नेपालगन्जमा नागरिक अभिनन्दनपछि पूर्वराजाको आह्वान- पुरानो गौरव फर्काउनतिर लागौं – Nepal Press

नेपालगन्जमा नागरिक अभिनन्दनपछि पूर्वराजाको आह्वान- पुरानो गौरव फर्काउनतिर लागौं

रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक व्यवस्था नेता केन्द्रित भएको बताउँदै नेपालको पुरानो गौरव फर्काउन जुट्नुपर्ने अवस्था आइलागेको बताएका छन् ।

बुधबार नेपालगञ्जमा आयोजित उनको अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै शाहले अहिलेको व्यवस्था र दलहरुको विरोध गर्दै राजा महेन्द्रको कालमा भएका विकास निर्माण तथा अन्य राजाको पालामा भएका विभिन्न विकास निर्माणका कामको चर्चा गरेर दलहरुलाई खबरदारी गरेका छन् ।

नीतिहरूमध्येको सर्वश्रेष्ठ नीति राजनीति भए पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी,जनमुखी र जनहितकारी हुन नसकिरहेको बताउँदै पूर्वराजा शाहले भने- हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो, तर बिडम्बना भन्नुपर्छ हाम्रो राजनीति तथा हाम्रो राज्यव्यवस्था नेताद्धारा नेताका निम्ति-दलद्वारा दलका निम्ति भइरहेको छ ।

उनले आफ्नो नारा जहिले पनि देश बनाउँ- देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ भन्ने रहेको पनि बताएका थिए ।

विक्रम सम्बतको दुई हजारको दशकदेखि चालीसको दशकसम्म नेपालमा पूर्वाधारको निर्माण, उद्योगहरूको स्थापना, औद्योगिक क्षेत्रको निर्माण र भविश्य सुधारका धेरै निर्माण संरचना तथा विधिप्रकृयाका कामहरू भएको बताउँदै उनले विगतमा भएका कामको बयान गरेका थिए ।

महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडमा शहरी विकास –शिक्षा तथा स्वास्थ्य केन्दको स्थापना, मूलुकी ऐन,भूमी सुधार, ग्रामिण उत्थान, नेपाल राष्ट्र बैक, राष्ट्रिय योजना आयोग, त्रिभूवन विश्वविद्यालय, महेन्द्र संस्कृत विश्वबिद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिस्थानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनीविकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषका साथै धेरै कार्यकलाप त्यस अवधिका उल्लेख्य उपलब्धि भएको पनि पूर्वराजा शाहले चर्चा गरेका छन् ।

शाहले राष्ट्रको पुरानो गौरव फर्काउन उठ्नका लागि सबैसँग आह्वान गरेका छन्। उनले नेपालीले अब आफ्नै पाखुराको बलमा अघि बढ्न कम्मर कस्नुपर्ने उल्लेख गर्दै यसका निम्ति सबै तहका नागरिकहरुले जुट्नुपर्ने पनि बताए ।

बाँके, बर्दिया, कैलाली, कञ्चनपुरको भूभाग परिवन्दले हामीबाट केही समय गुमेपनि कालान्तरमा त्यो हामीभित्रै समाहित भएको बताउँदै शाहले नेपालगञ्जजस्तो ऐतिहासिक, औद्योगिक र व्यापारिक महत्त्वको स्थानमा आएर बोल्न पाउँदा खुसी लागेको भन्दै स्थानीयको मन जित्ने प्रयास गरेका थिए ।

उनले चौसठ्ठीबर्ष अघि यही भूमीमा उभिएर राजा महेन्द्रले नेपालको तत्कालीन राज्यविधिका बारे–नेपालका तत्कालीन राजनीतिक दलहरूलाई केही सचेतनामूलक सम्बोधन भएको बताए । ‘लामो अन्तरालपछि फेरि पनि उभिएर म आज देशको दशाका विषयमा त्यही र त्यस्तै कुरा गर्न विवश छु । मलाई दुःख लाग्छ- यो लामोअवधिसम्म पनि हाम्रो अवस्था त्यही र त्यस्तै परिस्थितिमा छ ।

‘सबैसँग मित्रता, सबैसँग शान्ति, सहयोग, साझेदारीको विकास र संयुक्तराष्ट्रसंघको सदस्यता देखि लिएर असंलग्न आन्दोलनको सकृय भूमिकार शान्ति क्षेत्रको घोषणा सम्म पनि यसै अवधिमा भएको हो ।

तर यता आएर- ती पुर्वाधार- ती औद्योगिक आधार- ती सबै खाले चेतनालहरले निश्चितआकार लिन सकेको छैन,’ उनले भने। केही दिनअघि यहाँ आएका उनी एक महिना यही क्षेत्रमा बसेर लुम्बिनी कर्णली र सुदूरपश्चिमका विभिन्न जिल्लामा घुम्ने कार्यक्रम बनाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर