बुद्धसँग इतिहास जोडिएको कालानमक धान, कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार लैजाँदै भिक्षु मेत्तेय – Nepal Press

बुद्धसँग इतिहास जोडिएको कालानमक धान, कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार लैजाँदै भिक्षु मेत्तेय

रुपन्देही । बुद्धकालीन इतिहाससँग जोडिएको कालानमक धानलाई लुम्बिनी क्षेत्रको इतिहाससँग जोडेर प्रचार गर्न थालिएको छ । बढी सिमसार क्षेत्रमा उत्पादन हुने यो धान, बुद्धकालीन क्षेत्रमा पाउने सारस र बौद्धकालीन क्षेत्रमा यसको बढी उत्पादन हुने भएकाले यो धानलाई अहिले विशेष महत्व दिन थालिएको हो ।

नेपालको कालानमक धान यहाँ मात्रै नभएर विश्वका बौद्ध धर्म मान्ने देशका विशिष्ट व्यक्तिले समेच चासो दिनथालेपछि यसको संरक्षणमा लागेकाहरु हौसिएका हुन् ।

कालानमक धान उपहार स्वरुप कम्बोडिया लगिने भएको छ । २५६७ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अवधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहार स्वरुप कालानमक ‘चामल’ प्रदान गर्ने भएपछि अझै यसको चर्चा बढेको छ ।

उनी वैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक धान कम्बोडियाका प्रधानमन्त्रीकै मागअनुसार उपहार स्वरुप प्रदान गरिने उपाध्यक्ष त्रिपाठीले बताए ।

कार्यक्रममा सहभागी हुन जानुअघि शुक्रबार उपाध्यक्ष त्रिपाठीलाई लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गरेका छन् । बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत ४ बर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्धकालीन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ ।

बौद्धिष्ट मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालीन कालानमक धानको चामल माग गर्नुले बौद्धपरम्परामा यो चामलको महत्व उजागर गरेको कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले बताए ।

‘कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुशीको कुरा हो’ भिक्षु मेत्तेयले भने, ‘हामीले राज्य उपहार स्वरुप कालानमक चामल दिन लागेका हौं ।’ कपिलबस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रुपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उपाध्यक्ष त्रिपाठीको भनाइ छ ।

बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूणिर्मामा कालानमक रोपेर धान मंगलोत्सव गरिने इतिहासमा उल्लेख छ । बुद्धकालीन महत्व भएकाले यसको संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले पुष्टि गरेको उपाध्यक्ष त्रिपाठीले बताए ।

कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्वपूर्ण ऐतिहासिक एंव साँस्कृतिक महत्वको क्षेत्रका रुपमा विकास गर्न छलफल गर्नेछन् । साथै दुई देशका जनताविचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका बिषयमा समेत छलफल गर्नेछन् ।

खाँदा नरम, स्वादिलो र मगमग बास्ना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि समेत असाध्यै राम्रो मानिन्छ । तर, बौद्धसम्पदासँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन् । बुद्धकालीन यो धान लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले समेत लाभ लिन सक्नेछन् ।

यो चामलमा पोटासियम, प्रोटिन, फाईबर, भिटामिन बी, आईरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ । त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले समेत कालानमक धान बुद्धकालीन मानिने हुँदा शुद्धोदन कालानमक उन्नत जातको धानको बिउ विकास गरेको छ ।

इतिहास र वातावरणका अध्येता अध्यापक युवराज कंडेलले कालानमक धानले बौद्धकालीन इतिहासको विषय जोडेर ल्याएको विभिन्न अध्ययनमा आफूले पाएका बताउँछन् । लुम्बिनी क्षेत्रको सिमसार क्षेत्र खासगरी चुरेदेखि करिब ६ किलोमिटर दक्षिणदेखिको क्षेत्रमा यसको उत्पादन हुने र रुपन्देही, नवलपरासी र कपिलवस्तुमा यसको उत्पादन हुने उनको भनाइ छ ।

‘मेरो मा पनि यो उत्पादन हुन्छ, कालानमक, सारस सिमसार क्षेत्रमा रहने र एकआपसमा जोडिएका हुन्, बुद्धकालमा यस्तो चामलको प्रयोग भएको, भिक्षा दिएको, र बौद्धकालीन सम्पदा भएको क्षेत्रमा यसको उत्पादन भएकाले पनि यसको संरक्षण र बजारीकरण गरेर जोड्न जरुरी छ’, उनले भने । अरु धानभन्दा ढिलो उत्पादन हुने र अन्य बालीका पनि किराहरु यसमा लाग्ने भएकाले यसको खेती कम हुने भएपनि अब इतिहास, यसको महत्वलाई ध्यान दिएर विशेष संरक्षण गरेर यसको उत्पादन बढाउनुपर्ने उनको सुझाव छ ।

बुद्धजयन्तीको तयारी तीव्र

वैशाख २२ गते मनाउन लागिएको २५६७ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवसलाई मनाउन तयारी शुरु गरिएको छ । लुम्बिनी विकास कोषले यसका लागि विभिन्न उपसमिति गठन गरेर तयारी गरिएको हो । विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी) को संयोजकत्वमा ५६७ सदस्यीय बुद्धजयन्ती व्यवस्थापन समिति गठन गरिएको छ ।

कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

बुद्धजयन्तीलाई बिशेष उत्सवका रुपमा मनाउनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, कपिलबस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकालाई दीपावली गर्न आग्रह समेत गरिएको छ । २२ गते विहान पूजा र ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देबदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रबृत्ति, खेलकूद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

कार्यक्रममा सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती सहित सांसदहरुको उपस्थिती रहनेछ । नेपाल स्थित विभिन्न देशका राजदुतलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको छ । तयारी स्वरुप पत्रकार सम्मेलन, सुरक्षा समितिको बैठक समेत गरिएको छ ।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *