गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त – Nepal Press

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दावी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित हिजो प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गरेका थिए । तर आज कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दावी पेश गरेपछि अन्योल भएको थियो । अन्ततः प्रदेश प्रमुखले गुरुङको दावीलाई मान्यता दिइनन् ।

को हुन् कृष्णचन्द्र ?

नयाँ मुख्यमन्त्री पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

२००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५/६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

२०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर