मुख्यमन्त्री नियुक्तिको पत्र जानकारी नगराई विश्वासको मत मागेकोमा एमालेको आपत्ति, सदन स्थगित – Nepal Press

मुख्यमन्त्री नियुक्तिको पत्र जानकारी नगराई विश्वासको मत मागेकोमा एमालेको आपत्ति, सदन स्थगित

रुपन्देही । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नियुक्तिको पत्र प्रदेश सभालाई जानकारी नै नदिई मुख्यमन्त्रीले विश्वासको मत मागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको छ ।

वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीले आज मङ्गलवार प्रदेश सभामा विश्वासको मत मागेपछि पार्टीको तर्फबाट आफ्नो धारणा राख्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले यस्तो कमजोरी औँल्याएपछि सभामुख तुलाराम घर्तीले आफ्नो ध्यानाकर्षण भएको जनाएका थिए ।

सचेतक चौधरीले भने, ‘प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेको पत्र सदनलाई जानकारी नै छैन, हामीले मिडियाबाट नियुक्त भएको थाहा पाएका हौँ, यस्तो गलत तरिकाले सदनलाई छल्न, कानुन विपरीत चल्न पाइँदैन, सुरुमै यस्तो गलत अभ्यास गरेपछि सरकारले कसरी अगाडि काम गर्न सक्छ ?’

नेता चौधरीले प्रदेश प्रमुखले कानुन विपरीत १६८ को २ बाट बनेको सरकारले विश्वासको मत नपाएपछि पुनः सोही धाराबाट नै सरकार बनाउने गलत अभ्यास थालेको बताउँदै यस्ता गलत अभ्यासको सधैँ विरोध गरिरहने जनाए ।

नेता चौधरीले एमालेले नीति, विचारका आधारमा नबनेको गठबन्धन सरकारलाई आफ्नो दलबाट विश्वासको मत नदिने प्रष्ट पार्दै अन्य सांसदहरूलाई पनि मत नदिन आग्रह गरे ।

पटक पटक सरकार फेर्ने, मुख्यमन्त्री र मन्त्रीहरू फेरिरहने अभ्यासले प्रदेशको समृद्धि हुन नसक्ने बताउँदै उनले अस्थिर सरकारका कारण प्रदेश र संघीयता विरुद्ध आवाज उठाउनेहरूलाई बल पुग्ने भन्दै नेता चौधरीले सुरुवातमै गम्भीर कमजोरी गरेको सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश प्रमुखको पत्र नआई विश्वासको मत मागेको विषयप्रति सभामुख तुलाराम घर्तीले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री नियुक्त भएर शपथग्रहण समारोह म्यासेजमार्फत सबै माननीयलाई जानकारी गराएको र प्रदेश प्रमुखबाट पत्र आएपछि सभालाई जानकारी दिने बताएका थिए । उनले सांसद चौधरीले गराएको सचेतनाप्रति धन्यवाद दिएका थिए ।

सभामुख घर्तीले एमालेको ध्यानाकर्षणलाई सुन्दै तत्कालका लागि सदन स्थगित गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर