विश्वकप छनोटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै – Nepal Press

विश्वकप छनोटमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

काठमाडौं । विश्वकप तथा एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले एसियाली पावरहाउस अस्ट्रेलियाको सामना गर्दैछ ।

पाँचपल्ट विश्वकप खेलिरहेको अस्ट्रेलियाका लागि आजको खेल जितेसँगै समूहको शीर्ष स्थानमा रहेर विश्वकप छनोटको तेस्रो चरणमा स्थान सुरक्षित हुनेछ ।

फिफा वरियतामा ४१ नम्बरमा रहेको अस्ट्रेलिया नै नेपालले अहिलेसम्म सामना गरेको बरियताका आधारमा सबैभन्दा ठूलो टोली हो । यसअघि २०१९ को अक्टोबर १० मा खेलिएको पहिलो लेगमा नेपाल ५–० ले पराजित रहेको थियो ।

कुवेतको जावेर अल हमाद अनतर्राष्ट्रिय रंगशालामा यो खेल नेपाली समयअनुसार राती पौने १० बजेदेखि सुरु हुनेछ ।

दुई सातादेखि मध्यपूर्वमा रहेको नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गत नै चाइनिज ताइपेईसँग र जोर्डनसँग खेलिसकेको छ । सबैकुरा सामान्य भइदिएको भए यी तीनै खेल नेपालले आफ्नै मैदानमा खेल्न पाउने थियो ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले आफ्नो खेल्ने शैली परिवर्तन गरेको र यसले समर्थकलाई खुसी दिएको बताएका थिए । ‘म अस्ट्रेलियासँग नेपाल टिमको अर्को एउटा सकारात्मक प्रदर्शनको आशा गर्छु । हाम्रो खेल्ने शैली सुधारिएको छ र यसले हाम्रा समर्थकलाई खुसी दिएको छ,’ उनले भने।

कुवेतका प्रो लाइसेन्सधारी प्रशिक्षक अल्मुताइरीले आफ्नो टिममा रहेका डेब्यू गर्न बाँकी युवा खेलाडीलाई अस्ट्रेलियासँगको खेलमा अवसर दिने संकेतसमेत गरेका छन् । ‘मलाई थाहा छ अस्ट्रेलियासँगको खेल कठिन हुनेछ तर उनीहरुले खेल्न पाउनु पनि त्यत्तिकै महत्वपूर्ण रहनेछ,’ अल्मुताइरीले भने । नेपाली टोलीमा परेर कुवेत उडेका गोलरक्षकबाहेक सुरज ज्यू ठकुरी, आयुश घलान र कमल थापाले डेब्यू गर्न बाँकी छ ।

अस्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टोली मिहिनेती भएको र उनीहरुसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिए । ‘उनीहरु फरक शैलीमा खेल्छन् । उनीहरुका प्रशिक्षकले राम्रो काम गरिरहेका छन् । हामी नेपाली टिमको सम्मान गर्छौं, उनीहरु मिहिनेती छन्,’ आर्नोल्डले पत्रकार सम्मेलनमा भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर