मुख्यमन्त्रीले कार्यालयमै बोलाएर भेटे पीडित राउटे युवती, प्रिफ्याब घर बनाइदिने आश्वासन ! – Nepal Press

मुख्यमन्त्रीले कार्यालयमै बोलाएर भेटे पीडित राउटे युवती, प्रिफ्याब घर बनाइदिने आश्वासन !

दुवै युवतीको स्वास्थ्य परीक्षण

सुर्खेत । यौन दुर्व्यवहारमा परेका दुई राउटे युवतीलाई कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भेटेका छन् । वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालयमै राउटे युवतीहरुलाई स्वागत गरेका शाहीले उनीहरुलाई प्रिफ्याब घर बनाइदिने आश्वासन दिएर पठाए ।

राउटे समूदायका दुई युवतीमाथि गुर्भाकोट नगरपालिकामा तीन युवकले मदिरा सेवन गराई यौन दुर्व्यवहार गरेका थिए । त्यसयता राउटे वस्तिमा सुरक्षा निकायले कडा निगरानी गरिरहेको छ ।

मुख्यमन्त्रीसँगको भेटमा युवतीहरुले प्रदेश सरकारले दिने भनेको मासिक दुई हजार भत्ता नपाएको भन्दै गुनासो गरेका थिए ।

‘हामीलाई प्रदेश सरकारले दिने भनेको मासिक दुई हजार भत्ता अहिलेसम्म मिलेको छैन । चाँडो मिलाइदिनुपर्‍यो,’ उनीहरुको भनाई उद्वृत गर्दै मुख्यमन्त्री शाहीका स्वकीय सचिव कृष्णप्रसाद आचार्यले भने । उक्त भेटमा दुर्व्यवहारको घटनाका विषयमा भने कुरा नभएको उनले बताए ।

‘त्यहाँ धेरै व्यक्ति भएकाले त्यो घटनाबारेमा कुरा भएन । बरु आफूहरुको पाल चुहिन लागेको र खाद्यान्न सकिएको गुनासो युवतीले गरेका थिए,’ उनले भने ।

मुख्यमन्त्री शाहीले राउटेहरु बस्ने सम्भावित स्थानमा पालभन्दा पनि प्रिफ्याव भवन राख्ने योजना बनाएको बताएका थिए । त्यसका अलावा राउटे नीति बनाउन, खाद्यान्न र अन्य आवश्यक व्यवस्था मिलाउन प्रमुख सचिव, सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीलगायतलाई उनले निर्देशन दिए ।

वीरेन्द्रनगरमा स्वास्थ्य परिक्षण

पिडित युवतीहरुको आज दिउँसो स्वास्थ्य जाँच भएको छ । राउटे अभियन्ता नगेन्द्र उपाध्यायका अनुसार वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँमा उनीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । परिक्षणको रिपोर्ट आइसकेको छैन ।

पिडकहरु तीनजना प्रहरी नियन्त्रणमा भए पनि थप प्रमाणका लागि युवतीहरुको स्वास्थ्य जाँच गराइएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर