बनाउन सरकारले पहल गर्ने उनको भनाइ थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *