भारतलाई हराउँदै न्यूजिल्याण्ड बन्यो पहिलो विश्व टेस्ट च्याम्पियन
काठमाडौं । पहिलो टेस्ट च्याम्पियनसीपको उपाधि न्यूजिल्यान्डले जितेको छ । आज भएको फाइनलमा भारतमाथि ८ विकेटको जितसहित न्यूजिल्यान्डले उपाधि उचालेको हो ।
भारतले दिएको १३९ रनको लक्ष्य न्यूजिल्यान्डले २ विकेटको क्षतिमा पुरा गरेको थियो । न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले महत्वपूर्ण अर्धसतक बनाए । उनलाई अनुभवी ब्याट्सम्यान रोज टेलरले बलियो साथ दिएपछि न्यूजिल्याण्डलाई लक्ष्यसम्म पुग्न खासै समस्या भएन ।
बलरहरु हावी भएको खेलमा भारत पहिलो इनिङमा २१७ रनमा र दोस्रो इनिङमा १७० रनमा अलआउट भएको थियो । न्यूजिल्याण्डले पहिलो इनिङमा २४९ रन बनाउँदै ३२ रनको अग्रता लियो । भारतलाई धराशयी बनाउन न्यूजिल्याण्डका फास्ट बलर किल जेमिसनले महत्वपूर्ण भूमिका खेले । उनले पहिलो इनिङमा ५ विकेट र दोस्रो इनिङमा २ विकेट लिएका थिए ।
उपाधिका लागि सामान्य लक्ष्य पछ्याएको न्यूजिल्याण्ड दुवै ओपनरलाई गुमाएपछि केही दवावमा आएको थियो । तर विलियम्सन र टेलरले तेस्रो विकेटको लागि अविजित ९६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म डोहोर्याएका छन् ।