अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आउँदै – Nepal Press

अमेरिकाबाट १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आउँदै

काठमाडौं । अमेरिकाले नेपाललाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराउने भएको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार सो परिमाणको खोप शनिबार (अमेरिकी समयअनुसार शुक्रबार) नेपाल आइपुग्नेछ ।

विपन्न र गरिब मुलुकलाई ८० मिलियन डोज खोप उपलब्ध गराउने राष्ट्रपति बाइडेनको घोषणा अनुसार नेपालले उक्त परिमाणमा खोप प्राप्त गर्न लागेको जनाइएको छ ।

अमेरिकाले भुटानलाई पनि ५ लाख डोज मोर्डना खोप आपूर्ति गर्ने भएको छ । नेपालमा सुरक्षितपूर्वक खोप पुर्‍याउन वैज्ञानिक समूह, कानूनी टीम र अधिकारीहरुले मिलेर काम गरिरहेको ह्वाइट हाउसका अधिकारीले बताएको रोयटर्सले जनाएको छ ।

के भन्छन् नेपाली अधिकारीहरु ?

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार खोप आउने निश्चित भएपनि मिति भने यकिन नभएको बताउँछन् । यस्तै जवाफ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि दिइन् ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले खोप आउनेबारे मन्त्रालयलाई जानकारी नभएको बताए । पछिल्लो समय खोपको मूल्य र मितिबारे अधिकारीहरुले विवरण सार्वजनिक गर्न चाहिरहेका छैनन् ।

शुक्रबार चीनबाट ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *