सरस्वतीनगर हत्याकान्ड- एक सातासम्म जडिबुटी पुलमा अल्मलिएको प्रहरी – Nepal Press

सरस्वतीनगर हत्याकान्ड- एक सातासम्म जडिबुटी पुलमा अल्मलिएको प्रहरी

काठमाडौं । कपनको सरस्वतीनगरमा वैशाख ७ गते अपरान्ह भएको हत्याकान्डमा प्रहरीले २४ घण्टाभित्रै संलग्न भएका व्यक्तिको तस्बिर फेला परेको थियो । घटनास्थल नजिकै रहेको सिसिटिभी फुटेजका आधारमा प्रहरीले घटना भएको भाँडा पसलभित्र एक व्यक्ति पसेको र निस्किएको देखेको थियो ।

पछाडि झोला बोकेका ती व्यक्तिले मास्क लगाएको सिसिटिभी फुटेजमा देखिन्थ्यो । २ बजेर ५६ मिनेटमा ती व्यक्ति पसलबाट निस्किएर पैदलै गोपिकृष्णहलसम्म पुगेका थिए । त्यहाँबाट सफा टेम्पोमा चाबहिलमा पुगेको पाइयो । चाबहिलबाट २२० सिसिको मोटरसाइकलमा उनी चढेको सिसिटिभी फुटेजमा देखिन्थ्यो ।

प्रहरीले ती मोटरसाइकल चालकलाई पक्राउ पनि ग¥यो। उनले जडिबुटीको पुलमा लगेर झारिदिएको बताएका थिए । ‘तर उनले ठ्याक्कै कहाँ झारेका थिए भनेर खुलाउन सकेनन्’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । त्यो समयमा ती मोटरसाइकलको चालकमा फोन पनि नआएकाले प्रहरीलाई अनुसन्धानमा गाह्रो भएको थियो ।

‘जडिबुटी पुलमा लगेर छोडिदिएको भन्ने त आयो तर त्यहाँबाट उनी कता लागेका थिए भन्ने कु्नै क्लु फेला पर्न सकेन’, अनुसन्धान अधिकारी भन्छन् । काठमाडौं प्रहरी परिसरको टोलीले अभियुक्त जडिबुटीसम्म पुगेको निश्कर्ष निकालिसकेको थियो। यता काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोबाइलतर्फको अनुसन्धान हेरिरहेको थियो ।

अभियुक्तको तस्बिर फेला परेपनि पहिचान नखुल्दा प्रहरी आजित भइरहेकै समयमा प्रहरी प्रधान कार्यालयले गत केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको संयोजकत्वमा समिती बनाएको थियो ।

त्यसअघि नै काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका अनुसन्धान कार्यालय, महानगरीय प्रहरी कार्यालयले बेग्लाबेग्लै अनुसन्धान समिति बनाएर काम गरिरहेका थिए । पछिल्लो समय महानगरीय प्रहरी कार्यालयको कडा निर्देशनपछि यी सबै युनिटले एकिकृतरुपमा काम गरिरहेको अवस्था थियो ।

स्रोतका अनुसार शुक्रबार बज्राचार्य संयोजकत्वको समितिले अनुसन्धानमा खटिएकाहरुबाट ब्रिफिङ लिएकी थिइन् । त्यसमा सीआईबी, काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयलाई काम बाँडफाँड गरिएको थियो । परिसरको टोलीलाई सिसिटिभी फुटेज, काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीलाई मोबाइलतर्फ अनुसन्धान र सीआईबीको टोलीलाई स्थलगतरुपमा खटिएर सोधपुछ गर्न भनिएको थियो ।

सोही दिन राति अनुसन्धान अधिकारीले महानगरीय प्रहरी कार्यालयमा रहेको सिसीटिभी हेर्दै जाँदा अभियुक्त जडिबुटी पुल पारी ओर्लिएको र त्यहाँबाट अर्को मोटरसाइकल चढेर टिकाथलीतर्फ लागेको थियो। ‘शुक्रबार अबेर, जडिबुटीबाट करिब ३ सय मिटरको दुरीमा रहेको बर्गर हाउस नजिकै गएर ती व्यक्ती ओर्लिएको देखियो ।

अपरान्ह ३ बजेर ४० मिनेटतिर ती व्यक्ती त्यस क्षेत्रमा देखिन्छन्, ‘अनुसन्धान अधिकारी भन्छन् । प्रहरीका अनुसार एक सय ५० सिसिको पल्सर मोटरसाइकलबाट उत्रिएपछि उनी पैदलै भित्री बाटो प्रवेश गरेका थिए । प्रहरीले उनी त्यही क्षेत्रमा बस्ने प्रारम्भिक अनुमान लगायो। शनिबार बिहान सीआईबी, काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले नजिकैका घरहरुमा गएर हेरेको थियो। ’भित्री बाटोबाट छिरेपछि मान्छे फेरी बाहिर नआएकाले त्यहीँ बसेको हुनुपर्छ भन्ने अनुमान गरेका थियौँ’, अनुसन्धान अधिकारी भन्छन् ।

अनुसन्धानकै क्रममा प्रहरी एक घरको भाडामा रहेको कोठामा प्रवेश गरेको थियो। त्यहाँ जुत्ता र झोला थिए। सिसिटिभी फुटेजमा देखिएका व्यक्तीको हुलिया राम्रोसँग हेरेका प्रहरीले जुत्ता र झोला तीनै व्यक्तीको रहेको आशंका गर‍े। त्यसपछि त्यहाँ बस्दै आएका युवालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्यो ।

उनीहरुले जुत्ता र झोलासँग सम्बन्धित व्यक्ती झापाको धुलाबारीस्थित घर पुगेको बताएका थिए। मोबाइल नम्बर पाएपछि प्रहरीले लोकेसन ट्र्याक गर्दे उनी झापामै रहेको निश्कर्ष निकालेको थियो। शनिबार साँझ ती व्यक्ती ३६ वर्षीय विनोद विश्वकर्मा पक्राउ पर्न सफल भए ।

प्रहरीले घटना हुँदा विनोदले लगाएको टिसर्ट रगत लागेको अवस्थामा टिकाथलीस्थित कोठाबाट बरामद गरेको छ। प्रहरीका अनुसार घटनापछि उनी पसलभित्र सर्ट फुकालेर झोलामा राखेर निस्किएका थिए । ‘घटनापछि उनी एकदमै हतास देखिन्छन् । बारम्बार एउटै बाटो हिँडेको, छोटो दुरीमा पनि सवारी साधन प्रयोग गरेको देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् ।

प्रहरीको प्रारम्भिक सोधपुछमा विनोदले निरा आचार्यको हत्या स्विकारेका छन्। आफुलाई पैसा चाहिएकाले पसलमा एक्लै भएको मौका पारेर सिक्री लुटेको र दुर्घटनाबस हत्या गरेको बताएका छन् । उनी टिकाथलीस्थित साथीको कोठामा दुई सातादेखि बस्दै आएका थिए ।

उनी बाउन्सरका रुपमा कार्यरत रहेको बुझिएको छ। सीआईबी प्रमुख बज्राचार्यले घटनामा लुटपाटभन्दा बाहेक अन्य कुनै कारण अहिलेसम्म नभेटिएको बताइन् । ‘हामीले पक्राउ गरेर ल्याएका छौँ । अब थप अनुसन्धान हु्न्छ’, अनुसन्धान समिति संयोजक बज्राचार्यले भनिन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *