खानीजन्य वस्तुको निर्यात गर्ने निर्णय फिर्ता लिन प्रदेश २ सरकारको माग – Nepal Press

खानीजन्य वस्तुको निर्यात गर्ने निर्णय फिर्ता लिन प्रदेश २ सरकारको माग

जनकपुरधाम । संघीय सरकारको बजेटमार्फत व्यापार घाटा न्यूनीकरण गर्न खानीजन्य ढुङ्गा, गिटी र बालुवा निर्यात गर्ने उल्लेखप्रति प्रदेश २ सरकारले विरोध जनाएको छ ।

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले बालुवा गिट्टी विदेश पनि निकासी गर्ने निर्णय आत्मघाती भएको टिप्पणी गरेका छन् । उनले संघीय सरकारले तत्कालै निर्णय फिर्ता लिनुपर्ने बताए ।

‘चुरिया मधेसको जीवन हो’, उनले नेपाल प्रेससँग भने, ‘मधेसलाई बर्बाद पार्न सरकारले बालुवा, गिट्टी निकासी गर्ने निर्णय लिएको छ ।’ गिट्टी बालुवा निकासी गर्दा चुरे विनास र मधेस मरुभुमि हुने उनले औल्याए ।

‘अहिले नै उत्तरी क्षेत्रमा पानीको हाहाकार हुन्छ’, उनले प्रश्न गरे, ‘चुरे विनास भयो भने के हुन्छ ?’ उनले चुरे विनासले नेपालकै अर्थतन्त्र धरामा पर्ने दावी पनि गरे ।

संघीय सरकारले निर्णय फिर्ता नलिए प्रदेश सरकार बालुवा गिट्टी निकासीमा रोक लगाउने उनले चेतावनी समेत दिएका छन् । सरकार दमनको प्रयास गरे कुनै पनि हदसम्मको आन्दोलन गर्न तयार हने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर