कुमारी फिल्म हल सधैँको लागि बन्द, ३७ वर्ष इतिहास बोकेको हल बिक्री (तस्बिरहरु) – Nepal Press

कुमारी फिल्म हल सधैँको लागि बन्द, ३७ वर्ष इतिहास बोकेको हल बिक्री (तस्बिरहरु)

दमौली र वीरगञ्जमा क्यूएफएक्सका थप दुई हल थपिए

काठमाडौं । ३७ वर्षको इतिहास बोकेको कुमारी फिल्म हल अन्ततः सँधैको लागि बन्द भएको छ । क्यूएफएक्सले सिनेमा घर नै बेचिदिएपछि अब पुनः फिल्म प्रदर्शन नहुने निश्चित भएको हो ।

शनिबारदेखि कुमारी फिल्म हलभित्रका सबै सामानहरु हटाउन सुरु गरिएको छ । क्यूएफएक्स प्रमुख नकिम उद्दिनले पुनः फिल्म प्रदर्शनको प्रयोजनका लागि हल संचालनमा नआउने बताए । उक्त हललाई अब अन्य प्रयोजनका लागि उपयोग गरिनेछ ।

कोरोना महामारीपछि नेपालमा फिल्म प्रदर्शनको इतिहास बोकेका जयनेपाल र कुमारी हल बन्द भएका हुन् । जयनेपाल दोस्रो लकडाउनअघि सँधैका लागि बन्द भएको थियो ।

२०४१ सालमा स्थापना भएको कुमारी फिल्म हलमा पहिलोपटक ‘जय सन्तोषी माता’ फिल्म प्रदर्शन गरिएको थियो । २०६२ सालमा क्यूएफएक्सले संचालनको स्वामित्व लिएको कुमारी निर्मातालाई नाफा दिने हलमध्ये एक थियो ।

२०३६ सालमा रिलिज भएको फिल्म ‘सिन्दूर’ र ज्याकी श्राफको  फिल्म ‘हिरो’ले उधुम कमाइ गरेका थिए । पछिल्लो पटक हलिउड ब्लकबस्टर ‘एभेन्जर्स : एन्ड गेम’ले उछाल कमाइ गरेको थियो । २०७७ चैत ११ गते लकडाउन भएसँगै कुमारी बन्द भएको थियो ।

साङ्लो, ब्लडसट र आमा कुमारीमा रिलिज हुने अन्तिम फिल्म बने ।

क्यूएफएक्सको आउटलेट संख्या १२ पुग्यो

जयनेपाल र कुमारी हल बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ हल स्थापना गरेको छ । महमारी सामान्य भएपछि यी दुई फ्रेन्चाइजलाई संचालनमा ल्याउने तयारी छ ।

क्यूएफएक्स प्रमुख उद्दिनले अहिले तत्काल नाफा नहुने हललाई बन्द गरेर आफूहरु मोफसलमा फ्रेन्चाइज विस्तारमा लागिपरेको नेपाल प्रेसलाई बताए । सोहीअनुसार वीरगञ्ज र दमौलीमा आउटलेट खुल्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *