भरतपुरमा कोरोनाको डेल्टा भेरिएन्ट संक्रमण पुष्टि – Nepal Press

भरतपुरमा कोरोनाको डेल्टा भेरिएन्ट संक्रमण पुष्टि

भरतपुर । भरतपुरमा कोरोनाभाइरसको ‘डेल्टा भेरिएन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरिएन्ट पत्ता लागेको हो ।

सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा प्रमाणित भएको जनाएको छ ।

अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगरपालिकाभित्रका भएको जनाइएको छ ।

कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरिएन्ट बढी संक्रमक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहेका उनले जानकारी दिए ।

डेल्टा भेरियन्टले बालबालिकादेखि वृद्ध-वृद्धासम्म सबै उमेर समूहका व्यक्तिलाई उच्च संक्रमण गर्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता भएको विज्ञले बताएका छन् ।

विज्ञप्तिमा सम्पूर्ण नागरिकलाई त्रसित नभई उच्च सतर्कताका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अपिलसमेत गरिएको छ । यस अघि स्याङजा, गोरखा र नुवाकोटमा डेल्टा भेरिएन्ट पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *