विश्वासको मत लिएरमात्र मन्त्री थप्ने तयारीमा मुख्यमन्त्री पाण्डे, कुन दलबाट कसको सम्भावना ? – Nepal Press
गण्डकी प्रदेश

विश्वासको मत लिएरमात्र मन्त्री थप्ने तयारीमा मुख्यमन्त्री पाण्डे, कुन दलबाट कसको सम्भावना ?

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पदभार ग्रहण गर्दै भनेका थिए- प्रदेशमा मन्त्रालय ७ बाट बढ्दैन, मन्त्रिपरिषद् साता दिनभित्र पूर्ण हुन्छ । तर, उनले मन्त्रिपरिषद् विस्तारभन्दा पहिला विश्वासको मत लिने तयारी गरेका छन् । २ महिला मन्त्री लिएर शपथ ग्रहण गरेका पाण्डेले मन्त्रिपरिषद् विस्तारमा अड्चन आउने देखेपछि पहिले विश्वासको मत लिने तयारी गरेका छन् ।

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख २१ गतेका लागि आह्वान भएको छ ।

दुवै पार्टीभित्र धेरैको मन्त्री बन्ने दौड त छ नै कुन दलले कति मन्त्रालय पाउने भन्नेमै कुरा मिल्न सकेको छैन । सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी भएको नेकपा माओवादी केन्द्रले ३ मन्त्रालय मागिरहेको छ भने कांग्रेस २ मन्त्रालय दिने मुडमा देखिन्छ । अहिले कांग्रेसबाट मुख्यमन्त्रीसहित २ जना र माओवादी केन्द्रबाट एउटा मन्त्री बनिसकेका छन् । अहिले कांग्रेसबाट सरस्वती अर्याल र माओवादीबाट सुशिला सिंखडा विनाविभागीय मन्त्रीको रूपमा मुख्यमन्त्रीसँगै शपथ लिएका हुन् ।

३ मन्त्रालय आफूहरूको बटमलाइन भएको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान बताउँछन् ।

उनले भने, ‘३ मन्त्रालय हाम्रो बटम लाइन हो । मुख्यमन्त्री आलोपालोको समझदारी भैसकेको छ ।’

कांग्रेस भने माओवादीलाई ३ मन्त्रालय दिन नसकिने बताउँछ ।

‘२२ सांसद भएको एमालेले नेतृत्वको सरकारमा २ मन्त्रालय पाएको माओवादीलाई २७ सांसद रहेको कांग्रेसले नेतृत्व गरेको सरकारमा ३ मन्त्रालय दिन सकिदैन,’ कांग्रेसका एक सांसदले भने ।

अर्कोतर्फ मुख्यमन्त्रीलाई समर्थन दिएका स्वतन्त्र जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) पनि मन्त्री बन्ने दौडमा छन् । उनले केन्द्रबाटै निर्णय हुने र आफू मन्त्री हुने दाबी गर्दै आएका छन् । तर, मुख्यमन्त्री पाण्डे भने मनाङेलाई मन्त्री बनाउने पक्षमा छैनन् । कांग्रेस आफूले ५ मन्त्रालय राखेर २ मन्त्रालय माओवादीलाई दिने पक्षमा देखिन्छ ।

दलहरूभित्रै सांसदहरू मन्त्री बन्न दौडधुप गरिरहेका छन् । केही सांसद मन्त्रीको लविङ गर्न काठमाडौं पुगेका छन् । माओवादीबाट सिंखडा मन्त्री भइसकेको अवस्थामा २ मन्त्रालय पाए रेशम जुग्जाली मन्त्री बन्ने लगभग निश्चित छ । ३ पाएमा भने अर्को कसलाई पठाउने निश्चित भएको छैन । मन्त्रालयमा पनि कांग्रेस, माओवादीमा टकराब छ । माओवादीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय दाबी गर्दै आएको छ । तर, कांग्रेसले भौतिक छोडेपनि सामाजिक विकास आफूले पाउनुपर्ने दाबी गर्दै आएको देखिन्छ । कांग्रेसबाट पनि मन्त्री बन्नेको लाइन छ ।

लमजुङका डा. टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी, कास्कीका विन्दुकुमार थापा, बागलुङका जीत शेरचन, कास्कीकी सरस्वती गुरुङ, पर्वतकी रेखा गुरुङ र बागलुङका डिल्लीराम सुवेदी कांग्रेसबाट मन्त्री बन्ने सम्भावना देखाउँछन् नेताहरू ।

नवलपुरका सांसद जिसी शेखर कोइराला समूहका हुन् । त्यसकारण उनी मन्त्री बन्ने निश्चितजस्तो देखिन्छ । लमजुङका टकराज र कास्कीका विन्दुमध्ये एकजना मन्त्री बन्ने देखिन्छ । विन्दु मन्त्री बनेमा भने कास्की अन्य सांसदको मन्त्री बन्न पाउँदैनन् । सुरुका २ वटै मन्त्री महिला बनाएकाले अबको महिला मन्त्री बन्ने सम्भावना कमै देखिन्छ ।

बागलुङबाट मात्रै कांग्रेसका ६ वटा सांसद छन् । बागलुङबाट निर्वाचित भएका सांसदले बागलुङले पनि एउटा मन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ । जसले गर्दा गगन थापाका प्रिय पात्र डिल्लीराम सुवेदी सम्भावना छ । रेखा गुरुङ र जीत शेरचनको पनि उत्तिकै सम्भावना देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर