उपचार खर्च आफैं गर्ने राष्ट्रपतिको ‘चाहना’ सार्वजनिक खपतका लागि मात्रै ? – Nepal Press

उपचार खर्च आफैं गर्ने राष्ट्रपतिको ‘चाहना’ सार्वजनिक खपतका लागि मात्रै ?

यसअघि व्यक्त गरेका थिए, नेपालमै उपचार गर्ने चाहना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गरेको स्वास्थोपचारको खर्च ‘आफैंले गर्न चाहेको’ भन्दै आज उनको सचिवालयका तर्फबाट विज्ञप्ति जारी भएको छ । राज्यको ढुकुटीबाट अलिकति पैसा जोगिने भयो भनेर नागरिकहरु खुशी व्यक्त गरिरहेका छन् ।

देशका उच्चपदस्थहरु पेट दुख्दा पनि हेलिकोप्टर चार्टर गरेर विदेश उपचार गर्न जाने र त्यसको खर्च राज्यकोषबाट व्यहोनुपर्ने परिपाटीले जनता आजित भइरहेका बेला राष्ट्रपतिबाट यस्तो ‘चाहना’ व्यक्त हुनुले खुशीको सञ्चार गर्ने नै भयो । तर, विज्ञप्तिको भाषा हेर्दा यसमा कुनै प्रतिवद्धता झल्किँदैन । राष्ट्रपतिले उपचार खर्च आफैं व्यहोर्ने घोषणा गरेका छैनन् । उनले चाहेका मात्र हुन् । जसरी उनले उपचारका लागि भारत नजान ‘चाहेका’ थिए ।

सर्वप्रथम त यस्तो विषयमा प्रेस संयोजकबाट विज्ञप्ति जारी गर्नु त्यति स्वभाविक अभ्यास होइन । राष्ट्रपति कार्यालयको सचिवालयमा दुई खालको जनशक्ति हुन्छ । पहिलो सरकारी सेवाका विभिन्न दर्जाका कर्मचारीहरु र दोस्रो राष्ट्रपतिबाट विभिन्न पदमा राजनीतिक नियुक्ति पाएका आसेपासेहरु ।

सल्लाहकार वा विज्ञ भनेर आफ्ना निकटस्थहरुलाई स्वकीय सचिवालयमा भर्ति गर्ने गरिएको छ । विगतका जस्तै अहिलेका राष्ट्रपतिले पनि आफ्नो सचिवालयमा सल्लाहकारहरुको जम्बोरी निर्माण गरिसकेका छन्, जसमा कांग्रेसको वरिष्ठ नेता हुँदा उनलाई सहयोग गर्नेहरु छन् ।

पछाडि फर्केर हेर्ने हो भने राजतन्त्रकालमा राजसंस्थाका आधिकारिक धारणाहरु सार्वजनिक गर्नु परेमा संवाद सचिवालयका सचिवले विज्ञप्ति जारी गर्ने गर्थे । गणतन्त्रपछि राष्ट्रपतिको सचिवालय निजामति सेवाकै सचिवको नेतृत्वमा हुन्छ ।

डा. रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा शीतल निवासका आधिकारिक धारणा सार्वजनिक गर्नलाई पनि राष्ट्रपति कार्यालयका सचिवले विज्ञप्ति जारी गर्ने अभ्यास थियो । रामचन्द्र राष्ट्रपति भएपछि भने राजनीतिक नियुक्तिबाट आएका सल्लाहकारहरुले नै विज्ञप्ति जारी गर्न थालेका छन् ।

आज प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपतिज्यूले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

विज्ञप्तिको यो भाषा अमूर्त, अस्पष्ट र अधुरो छ । कसलाई अवगत गराइएको हो ? जनतालाई कि सरकारलाई ? पहिले त त्यो खुल्नुपर्यो । सरकारलाई हो भने विज्ञप्ति निकालेर होइन, आधिकारिक पत्राचार गरेर जानकारी गराउनुपर्थ्र्यो । त्यस्तो केही गरिएको छैन ।

यसअघि राष्ट्रपतिको स्वास्थोपचारकै सन्दर्भमा उनको स्वकीय सचिवालयको लेटरप्याडमा किरण पोखरेलले विज्ञप्ति जारी गरेका थिए । पोखरेलको पद के हो भन्ने पनि त्यसमा खुलाइएको थिएन ।

उनले नियुक्ति भने प्रेस सल्लाहकारको पाएका छन् । सो विज्ञप्तिमा ‘राष्ट्रपतिले नेपालमै उपचार गर्न चाहेको भए पनि चिकित्सकको टोली तथा राजनीतिक नेतृत्वको विशेष आग्रहमा भारत जान तयार हुनुभएको’ उल्लेख थियो ।

राष्ट्रपतिलाई लागेको रोग के हो र उनले ‘नचाहँदा नचाहँदै’ पनि किन ‘जबरजस्ती’ भारत लगियो भन्ने प्रश्नको उत्तर अहिलेसम्म मिलेको छैन । उपचार खर्च आफैंले व्यहोर्ने चाहना पनि त्यस्तै त्यस्तै देखिन्छ ।

राष्ट्रपति भारत जाँदा ठूलो खर्च भएको एयरलिफ्टमा हो । त्यसपछि भ्रमण भत्तामा हो । सञ्चारमाध्यममा आएअनुसार राष्ट्रपतिको कुरुवाले समेत डलरमा भत्ता पाउँछन् । देशसञ्चारले केही दिनअघि प्रकाशित गरेको समाचारमा राष्ट्रपतिलाई भारत लैजाँदा हवाई भाडामा मात्रै ६५ लाख ५० हजार लागेको उल्लेख छ । यो उपचार खर्च होइन, तर मुख्य खर्च हो ।

यस्तै, उपचारमा विदेश जाँदा राष्ट्रपतिले लैजाने परिवारका सदस्य, सहयोगी र चिकित्सकको टोलीले दैनिक भ्रमण भत्ता पाउँछन्, त्यो पनि डलरमा । पौडेलसँग श्रीमती मात्र नभएर छोरा र नातिसमेत गएको सञ्चारमाध्यमहरुमा आएका छन् । राष्ट्रपतिको उपचार सम्वन्धी नियमावलीअनुसार उनी स्वयम्ले दैनिक २५० डलर र परिवारका सदस्यले २२५ डलर भ्रमण भत्ता पाउँछन् ।

उच्च पदस्थलाई सरकारी खर्चमा विदेशमा उपचार गराउँदा यसको संयोजन सम्वन्धित देशमा रहेको नेपाली राजदूतावासले गर्ने गर्छ । उसले उपचारमा लागेको खर्चको विल भुक्तानीका लागि परराष्ट्र मन्त्रालयमा पठाउँछ । परराष्ट्रले अर्थमा पठाउँछ । र, अर्थले क्याबिनेटमा लगेर स्वीकृत गराउँछ । त्यसपछि अर्थले दूतावासलार्ई रकम निकासा गर्छ ।

अब यदि राष्ट्रपतिले आफैं उपचार खर्च व्यहोर्न चाहेका हुन् भने लागेको खर्च बराबरको रकम उनले सरकारलाई फिर्ता गर्नुपर्ने छ । हामीले अर्थ मन्त्रालयमा बुझ्दा राष्ट्रपतिको खर्चबारे कुनै प्रस्ताव नआएको बताइयो । मन्त्रालयका एक सहसचिवले परराष्ट्रबाट प्रक्रियागतरुपमा आइसकेपछि मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताए ।

राष्ट्रपति आफैंले उपचार गर्न खोजेको विषयमा राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यसँग बुझ्न खोज्दा उनले अनभिज्ञता दर्शाए । स्वकीय सचिवालयबाट जारी भएका विज्ञप्तिबारे आफूहरुलाई थाहा नहुने उनको भनाइ छ ।
‘राष्ट्रपतिज्यूबाट मलाई यस विषयमा कुनै निर्देशन भएको छैन,’ उनले भने ।

राष्ट्रपतिको उपचार भारतको एम्स भारतको सरकारी अस्पताल हो । छिमेकी देशका राष्ट्रप्रमुखलाई सो अस्पतालमा उपचार निशूल्क गरिएको हुन सक्ने स्रोत बताउँछ । यद्यपि, यस विषयमा आधिकारिक जानकारी लिन सकिएन ।

 

प्रतिक्रिया

One thought on “उपचार खर्च आफैं गर्ने राष्ट्रपतिको ‘चाहना’ सार्वजनिक खपतका लागि मात्रै ?

  1. काङ्रेश – गठबन्दनको चलाख चंखे र कपटपूर्ण मन, बोली र कर्म !! आज सम्म यिनि( २ कौडि का ) हरुले यस्तै भन्दै गर्दै ठगेर देश कङाल बनाए !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *