बर्दिया र बाँकेमा पाटे बाघ बढे, बाघ संरक्षण अभियान सफल भएकाे निकुञ्जकाे दाबी – Nepal Press

बर्दिया र बाँकेमा पाटे बाघ बढे, बाघ संरक्षण अभियान सफल भएकाे निकुञ्जकाे दाबी

रुपन्देही । लुम्बिनी प्रदेशका बर्दिया र बाँकेमा बाघको संख्या बढ्दै गएको छ । सन् २०१३ मा बाँकेमा ४ वटा मात्रै बाघ थिए ।

४ वर्षमा बढेर २१ पुगे । सन् २०१८ मा भएको बाघ गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जमा १ सय ८ वटा बाघ पुगेका थिए । बाघको बासस्स्थान बिस्तार गर्न पहिले बर्दियामा सीमित रहेकोमा केही वर्षअघि बाँकेलाई थप गरिएको हो ।

सन् २०१८ मा गरिएको बाघ गणनाअनुसार नेपालमा जम्मा २ सय ३५ बाघ फेला परेका थिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार ती मध्ये सबैभन्दा बढी बर्दिया र बाँके निकुञ्ज क्षेत्रमा रहेका छन् ।

प्रत्येक चार चार वर्षमा हुने बाघ गणना यसै २०२१को डिसेम्बर र २०२२को जनवरीमा गर्ने तयारी भइरहेको छ । बाघ गणनाका लागि सरकारले १ करोड रुपैयाँ बिनियोजन गरिसकेको छ । यसपटक सबै राष्ट्रिय निकुञ्ज साथै बाघ पाइने तराई र पहाडका संभावित मध्यवर्ती र आसपासका वन क्षेत्रमा समेत बाघ गणना गर्ने तयारी छ ।

बर्दियामा ८७ तथा बाँकेमा २१ वटा पाटेबाघ रहेको तथ्यांकमा उल्लेख छ । यहाँ पाटे बाघ बढ्नुको कारण भालेको तुलनामा पोथी बाघको संख्या बढी हुनु पनि हो । बाघको संख्या बर्दियामा पनि बढेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वार्डेन बिष्णु श्रेष्ठका अनुसार गएको ४ वर्षमा बर्दिया निकुञ्जमा बाघको संख्या बढेको सहजै अनुमान गर्न सकिन्छ । निकुञ्ज क्षेत्रमा अनुगमन गर्ने क्रममा र त्यहाँ राखिएको क्यामराले पनि नयाँ नयाँ बाघहरु देखिएको रेकर्ड गरेकाले बाघको संख्या बढेको अनुमान गर्न सकिने उनले बताउँछन् ।

स्थानीयको सहभागितामा सुरक्षा निकायसंग मिलेर बाघ संरक्षण अभियान सफल हुँदा स्वभाविकरुपमा बाघको संख्या बढने र बर्दियामा संरक्षण अभियान सफल भएको श्रेष्ठले बताए । बाँके निकुन्जका प्रमुख वार्डेन श्याम शाह पनि बाघको संख्या बढेको अनुमान भएको बताउँछन् ।

नियमित अनुगमनको क्रममा नयाँ नयाँ बाघ देखिन्छ । अहिले बास स्थानको व्यवस्थापन, बाघले खाने आहार प्रजातिका जनावरमा बृद्धि, उचित घाँसे मैदान, राम्रो पानीको श्रोतजस्ता कारणले बाँकेमा बाघको संख्या राम्रो भएको हो, शाहका अनुमान छ ।

बाघको संख्या चितवन राष्ट्रिय निकुञ्जमा ९३, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ वटा गरी सन् २०१८को गणनाअनुसार बाघको संख्या अहिले २३५ रहेको छ ।

सन् २०१३ को तुलनामा सन् २०१८मा बाघको संख्यामा १८ प्रतिशतले वृद्धि भएको हो । निकुञ्ज क्षेत्र साथै मध्यवर्ति र आसपासका वन क्षेत्रमा मात्रै नभइ नेपालका उच्च पहाडी क्षेत्रमा पनि यसै बर्ष २ बाघ फेला परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *