लक्ष्य नभेट्टाएको सरकारले कुन क्षेत्रबाट कति उठायो राजस्व ? – Nepal Press

लक्ष्य नभेट्टाएको सरकारले कुन क्षेत्रबाट कति उठायो राजस्व ?

काठमाडौं । सरकारको आन्दानीका विषयमा चौतर्फी चर्चा भइरहेको छ । सरकारको आम्दानीमा गिरावट आएको भन्दै अहिले सरकारले अनिवार्य दायित्वको रकम (पेन्सन, तलब, भत्ता, ऋणको साँवा तथा ब्याज) समेत भुक्तानी गर्न नसकेको हो भन्दै प्रश्न उठिरहेको छ । उसो त सरकारले लिएको लक्ष्यभन्दा करिब ५० प्रतिशतले आम्दानी घटेको देखिन्छ ।

चालू आर्थिक वर्षको नौ महिना सकिएको छ । सरकारले नौ महिनामा गर्ने आम्दानी र खर्चको अवस्थाले आगामी तीन महिनापछिको चित्र लगभग तय गर्ने विज्ञहरुले बताएका छन् ।

अहिलेसम्मको अवस्थाले सरकारको अवस्था सन्तोषजनक देखाएको छैन । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सरकारले नौ महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।

सरकारको आम्दानीको मुख्य स्रोत राजस्व हो । जसको अवस्था सन्तोषजनक छैन । अनुदान र ऋण सहायताको अवस्था पनि सोचेअनुसार नभएको अर्थले स्वीकारेको छ । सरकारले चालू आव सबै क्षेत्रमा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।

नौ महिनामा कर राजस्व ६ खर्ब १६ अर्ब ११ करोड ८२ लाख, गैरकर राजस्व ६७ अर्ब ६८ करोड ७४ लाख र अन्य प्राप्तिबाट ३५ अर्ब ८६ करोड ६४ लाख गरी ७ खर्ब १९ अर्ब ६१ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा ९ खर्ब ९७ अर्ब ९६ करोड रुपैयाँ उठाउने लक्ष्य थियो । यही लक्ष्यको तुलनामा ७२.२० प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।

कुन क्षेत्रबाट कति उठ्यो ?

सडक मर्मत तथा सुधार दस्तुरबाट चैतसम्म १० अर्ब ७८ करोड ८१ लाख रुपैयाँ लक्ष्य लिएकोमा ५ अर्ब १५ करोड ८२ लाख रुपैयाँ अर्थात ५० प्रतिशतमात्र संकलन भएको छ ।

सडक निर्माण तथा सम्भार दस्तुरबाट ७ अर्ब ६२ करोड ४१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको थियो । जसमा २ अर्ब १४ करोड २८ लाख रुपैयाँमात्र उठेको मन्त्रालयले बताएको छ ।

यता मूल्य अभिवृद्धि कर २ खर्ब २ अर्ब १६ करोड ८ लाख रुपैयाँ उठाएको छ । सरकारले चैतसम्म २ खर्ब ८० अर्ब २९ करोड ९ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । यसअन्र्तगत उत्पादन तथा बिक्री सेवाबाट ७८ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ भ्याट उठाएको छ । यसबाट ९५ अर्ब २४ करोड ८६ लाख रुपैयाँ उठाउने लक्ष्य लिइएको थियो । पैठारीबाट १ खर्ब ८५ अर्ब रुपैयाँ उठाउने लक्ष्य लिइएकोमा १ खर्ब २२ अर्ब भ्याट उठेको छ ।

वस्तु तथा सेवा उत्पादनको चरणमा मूल्य अभिवृद्धि हुँदा लगाइने कर नै मूल्य अभिवृद्धि कर हो । मूल्य अभिवृद्धि कर १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था छ ।

यस्तै अन्तःशुल्कबाट १ खर्ब ३ अर्ब ७ करोड १३ लाख रुपैयाँ उठेको छ । चैतसम्म १ खर्ब ५२ अर्ब ६९ करोड ८१ लाख रुपैयाँ उठाउने लक्ष्य लिइएको थियो । जसमा आन्तरिक उत्पादनबाट ७९ अर्ब ६६ करोड र पैठारीबाट २३ अर्ब ४० करोड रुपैयाँ अन्तःशुल्क उठाएको छ । अंगे्रजीमा एक्ससाइज ड्युटी भनिने अन्तःशुल्क कर भनेको अप्रत्यक्ष कर हो । यस्तो कर आमजनताको स्वास्थ्यमा हानी पु¥याउने, वातावरणलाई प्रतिकूल असर पार्ने र विलासिताका वस्तुमा लाग्दछ ।

शिक्षा शुल्कबाट १ अर्ब २६ करोड ८१ करोड रुपैयाँ उठाएको छ । सरकारले यसबाट १ अर्ब १४ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको थियो ।

२ खर्ब ४६ अर्ब ३७ करोड ५७ लाख रुपैयाँ आयकर उठाउने लक्ष्य लिएको सरकारले १ खर्ब ७९ अर्ब ६५ लाख रुपैयाँ उठाएको छ । ब्याजदरबाट मात्र २५ अर्ब २१ करोड २६ लाख रुपैयाँ उठेको छ ।

योसँगै कर राजस्वबाट ६ खर्ब १६ अर्ब ११ करोड रुपैयाँ उठेको छ । यसको लक्ष्य ९ खर्ब २७ अर्ब ९० करोड ३६ लाख रुपैयाँ उठाउने थियो । गैरकरबाट ६७ अर्ब ६८ करोड रुपैयाँ उठेको छ । यसबाट सरकारले ७० अर्ब ५ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको थियो । अन्य प्राप्तिबाट ३५ अर्ब ८६ करोड रुपैयाँ उठेको छ ।

सवा एक खर्ब ऋण सहायतामा हस्ताक्षर

हालसम्म सरकारले १ खर्ब १४ अर्ब ऋण सहायताका लागि विभिन्न दातृ निकायसँग सम्झौता गरेको छ । यस्तै ३७ अर्ब ५२ करोड १० लाख रुपैयाँ अनुदान सहायताको प्रतिबद्धता आएको अर्थले जनाएको छ । माघदेखि चैतसम्ममा मात्र १४ अर्ब अनुदान सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *