अक्करमा परेको एमाले: न फुट्छ न जुट्छ – Nepal Press

अक्करमा परेको एमाले: न फुट्छ न जुट्छ

स्थायी कमिटी बैठकको प्रतीक्षामा माधव समूह

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले मिल्न पनि नसक्ने र फुट्न पनि नसक्ने जटिल असमञ्जसमा फसेको छ । नेतृत्वको अन्तरविरोधका कारण पार्टीले एकपछि अर्को धक्का खाँदा पनि एमालेका दुवै पक्षको चेत खुलेको छैन ।

विगतमा माधव नेपाल समूहले प्रचण्डको साथ छोडेर एमालेमा फर्किँदा संस्थापन पक्ष उनीहरुप्रति कठोर देखिएको थियो । अध्यक्ष ओलीले एकतर्फीरुपमा पार्टीको केन्द्रीय समिति विस्तार गर्नेदेखि माधव नेपाल समूहका प्रमुख नेताहरुलाई कारवाहीको डण्डा चलाए । ती कदमहरु अन्ततः आफ्नै लागि प्रत्यूत्पादक बनेपछि अहिले उनी लचिलो देखिएका छन् ।

ओलीले माधव पक्षका मागहरु पूरा गर्ने प्रतिवद्धता जनाउँदै एकताका लागि लचिलो आह्वान गरेका छन् । तर, जब ओली लचिलो बने, कठोर बन्ने पालो आयो माधव समूहको । सो समूहका हार्डलाइनर नेताहरु ओलीलाई सडकमै ल्याउन चाहन्छन् । यद्यपि माधव समूहभित्रकै एउटा प्रभावशाली उपसमूह चाहिँ एकताको गम्भीर पहलमा छ ।

ओलीको आह्वान र सर्वोच्चको आदेश

आलीले गरेको एकता आह्वानमा पार्टीलाई ‘२०७५ जेठ ३ गते अगाडि’ को संरचनामा फर्काउने प्रतिवद्धता जनाएका थिए । तर, माधव पक्षका नेताहरुले ‘जेठ २ गते भन्नुपर्नेमा जेठ ३ गते’ भनेर ओलीले छलकपट गर्न खोजेको आरोप लगाइरहेका छन् ।

केही दिनअघि सर्वोच्च अदालतले एक अन्तरिम आदेश जारी गर्दै एमालेको विद्यमान महाधिवेसन आयोजक समितिलाई केन्द्रीय कमिटीको मान्यता दिन अस्वीकार गर्यो । महाधिवेशन आयोजक समितिले गरेको कारवाहीलाई अस्वीकार गरेर गर्नुको अर्थ एमालेको नवौं महाधिवेशनबाट निर्वाचित कमिटीलाई मात्रै सर्वोच्चले वैध मानेको एकथरि विश्लेषण छ । ओली पक्षले चाहिँ यसलाई ठूलो विषय बनाएको छैन ।

‘अध्यक्षले जेठ ३ गतेअगाडि भन्नुको मतलव पनि जेठ २ गते भन्ने नै हो । सर्वोच्चको आदेश र अध्यक्षको प्रतिवद्धतामा खासै अन्तराल छैन,’ संस्थापन पक्षका एक नेताले भने ।

संस्थापन पक्षको प्रमुख चिन्ता भनेको जेठ २ मा फर्किँदा बादलहरुलाई के गर्ने भन्ने हो । नेकपामा फुट आउँदा एमालेमै बसेका उनीहरु अहिले पनि ओलीको रक्षाकवचका रुपमा प्रस्तुत भइरहेका छन् । जेठ २ मा फर्किँदा उनीहरुलाई पार्टीको स्थायी समितिमा तान्न माधव पक्षसँग अर्को सहमति गर्नुपर्ने हुन्छ । त्यसो गर्दा माधव पक्षले आफूतिरबाट पनि सदस्य थप्नुपर्ने अडान राख्न सक्छ ।

जेठ २ अघिको एमालेका केन्द्रीय समितिदेखि स्थायी समितिसम्म ओली र माधव पक्ष हाराहारीमा थिए । बादल समूहलाई तान्दा ओलीको पकड मजबुत हुने चिन्ता माधव समूहमा छ ।

एमाले स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्चको आदेशपछि स्टाटस लेख्दै बादलहरु महाधिवेशन आयोजक समिति बन्नुभन्दा अगाडि केन्द्रीय समितिमै थपिएर आएकाले वैध भएको तर्क गरेका थिए ।

स्थायी समिति बैठकको प्रतीक्षा

एमाले अध्यक्ष ओलीले माधव समूहलाई समेत सहभागी हुन आह्वान गरेर स्थायी समिति बैठक बोलाउने चर्चा केही दिनदेखि तीव्र छ । पार्टी प्रवक्ता प्रदिप ज्ञवाली भने आफूहरु छलफलमै रहेको बताउँछन् ।

‘स्थायी समिति बैठक बोलाउने नै भन्ने हो, तर अहिले हामी छलफलकै क्रममा छौं,’ उनले नेपाल प्रेससँग भने ।

ओलीले स्थायी समिति बोलाउँदा त्यसमा माधव समूह सहभागी हुन्छ कि हुँदैन भन्ने प्रश्न यथावत् छ । यस विषयमा माधव समूहबीच पनि मतैक्यता देखिँदैन । एकथरि नेताहरु जेठ २ गतेकै स्थायी समिति बोलाएमा सहभागी हुनुपर्ने बताउँछन् । अर्काथरि चाहिँ अरु शर्तहरु पनि अघि सारिरहेका छन् ।

माधव पक्षका हार्डलाइनर नेता भीम रावलले ओलीले ओलीबाट स्थायी समिति आह्वान भएपछि मात्रै त्यसमा भाग–लिने नलिने तय हुने बताए ।

‘अहिले काल्पनिक कुरा किन गर्ने, पहिले बैठक आह्वान हुन दिनुस्,’ उनले भने ।

स्थायी समिति बैठक बोलाउँदा ओलीले कस्तो भाषा प्रयोग गर्छन् भन्ने पनि महत्वपूर्ण हुने रावलको भनाइ छ ।

‘स्थायी कमिटीको बैठक बोलायौं भनेर मात्रै हुँदैन । नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक भनेर प्रष्ट रुपमा आउनुपर्छ,’ उनले भने ।

दुवै समूहका वाध्यता

जे–जस्ता तिक्तताका बाबजुद पनि एमालेका दुवै समूहहरुलाई एकतातर्फ लम्किनुपर्ने निश्चित वाध्यताहरु छन् ।

संस्थापन पक्षको कुरा गर्ने हो भने माधव समूह विपक्षी गठवन्धनमा लाग्दा उसले एकपछि अर्को धक्का सहनुपरिरहेको छ । एउटा प्रदेश सरकार त उसले गुमाइसक्यो भने अन्य प्रदेशहरु पनि धरमरमा छन् । राष्ट्रियसभामा पनि एमालेले पराजय व्यहोर्यो । ओलीले पछिल्लो समयका आफ्ना प्रियपात्र बादललाई राष्ट्रियसभामा पुर्याउन सकेनन् ।

पार्टीमा विभाजन भयो भने एमाले अवश्य कमजोर बन्नेछ । माधव नेपालले आफूसँग एमालेको ठूलै टुक्रा लैजानेछन् । अघिल्लो महाधिवेशनको नतिजा हेर्ने हो भने नेपालको शक्ति ओलीको हाराहारीमा नै छ । धेरै प्रभावशाली युवा नेताहरु माधव समूहमा भएकाले पनि ओली उनीहरुलाई गुमाउन चाहँदैनन् ।

माधव समूहका पनि आफ्नै वाध्यता छन् । ओलीको रिसले एमालेबाट निस्केर अर्को पार्टी गठन गर्नु ‘मुतको न्यानो’ मात्र हुने बुझाइ सो समूहका धेरै नेताहरुमा छ । अनि पार्टी विभाजनतिरै लम्किए भने नेपाललाई धेरै नेताहरुले साथ छोड्न सक्ने र उनी अर्को सीपी मैनाली बन्न सक्ने खतरालाई पनि नकार्न सकिन्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर