४७ फिल्म हेरेपछिको निष्कर्ष : नेपाली फिल्ममा महिला चित्रण रुढीवादी र नकारात्मक – Nepal Press

४७ फिल्म हेरेपछिको निष्कर्ष : नेपाली फिल्ममा महिला चित्रण रुढीवादी र नकारात्मक

काठमाण्डौँ । ‘नेपाली चलचित्रमा महिला र किशोरीहरुको प्रतिनिधित्व’ शीर्षकमा हालै गरिएको एक अध्ययनले चलचित्रमा देखाइने महिलाको रुढिवादी भूमिकाले महिला र किशोरीमा नकारात्मक असर पार्ने गरेको निष्कर्ष निकालेको छ ।

नेपाली फिल्ममा महिला वा किशोरीलाई बिरलै नेतृत्वदायी भूमिकामा प्रस्तुत गरिएको र प्रस्तुत भए पनि महिला पात्रलाई पुरुषको उपभोग वा वस्तु स्वरुपमा सीमित गरेको तथ्य अनुसन्धानले देखाएको छ ।

अध्ययनका अनुसार मुलतः महिला वा किशोरीहरू नेतृत्वको भूमिकामा देखाइए पनि महिलाहरू पुरुषको दाँजोमा फितलो पात्रमा चित्रित गरिने तथा पुरुषको यौन चाहनाको रुपमा मात्र प्रस्तुत भएको पाइएको छ ।

यस अनुसन्धान प्लान इन्टरनेशनल नेपालको गल्र्स गेट इक्वेल अभियान अन्तर्गत भएको थियो । डकस्कुलले गरेको अनुसन्धानमा ४७ वटा फिल्म, टेलिभिजन, अनलाइन सामाग्रीमा भएको विषयवस्तु र विज्ञापन–चलचित्रको सामग्रीमा केन्द्रित रहेर विश्लेषण प्रस्तुत गरिएको छ ।

विभिन्न चलचित्रकर्मी, फिल्म निर्माता र कलाकारसँगको अन्तर्वार्ता र छलफलबाट निष्कर्ष प्रस्तुत गरेका छन् । अध्ययनले फिल्मका दर्शकसँग पनि समूह छलफल आयोजना गरेको थियो । प्रदेश नं १ सुनसरी, बागमती प्रदेशको सिन्धुली र काठमाडौं, लुम्बिनी प्रदेशको बाँके र कर्णाली प्रदेशको जुम्लाका किशोरीहरुसँंग फिल्ममा महिला प्रतिनिधित्वसम्बन्धी ३ चरणको छलफल पनि गरिएको थियो ।

‘चलचित्रले हामी सबैमा ठूलो प्रभाव पार्दछ, यसले बालबालिकाको कलिलो मस्तिष्कहरुमा त झन् प्रत्यक्ष र अप्रत्यक्ष ढङ्गले प्रभाव पार्दछ । चलचित्रले हामीलाई पूर्वाग्रही बनाउने तथा सोच र धारणालाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले हाम्रो समाजमा व्याप्त किशोरी र महिलाको जीवनलाई सीधै प्रभाव पार्ने लैङ्गिक आधारका रूढीवादी सोचलाई चुनौती दिन सक्ने युवाहरुले यस खालको अनुसन्धानको नेतृत्व लिएकोमा हामीलाई खुसी लागेको छ’ प्लान इन्टरनेशनल नेपालका इन्फ्लूयन्स, क्याम्पेन तथा कम्युनिकेसन डाइरेक्टर प्रसेनजित खातीले भने ।

अनुसन्धान पत्रका सह–लेखक अभिमन्यु दीक्षित भन्छन्, ‘नेपाली चलचित्रमा महिलाहरू सदैव दोस्रो दर्जाको रुपमा मात्र देखिन्छन् । महिला पात्रलाई कि त घरायसी कामकाज गरेको मात्र देखाइन्छ कि त यौन चाहना परिपूर्ती गर्ने पात्रको रूपमा देखाइन्छ । यस्तो प्रतिनिधित्वका बारेमा नेपालमा दशक लामो छलफल भएता पनि एकदमै थोरै परिवर्तन आएको देखिएकोले हामीले यो बहसलाई फेरि अघि सारेका छौं ।”

अध्ययनका अनुसार फिल्ममा देखाइएका महिलाहरु प्रायः प्रियसी/श्रीमती, आमा, सुसारे, वा रखौटीको रुपमा मात्र चित्रित छन् । त्यस्तै, महिलाहरू आफ्नो निर्णय लिन पुरुष पात्रमा नै निर्भर भएको तथा महिला पात्रहरुको निर्णयमाथि प्रश्न उठाउने वा पुरुष पात्रको निर्णय जति सम्मान नदिइएको समेत अध्ययनले दर्शाएको छ ।

अध्ययनले १०२ वटा महिला पात्रको विश्लेषणमा ५ जना पात्रको मात्र आफ्नो लक्ष्य र उद्देश्य भेटाएको छ भने चलचित्रमा देखाइएको महिला पात्र सँधै प्रेमकथाको सानो अंश रुपमा मात्र प्रस्तुत गरिएका छन् । साथै, प्रायःजसो चलचित्रले महिला माथि हुने हिंसालाई सामान्यकरण गरेको पाइएको छ । त्यस्तै ३४५ पात्रहरुको अध्ययनमा ८ जना मात्रै यौनिक अल्पंसंख्यक समुदायको सदस्य संलग्न भएको अध्ययनले देखाएको छ, तीमध्ये अधिकांश पात्रहरू हास्यव्यङ्ग्यको लागि मात्र राखिएको पाइएको छ ।

यो अनुसन्धान गौँथली इन्टरटेन्मेन्टद्वारा आयोजित चार–दिने भर्चुअल कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको हो । अनुसन्धानको टिप्पणी गर्ने क्रममा, चलचित्रकर्मी र समीक्षक मनोज पण्डितले भने, ‘नेपालको अधिकांश चलचित्रले महिलाको आँसु बेच्ने गर्दछ, हामीले कथामा दुःख बेच्छौ किनकि त्यसले राम्रो व्यवसाय गर्छ ।” पण्डितले फिल्ममा मात्र सीमित नभएर ठूलो सामाजिक परिवर्तनमा जोड दिनु पर्ने आवश्यकता औंल्याए ।

चलचित्र विकास बोर्डका अधिकृत चिरन्जीवी गुरागाइले नेपाली चलचित्रमा महिलाको बिषयमा थुप्रै काम भएपनि प्रभावकारी रुपमा अघि बढनुपर्ने बताए । सो क्रममा उनले चलचित्र विकास बोर्डको तर्फबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र फिल्म फेस्टिभलमा छानिएका चलचित्र निर्माताहरूलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *