हिम पहिरोमा बेपत्ता पाँचजना अझै सम्पर्कविहीन, खोजी-उद्धारमा मौसम बाधक – Nepal Press

हिम पहिरोमा बेपत्ता पाँचजना अझै सम्पर्कविहीन, खोजी-उद्धारमा मौसम बाधक

कैलाली । दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरुस्थित बोलिनमा बेपत्ता पाँचजनालाई अझै फेला पार्न सकिएको छैन । यार्सागुम्बा टिप्न गएकाहरू हिम पहिरोमा परी बेपत्ता भएका थिए ।

१२ जना बेपत्ता भएकामध्ये ७ जना सम्पर्कमा आएको र बाँकी पाँचजनाको खोजी भइरहेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए ।

उनका अनुसार १२ जना सँगै रहेको ठाउँमा मंगलबार दिउँसो करिब २:४५ बजे हिम पहिरो आएको थियो । मौसममा सुधार नआउँदा अहिले खोजी कार्य रोकिएको छ ।

‘अहिले पनि हिमपात जारी छ । घटनास्थलमा प्रहरी पनि जान सक्ने अवस्था छैन । करिब ५ फिट हिउँ जमेको छ’, उनले भने, ‘मौसममा सुधार आएलगत्तै खोजी र उद्धारले तीव्रता पाउँछ ।’

बेपत्ताहरूमध्ये ३ जना महिला डोटीको बुडरका रहेका र एक पुरुष दार्चुलाकै दुँहु गाउँपालिका पोक्सीका भएको खुलेको छ । उनीहरूको पूर्ण परिचय भने खुल्न बाँकी छ ।

उद्धारका लागि सशस्त्र प्रहरीका डीएसपी ईश्वरी भट्ट नेतृत्वको टोली र नेपाल प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *