विदेश अध्ययन गर्न जानेलाई ‘नो अब्जेक्सन लेटर’का आधारमा सटही सुविधा दिइने – Nepal Press

विदेश अध्ययन गर्न जानेलाई ‘नो अब्जेक्सन लेटर’का आधारमा सटही सुविधा दिइने

काठमाडौँ । वैदेशिक अध्ययन गर्न जानेलाई केन्द्रीय बैंकले सहज व्यवस्था गरिदिएको छ । केन्द्रीय बैंकले अब वैदेशिक अध्ययनको स्वीकृति सम्बन्धी विवरण (नो अब्जेक्सन लेटर) का आधारमा सटही सुविधा उपलब्ध गराउने भएको छ ।

एकीकृत परिपत्र २०७९ लाई संशोधन गर्दै नो अब्जेक्सन लेटरका आधारमा सटही सुविधा दिने व्यवस्था गरिएको हो ।

यसअघि यो व्यवस्था थिएन । परिपत्रमा भनिएको छ, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेका वैदेशिक अध्ययन स्वीकृत सम्बन्धी निर्देशिका २०७९ बमोजिम मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैङ्क तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध वैदेशिक अध्ययन सम्बन्धी विवरण यकिन गरी सहटी सुविधा उपलब्ध गराउनुपर्नेछ ।

वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९ अनुसार राष्ट्र बैंकको निर्देशनका आधारमा विदेशी मुद्राको सटही सुविधा सम्बन्धित विद्यार्थीले पेस गरेको अनुमति पत्रको विवरण, बैंकले अनलाइन मार्फत रुजू गरी सटही सुविधा सम्बन्धी कार्य गर्नु पर्नेछ ।

सम्बन्धित बैंकले विदेशी मुद्रा सटही सुविधा दिएपछि कुन कुन शीर्षकमा के कति रकमको सटही सुविधा उपलब्ध गराएको हो सोको विवरण तथा सटही सुविधा लिए पछि सो सुविधा अनुसारको विदेशी मुद्रा फिर्ता गरेको भए सोको विवरण उपदफा ९४० बमोजिमको पोर्टलमा प्रविष्टि गर्नु पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *