रानीमहललाई होटल बनाउन लागेकोप्रति संस्कृतिविद्को आपत्ति – Nepal Press

रानीमहललाई होटल बनाउन लागेकोप्रति संस्कृतिविद्को आपत्ति

रुपन्देही । पाल्पाको ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहललाई नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउने धारणा सार्वजनिक गरेपछि त्यसको विरोध सुरु भएको छ । केही दिनयता सामाजिक सञ्जालमा बोर्डको अवधारणाप्रति धेरैले आक्रोश व्यक्त गरेका छन् ।

ऐतिहासिक, पुरातात्विक, धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको रानीमहलमा हेरिटेज होटल बनाउने चर्चा सुनेपछि जिल्लाका सरोकारवालाले यो निर्णय अमान्य हुने धारणा सार्वजनिक गरेका हुन् ।

संस्कृतिविद्हरु यसको ऐतिहासिक महत्वलाई बचाइराख्न होटल आवश्यक नहुने तर्क गरिरहेका छन् भने जिल्लास्तरमा रहेका विभिन्न सरोकारवाला निकाय र सर्वसाधारणले पनि बोर्डको यस्तो योजनाप्रति आपत्ति जनाउँदै कुनैपनि हालतमा रानीमहलमा होटल राख्न नहुने अभिव्यक्ति विभिन्न माध्यमबाट दिँदै आएका छन् ।

जिल्लामा क्रियाशील सरोकारवालाहरुले रानीमहललाई सही ढंगले प्रयोगमा ल्याउन नसक्दा खण्डहर जस्तै बनेपनि यसमा होटल संचालन गर्न नदिने बताएपछि यो विषय झन् विवादित बनेको छ । यसलाई पर्यटकको सही गन्तव्य बनाउन स्थानीय तहलाई दबाव दिनुपर्ने तर यसको ऐतिहासिक पक्षलाई जोगाउनुपर्ने स्थानीयको माग रहेको छ ।

उनीहरुले रानीमहलमा होटल संचालन गर्ने विषयको पूर्ण विरोध गरेका छन् । सामाजिक सञ्जालमा यसको समर्थनमा कोही छैनन् । भएका पनि निजी व्यवस्थापन दिएपनि होटल बनाउन नहुने धारणा राख्दै आएका छन् ।

केही दिनअघि नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिमा रानीमहललाई हेरिटेज होटल बनाउन सकिने बताएपछि विवादको यो विषय बाहिर आएको हो । बोर्डको तर्फबाट होटल संचालनका लागि सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाबाट विरोध भइरहेको छ । सामाजिक सञ्जालमा यसको पूर्णरुपमा विरोध भएको छ ।

इतिहासविद् निर्मल श्रेष्ठले रानीमहलको पहिचान नभइकन प्रस्ताव गर्ने योजनाले कुनै अर्थ नलाग्ने प्रतिक्रिया दिएका छन् । सम्पदाको महत्व र ऐतिहासिकतालाई आधार बनाएर मात्र रानीमहलको उपयोग, संरक्षण र विकासको योजना बनाउनुपर्ने र रानीमहलमा म्युजियम बनाउन सकिने तर होटल बनाउन नसकिने इतिहासविदहरुको तर्कलाई पनि बोर्डले स्वीकार गरेर अगाडि बढ्नुपर्दछ ।

इतिहाविद्मात्र होइन स्वयं होटल व्यवसायी संघले पनि रानीमहलमै होटल खोल्ने विषयलाई उचित मानेको छैन । संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पर्यटकीय गन्तव्य रानीमहललाई केन्द्र बनाएर पाल्पामा होटल खोल्न सकिने तर रानीमहलमै होटल सञ्चालन गर्न नहुने आफ्नो मत रहेको बताएकाले पनि कसको डिजाइनमा यो काम अथववा विषय अगाडि आएको हो भन्ने अन्यौल भएको छ ।

पाल्पाको तानसेन नगरपालिकामा रहेको यो रानीमहल क्षेत्र जिल्ला सदरमुकाम तानसेनबाट १२ किलोमिटर दुरीमा रहेको छ । रानीमहल पश्चिम नेपालका कमाण्डर खड्गशमशेर राणाले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा वि.सं.१९५४ मा सो महल बनाउन लगाएका हुन् । पछि कमाण्डरको जिम्मेदारीबाट हटाइएपछि उनी भारत पलायन भएका थिए । बेलायती शैलीमा निर्माण भएको यो महल त्यसयता महल खाली छ ।

मौलिकता जोगाउँदै पर्यटन प्रवद्र्धन गर्ने बोर्डको योजना

रानीमहलको उपयोग, संरक्षण र पर्यटन बिस्तारका लागि पर्यटन बोर्डले हेरिटेज होटल, म्युजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने धारणा अघि सारेको हो ।

रानीमहललाई खण्डहर बनेर जान दिनुभन्दा व्यावसायिक रुपले उपयोग गर्न सके संरक्षण र विकासका लागि केही राजश्व उठ्छ भन्ने पर्यटन बोर्डको बुझाई रहेको छ । रानीमहललाई हेरिटेज होटेलका रुपमा विकास गरी भारतमा प्रचार गर्ने हो भने खर्चालु पर्यटक भित्राउन सकिने बोर्डको अवधारणामा उल्लेख छ । बोर्डले आफ्नो अवधारणासहितको प्रस्ताव स्थानीय सरकारदेखि व्यवसायीसम्म प्रस्तुत गरिसकेको छ ।

बोर्डको अवधारणा अनुसार रानीमहलमा हेरिटेज होटेल रहने छ भने त्यसअगाडि र आसपास रहेको कालीगण्डकी नदीमा भने पानीमा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने छ । जहाँ ¥याफ्टिङदेखि स्वीमिङसम्मका गतिविधि हुनेछन् । फराकिलो नदी किनारलाई विकास गरी व्यवस्थित गरिनेछ । रानीमहलमा पर्यटक आकर्षित गर्नसक्दा यसले पाल्पाका अन्य आकर्षक गन्तव्यलाई समेत पर्यटकीय उत्पादनसँग जोड्न सकिने बोर्डको अवधारणा छ । बोर्डका अनुसार हनिमुन टूरमा रानीमहल जाने पर्यटकले यस आसपासमा रहेका भैरव मन्दिर, तानसेन बजारसम्म घुमफिर गर्न सक्नेछन् ।

बोर्डले पहिलो चरणमा हेरिटेज होटेल, वाटर एक्टिभिटी र नदी किनारमा संरचना बनाउने ३० करोड रुपैयाँ लगानीको प्रस्तावसमेत गरेको छ । यस्तो लगानी ३ वर्षको अवधिमा गर्न सकिने र यो क्षेत्रलाई एक आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने बोर्डको अवधारणा छ । रानीमहलको अगाडि कालीनदी किनारामा पर्यटकीय संरचना बनाउने र पानीजन्ज गतिविधि संचालन गर्ने सम्बन्धमा भने विस्तृत परियोजना प्रतिवेदन बनाउने काम नै अगाडि बढेको बोर्डले जनाएको छ । रानीमहल तत्कालीन जनरल खड्गशमशेरले निर्माण गरेका हुन् ।

स्थानीयको पनि आपत्ति

पाल्पाको तानसेन नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले रानीमहलको मौलिकता हराउनेगरी होटल संचालन गर्न नहुने पक्षमा रहेको बताए । रानीमहलको दरबार संरचनामा नै होटल बनाउने पक्षमा आफूहरु नभएको बताउँदै माथिबाटै निर्णय भएको मिडियाबाट सुनेपनि परिपत्र आइनसकेको उनले बताए ।

पुरातत्व विभागले रानीमहल दरबारको संरक्षण, सम्वद्र्धन तथा जगेर्ना गर्न १० वर्षका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरिसकेकाले यसको संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरेर अघि बढेको घिमिरेले नेपाल प्रसेलाई बताए ।

उनका अनुसार रानीमहलको पर्यटकीय आकर्षणका लागि विभिन्न योजना बनाउने र परिसरसँगको जोडिएको २ सय रोपनी जग्गामा रानीमहललाई असर नपर्ने गरी न्यू क्लासिकल शैलीका होटलहरु बनाउन सकिने प्रस्ताव गरिएको छ । नगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत जाने भनेर निर्णय गरिसकेको र प्रस्ताव आह्वान भएर प्राइम एक्सेस प्रालिसँग सम्झौता अन्तिम चरणमा पुगेको छ ।

प्रदेश पर्यटन मन्त्रालयको पनि असहमति

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले रानीमहलको ऐतिहासिक संरचनालाई बिगार्नेगरी कुनै संरचना बनाउन नहुने धारणा सार्वजनिक गरेको छ ।

मन्त्रालयका प्रवक्ता दीपक ज्ञवालीले अहिले यसको व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारलाई गएको बताउँदै भने– ’त्यहाँको संरचना संरक्षण गर्न विभिन्न स्रोत प्रयोग गर्न सकिन्छ तर मौलिकता हराउनेगरी यो क्षेत्रभित्र संरचना निर्माण गर्न पाइदैन, पर्यटन विकासका लागि यसलाई आधार मानेर बाहिर अन्य संरचना गरेर अगाडि बढ्न सकिन्छ ।’ उनले प्रदेश सरकारले स्थानीय सरकारको समन्वयमा यसको संरक्षण तथा प्रवद्धर्नका लागि योजना बनाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *