माधव पक्षले देउवालाई विश्वासको मत दिने निश्चित, सरकारमा सहभागिता अनिश्चित – Nepal Press

माधव पक्षले देउवालाई विश्वासको मत दिने निश्चित, सरकारमा सहभागिता अनिश्चित

संसद जोगाएर सरकारमा सहभागी हुन नेपाल पक्षका बहुसंख्यक सांसदको दबाब

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने निश्चित भएको छ । तर एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन भने कानूनी र नैतिक रुपमा नमिल्ने भएकाले नेपाल पक्षको सत्तारोहण अनिश्चित छ ।

सत्तारुढ गठबन्धन शीर्ष नेताबीचको छलफलमा माधव पक्षलाई सरकारमा सहभागिताको लागि आग्रह गरिएको छ । गठबन्धनको बैठकमा नगएका नेपाललाई भेटेरै माओवादी अध्यक्ष प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।गठबन्धनको बिहीवारको बैठकमा भने माधव नेपालको तर्फबाट एमाले पोलिटव्युरो सदस्य डा. विजय पौडेलमात्र सहभागी भएका थिए ।

यसअघि गठबन्धन बैठकमा भाग लिने गरेका डा. भीम रावल कार्यदलमा १० बुँदे सहमतिपछि सहभागी हुन छाडेका छन् । उनले एमाले एकताको प्रक्रिया अघि बढेकाले अब एमालेविरोधी गठबन्धनमा रहन नमिल्ने बताएका छन् ।

देउवालाई विश्वासको मत दिन माधव नेपाल तयार भइसकेका छन् । बुधवार आफ्नै निवास कोटेश्वरमा भेट्न गएका देउवालाई नेपालले संसद जोगाउन आफूहरु अदालत गएको भन्दै विश्वासको मत दिएर प्रतिनिधिसभालाई पूरै अवधि जोगाउने बताएका थिए । देउवालाई विश्वासको मत दिने सन्दर्भमा नेपाल समूहमा एकमत छैन् । भीम रावल लगायत कार्यदलमा रहेका नेताहरुले दश बुँदे सहमति अनुसार पार्टीमा संस्थागत निर्णय गरेरमात्र विश्वासको मत दिने वा नदिने टुंगो लगाइनुपर्ने बताएका छन् ।

तर नेपाल पक्षका धेरैजसो सांसदहरुले जुन उद्देश्यले अदालतमा गएको हो त्यो पूरा गर्नका लागि विश्वासको मत दिनुपर्ने नैतिक बाध्यता रहेको बताएका छन् । सकेसम्म एमालेले संस्थागत निर्णय गरेरै विश्वासको मत दिनुपर्ने, नत्र देउवालाई समर्थन गरेर अदालतमा गएकाहरुलेमात्रै भने पनि दिनुपर्ने उनीहरुको भनाइ छ ।

एमाले केन्द्रीय सदस्य तथा सांंसद मेटमणी चौधरीले भने- हामीले विश्वासको मत दिन्छौं । संसद जोगाउनका लागि बाध्यता हो । केपी ओलीले के गर्छन् भन्ने अलग कुरा हो तर अदालतले नै विश्वासको मत दिए वापत कारवाही हुँदैन भनिसकेको छ । सरकारमा सहभागी पनि हुनुपर्छ ।

माधव नेपाल निकट पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले एमालेका २३ जना सांसदले संसद, लोकतन्त्र र संविधान जोगाउन अदालतमा रिट दायर गरेको र मुद्दा जितेकाले विश्वासको मत दिनुपर्ने बताए । तर एमाले पार्टीभित्रै रहेर सरकारमा सहभागिता जनाउन भने नैतिक र राजनीतिक रुपमा नमिल्ने उनको तर्क छ ।

खतिवडाले भने- विश्वासको मत दिनुपर्छ र दिन्छौं । तर सरकारमा सहभागी हुन चाहिँ अर्को दल बनाउने वा एमालेले संस्थागत निर्णय गरेर हुनसक्छ । व्यक्तिगत रुपमा सरकारमा सहभागी हुँदा राम्रो सन्देश जाँदैन । ओलीजीले एमाले मिलाउनु भएन भने त्यसपछिको कुरा अरु हुन्छ ।

स्थायी कमिटीका माधव पक्षका धेरैजसो नेताहरुले भने दश बुँदै सहमतिमा टेकेर अब एमाले एकतामा जोड दिनुपर्ने बताएका छन् । अष्टलक्ष्मी शाक्यसहितका नेताहरु समेत अब माधव नेपालले विपक्षी गठबन्धनमा आफू जाने वा आफ्नो सहभागी पठाउने प्रक्रिया रोक्नुपर्ने बताएका छन् ।

देउवालाई माधव नेपाल पक्षका सबैजना सांसदले विश्वासको मत नदिए पनि कम्तिमा १३ जना भए पुग्छ । यसबीचमा जसपाका महन्थ पक्षका केही सांसद उपेन्द्र यादव पक्षमा लागेका छन् । त्यस्तो अवस्थामा त्यो भन्दा थोरै संख्या भए पनि पुग्छ ।

माधव नेपाल पक्षका केही सांसद यस्ता छन्, जसले माधवले भने पनि संसद जोगाउने मूल्यमा उनको कुरा नमान्ने खालका छन् । यो संख्यामात्र देउवाको पक्षमा उभिदा पनि विश्वासको मत पाउन सक्छन् । माधव पक्षका दोस्रो तहका नेताहरु दश बुँदे सहमति कार्यन्वयन गराउन विघटित कार्यदलका ओली पक्षका नेताहरुसँग पुनः संवादमा जुटेका छन् । यद्यपी संसद जोगाउने सन्दर्भमा विश्वासको मत दिने विषयमा माधव पक्षका बहुमत सांसद एक ठाउँमा छन् ।

एमालेले शुक्रवारको स्थायी कमिटी बैठकबाट सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ र आफ्ना सांसदलाई पनि निर्णयको पक्षमा उभिन निर्देशन दिएको छ । तर माधव नेपाल पक्षले सो निर्णय नमान्ने भएको छ । एमालेको एकता पनि भन्ने तर एमालेविरुद्धको गठबन्धन नछाड्ने अवस्थाबाट माधव नेपाल पक्ष कहिले मुक्त हुन्छ ? त्यसपछिमात्र एमाले एकता वा विभाजनको टुंगो लाग्ने देखिन्छ ।

मन्त्रीका दाबेदार

संकटमा माधव नेपाललाई साथ दिएका सांसदहरु आफूहरुले लडेर पुनःस्थापित भएको प्रतिनिधिसभा जोगाउन विश्वासको मत दिनुपर्ने र गठबन्धनको मुख्य घटक भएकाले सरकारमा पनि सहभागी हुनुपर्ने पक्षमा छन् ।

यद्यपी यज्ञराज सुनुवार लगायतका केही सांसदले नेपाललाई भेटेर अब पार्टी मिलाउन आग्रह गरेका छन् । संविधान जोगाउने लडाइ अदालतले जिताएकाले अब सरकारमा सहभागिता भन्दा पनि पार्टी एकतामा जोड दिन उनीहरुले आग्रह गरेका छन् ।

वार्ता कार्यदलमा रहेका नेताहरु पनि अब जे निर्णय गर्ने हो संस्थागत आधारमा गर्नुपर्ने पक्षमा छन् । तर नेपालसँगै निकट रहेका अधिकांश सांसदहरु भने माधव नेपालले आफ्नो रोडम्याप अनुसार नै अघि बढ्नुपर्ने बताइरहेका छन् ।गठबन्धन बलियो बनाउन सरकारमा जानुपरे त्यसका लागि तयार हुनुपर्ने मत पनि नेपाल समूहमा बलियो । माधव नेपाल पक्षलाई कम्तिमा ६ वटा मन्त्रालय र ८ जनासम्म मन्त्री र राज्यमन्त्री दिन गठबन्धनका नेताहरु तयार छन् ।

नेपाल पक्षबाट मन्त्रीका लागि बेदुराम भुसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, यज्ञराज सुनुवार, झपट रावल, निरा जैरु, सरला यादव, कल्याणी खड्का, मेटमणी चौधरी, रामकुमारी झाँक्री, कृष्णलाल महर्जन लगायतको नाम सो समूहमा चर्चामा छ ।

प्रतिक्रिया

2 thoughts on “माधव पक्षले देउवालाई विश्वासको मत दिने निश्चित, सरकारमा सहभागिता अनिश्चित

  1. नैतिकता हरायो, सर्बोच्चले पनि सांसदहरु लाई अब देखी दल बिहिन निर्देशन लागू नहुने भनेपछि, सबै स्वतन्त्र भए । किन कुनै नेताको नाम संग जोडिनु पर्यो ? आफू खुशी । सदनमा पनी पक्ष बिपक्ष हुनु आवश्यक छैन होला ।

  2. यिनीहरुलाई पनि नैतिकता भन्ने लाग्छ र ? कि झुक्किएर त्यो शब्द परेकाे हाे पत्रकार महाेदय ।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर