संक्रमण पुनः उकालो- संक्रमण दर २६.३ प्रतिशत पुग्यो, बुधबार २८ सय संक्रमित थपिए – Nepal Press

संक्रमण पुनः उकालो- संक्रमण दर २६.३ प्रतिशत पुग्यो, बुधबार २८ सय संक्रमित थपिए

संक्रमण बढ्यो, सतर्क बनौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं । मुलुकमा कोरोनाभाइरस संक्रमणमा पुनः वृद्धि भएको छ । बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले संक्रमण उकालो लाग्दै २६.३ प्रतिशत पुगेको जानकारी दिए ।

केही दिन अघिसम्म २३ प्रतिशत रहेको संक्रमण दर झन्डै साढे तीन प्रतिशतले वृद्धि भएको हो । प्रवक्ता पौडेलले भने, ‘केही दिनको तुलनामा संक्रमण पुनः बढेको हो । जोखिम हटेको होइन ।’

पछिल्लो २४ घण्टामा मुलुकमा २८९२ जना संक्रमित थपिएका छन् । ७१८५ पीसीआर र ४३८१ एन्टीजेन नमुना गरी कूल ११ हजार ५६८ परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौं उपत्यकामा बुधबार ५७२ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना संक्रमित थपिएका छन् ।

बुधबार थप ४१ जनाको मृत्यु भएको छ भने ३५९७ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमित संख्या ३३ हजार ५६१ पुगेको छ । १७ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

भारतमा अवस्था कस्तो छ ?

भारतमा आज कोरोनाभाइरसबाट थप झण्डै ४६ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४५ हजार ९५१ जना सङ्क्रमित भएका हुन् ।

अघिल्लो दिनको तुलनामा बुधबार सार्वजनिक गरिएको तथ्याङ्कमा केही बढी देखिएको सरकारी अधिकारीहरुले जनाएका छन् । अघिल्लो दिन ३७ हजार ५६६ जना नयाँ सङ्क्रमित थपिएको विवरण संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको थियो ।

मंगलबार सार्वजनिक गरिएको तथ्याङ्कमा १०२ दिनपछिकै सवैभन्दा कम सङ्क्रमितहरु भएको देखिएको थियो । भारतमा लामो समयदेखि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिदै आएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० हजार ७२९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । थपिएका सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पनि कम हुदै गएको छ । अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच लाख ३७ हजार ६४ रहेको छ ।

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारण ८१७ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । भारतमा अहिलेसम्म कुल तीन करोड तीन लाख ६२ हजार ८४८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये दुई करोड ९४ लाख २७ हजार ३३० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या तीन लाख ९८ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *