काठमाडौंमा निषेधाज्ञा एकसाता थप्ने तयारी, अहिले नै सार्वजनिक यातायात खुलाउन मिल्दैन : स्वास्थ्य मन्त्रालय – Nepal Press

काठमाडौंमा निषेधाज्ञा एकसाता थप्ने तयारी, अहिले नै सार्वजनिक यातायात खुलाउन मिल्दैन : स्वास्थ्य मन्त्रालय

सार्वजनिक यातायात खुलाउने बारे सीडीओहरु अलमलमा

काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

निषेधाज्ञा अवधि थप एकसाता लम्बिने भएपनि कुन-कुन क्षेत्रलाई खुकुलो तुल्याउने र कुन-कुन क्षेत्रलाई कडाइ गर्ने भन्ने बारे निर्णय नभैसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

आइतबार बेलुका बस्ने उपत्यकाका तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै थप आदेशहरु जारी गर्ने भएका छन् । सार्वजनिक यातायात खुलाउन दबाब आइरहेपनि तत्काल खुला गर्ने आफूहरुको तयारी नरहेको ललितपुर सीडीओ निरौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

‘सार्वजनिक यातायात खुलाउन हामीलाई दिनहुँ यातायात व्यवसायीको डेलिगेसन आइरहेको छ’ उनले भने, ‘तत्काल खुला गर्ने हाम्रो योजना छैन तर, एकदुई दिनको संक्रमण दर हेरेर निर्णय लिन्छौं ।’ निषेधाज्ञा खुकुलो भएको समयमा पनि जनस्वास्थ्यको मापदण्ड पालना नभएकाले अझै कडाइ पनि गर्नुपर्ने हुनसक्ने उनले जनाए ।

काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले पनि सार्वजनिक यातायात खुलाउन आफूहरु सकारात्मक रहेपनि हतार नगर्ने बताए । ‘स्वास्थ्य मन्त्रालयको सुझावलाई हेरेर यसबारे निर्णय हुन्छ तर, तत्काल खोलिहाल्ने हाम्रो तयारी छैन’ पराजुलीले भने । अहिलेको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म कायमै छ ।

स्वास्थ्य मन्त्रालय भन्छ : काठमाडौंमा सार्वजनिक यातायात खुलाउने परिस्थिती छैन

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले अहिलेको परिस्थितीमा काठमाडौं उपत्यकामा सार्वजनिक यातायात खुलाउने परिस्थिती नरहेको बताएका छन् ।

‘उपत्यकाबाहिर संक्रमण दर कम भएका ठाउँमा खुलाएपनि काठमाडौंको सक्रिय संक्रमित संख्या हेर्दा खुलाउने परिस्थिती छैन’ उनले भने, ‘जिल्लाको परिस्थिती हेरेर गर्न सकिन्छ । अझै केही समय काठमाडौंमा खुलाउन मिल्दैन ।’

अहिले पनि मुलुकको पजेटिभ हुने दर झन्डै २० प्रतिशत छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै रहेको छ । काठमाडौं जिल्लामा ४२०४, भक्तपुरमा १८३३ र ललितपुरमा २४०७ जना सक्रिय संक्रमित छन् ।

‘अहिलेको अवस्थामा काठमाडौं उपत्यकामा यातायात खुलाउन सकिँदैन । जस्तै कञ्चनपुर जिल्ला ठूलो छ र त्यहाँको सक्रिय संक्रमित संख्या २२५ छ भने त्यहाँ खुलाउन सकिन्छ’ प्रवक्ता पौडेलले भने, ‘काठमाडौं उपत्यकाको पजेटिभिटी दर अझै उच्च छ ।’

काठमाडौं उपत्यकाको संक्रमण दर १० प्रतिशतमा झरे चरणवद्ध रुपमा विभिन्न क्षेत्रहरु खुलाउन सकिने र ५ प्रतिशतमा झरे सार्वजनिक यातायात र विद्यालय खुलाउने आफूहरुको तयारी रहेको उनले जनाए । काठमाडौं उपत्यकामा कतिपय संक्रमित उच्च रहेको टोल र ठाउँलाई सिल गर्नुपर्ने परिस्थिती पनि आउन सक्ने पौडेलको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *