बिहीबार चीनबाट थप १० लाख डोज भेरोसेल खोप आउँदै, कोभ्याक्सबाट थप ३ लाख ५० हजार डोज आउने – Nepal Press

बिहीबार चीनबाट थप १० लाख डोज भेरोसेल खोप आउँदै, कोभ्याक्सबाट थप ३ लाख ५० हजार डोज आउने

चीनबाट दुई साताभित्र बाँकी ३२ लाख डोज ल्याउने तयारी

काठमाडौं । आगामी दुईसाताभित्र चीनबाट कोभिड–१९ विरुद्ध न्यूनतम ३० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने भएको छ । सोहीअनुसार नेपाल वायुसेवा निगमले उडान तालिका तय गरेको छ । नेपाल प्रेससँग कुरा गर्दै निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले आउने बिहीबार थप १० लाख खोप आउने जानकारी दिए । बुधबार निगमको वाइडबडी जहाज बेइजिङ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रबन्ध निर्देशक पौडेलका अनुसार चीनसँग खरीद गरिएका खोप लिन यही साउन ६ गते पौनै ६ः०० बजे गएर अर्को दिनअर्थात् साउन ७ गते बिहान खोप लिएर जहाज नेपाल आउने छ ।

यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ । चीन सरकारसँग ननडिस्क्लोजर सम्झौताअनुसार सरकार ‘भेरोसेल’ खोप खरीद गरेर ल्याउन थालेको हो । यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमितरुपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।

चीनबाट यसअघि खरिद गरिएको ८ लाख डोज खोप आइसकेको छ भने अब ३२ लाख डोज खोप आउन बाँकी छ ।

यसैगरी सरकारले खरीद गर्नेबाहेक कोभ्याक्स सुविधामार्फत पनि सरकारले खोप ल्याइरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धताअनुसार खोप आइरहेको जानकारी दिए । सरकारले असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत तीन लाख ४८ हजार खोप भारतबाट प्राप्त भएको थियो ।

यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड-१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिए । कोभ्याक्समार्फत तीन लाख ५० हजार डोज खोप आउन थालेको हो । सरकारले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाइरहेको छ ।

असार २९ देखि यही साउन २ गतेसम्म मुलुकभरि नै खोप लगाउन थालिएको हो । भेरोसेल ५५ वर्ष र सोमाथिका उमेर समूह तथा जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइँदैछ । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ ।

नेपालमा अहिलेसम्म पहिलो मात्रा २६ लाख २१ हजार ४७६ र दोस्रो मात्रा ११ लाख आठ हजार ८६८ ले लगाइसकेका छन् । नेपालमा कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *