संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन : उपप्रधानमन्त्री पौडेल – Nepal Press

संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताएका छन् । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताएका छन् ।

उनले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएका बताए । उनले निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन आग्रहसमेत गरे ।

उनले सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा, मानवीय संसाधनको विकासका दृष्टिले, जनताको जीवनस्तरमा आएको विकास र प्रगतिका क्षेत्रमा हरेक दृष्टिकोणले नेपालले विकासका नयाँ-नयाँ मानक प्रस्तुत गर्दै अघि बढिरहेको बताए ।

अर्थमन्त्रीसमेत रहेका उनले सरकारको विकास र समृद्धिको अभियानमा सम्पूर्ण राजनीतिक दल, आम जनताको समेत साथ र सहयोग हुनुपर्नेमा सत्तापक्षीय दलकै बीचमा पनि कतिपय समस्या देखिएकाले यो प्रतिनिधिसभाले राजनीतिक स्थायित्वलाई सुनिश्चितता दिने तथा विकासको अभियानलाई तीव्रता दिन नसक्ने अवस्थामा ताजा जनादेशमा जानुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गरे ।

उपप्रधानमन्त्री पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मुलुककै समृद्धिका लागि निकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हुने बताए । उनले परियोजनाले रूपन्देही र कपिलवस्तुका जमीनमा सिँचाइ सुविधा पुर्‍याउने, विद्युत् उत्पादन गर्ने तथा पर्यटकीय पूर्वाधारको समेत विकास गरिने योजना रहेको जानकारी दिए ।

सो परियोजना सम्पन्न गर्न १३८ अर्ब लागत अनुमान गरिएको छ । यसअन्तर्गत विद्युत् उत्पादन करीब ६४ अर्ब र सिँचाइ संरचना तथा सिञ्चित क्षेत्र विकासका लागि करीब ७४ अर्ब अनुमान गरिएको छ । उक्त रकमको स्रोत सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।रासस

 

प्रतिक्रिया

One thought on “संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प छैन : उपप्रधानमन्त्री पौडेल

  1. सरासर हार्ने चुनाव बारे सार्है चिन्तीत देखिन्छन् – ओली एण्ड कम्पनि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर