लुटपाटको उद्देश्यले निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष, लुटिएको सिक्री भेटियो – Nepal Press

लुटपाटको उद्देश्यले निराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष, लुटिएको सिक्री भेटियो

काठमाडौं। काठमाडौंको सरस्वतीनगरमा १० दिनअघि भएको हत्या लुटपाटको उद्देश्यले ‘दुर्घटनावश’ भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

भाँडा पसल गर्दै आएकी निरा आचार्य सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। उनको उपचारका क्रममा त्यही दिन मृत्यु भएको थियो।
आचार्यको हत्या आरोपमा प्रहरीले झापाबाट विनोद विश्वकर्माले पक्राउ गरेको छ। उनलाई काठमाडौं ल्याइँदै छ।

प्रहरीका अनुसार निराको हत्यापछि लुटिएको सुनको सिक्री पनि भेटिएको छ। बानेश्वरको एक पसलबाट प्रहरीले उक्त सिक्री भेटेको छ।

‘अहिलेसम्म लुटपाट गर्ने उद्देश्यले दुर्घटनावश हत्या भएको देखिन्छ। लुटिएको सुनपनि भेटिएकाले लुटपाट नै हो की भन्ने छ। अब विस्तृत अनुसन्धान हुन्छ’, घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

प्रहरीका अनुसार सोधपुछमा विनोदले हत्या स्वीकार गरेका छन्। आफू डिप्रेसनको बिरामी भएको र बाटामा हिँड्दै गर्दा पसलमा एक्लै देखेकाले लुट्न खोज्दा घटना भएको उनले बताएका छन्।

‘त्यहाँ झगडा पनि भएको थियो। त्यसपछि म चक्कु प्रहार गरेर निस्किएको हुँ’, विनोदको भनाई उद्धृत गर्दै अनुसन्धान अधिकृत भन्छन्। प्रहरीले घटनामा प्रयोग भएको चक्कु भने बरामद गर्न सकेको छैन। प्रहरीका अनुसार विनोदले उक्त चक्कु टीकाथलीस्थित खोलामा फ्याँकेको बयान दिएका छन्। विनोद टीकाथलीस्थित साथीहरूको कोठामा दुई सातादेखि बस्दै आएका थिए।

१२ मिनेटभित्र भएको घटना

नजिकै टाँसिएको पसलकाले समेत थाहा नपाएको यस घटनाबाट प्रहरी चकित थियो। निरा माता तीर्थ औँसीको दिन अपराह्न साढे ३ बजे आफ्नै पसलभित्र सख्त घाइते अवस्थामा भेटिएकी थिइन्।

उनको शरीरका विभिन्न भागमा अन्धाधुन्ध छुरा प्रहार भएको थियो। प्रहरीको प्राविधिक अनुसन्धानमा दिउँसो २ बजेर ४४ मिनेटमा मास्क लगाएका र पछाडि झोला भिरेका एक व्यक्ती उनको पसलमा छिरेको देखिएको थियो।

ती व्यक्ती २ बजेर ५६ मिनेटमा त्यहाँबाट निस्किएका थिए। ‘पसलभित्र सीसी क्यामरा नभएपनि बाटो भने कभर गर्ने अवस्था थियो’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन्। त्यही सीसीटीभीका आधारमा संलग्न व्यक्तिको तस्बिर पाएपनि उनको पहिचान खुल्न सकेको थिएन।

प्रहरीका अनुसार ती व्यक्ती त्यहाँबाट पैदलै गोपीकृष्ण हलनजिकै पुगेका थिए। त्यहाँबाट टेम्पो चढेर चाबहिलसम्म पुगेका थिए।

चाबहिलबाट इनड्राइभबाट अफलाइन जडिबुटीसम्म मोटरसाइकलबाट गएका थिए। प्रहरीलाई ती इनड्राइभ चलाउने व्यक्तिलाई पक्राउ गरेपनि उनले कसलाई लिएर गएका थिए भन्ने पहिचान खुल्न सकेको थिएन। यही कारण प्रहरीलाई लामो समय लागेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *