रविको चुनौती- १३ मन्त्रालय दिएर अरुले समर्थन गरुन्, डेलिभरी कस्तो हुन्छ देखाइदिन्छौं – Nepal Press

रविको चुनौती- १३ मन्त्रालय दिएर अरुले समर्थन गरुन्, डेलिभरी कस्तो हुन्छ देखाइदिन्छौं

‘एमालेसँगको गठबन्धनमा कम्फर्टेबल भन्ने भाष्य गलत हो’

काठमाडौं । वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट शानदार मतले निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको छन् ।

लामिछानेको शपथग्रहणपछि सबैको चासो अब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारलाई दिएको समर्थनबारे के हुन्छ भन्नेमा छ। उनले सरकारलाई दिएको समर्थनबारे चाँडै पार्टीको बैठक बसेर निर्णय लिनसक्ने बताएका छन्। आफूहरु देशमा अस्थिरता नहोस् भन्ने पक्षमा रहेको उनको भनाइ छ ।

सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो पार्टीको मुख्य एजेण्डा नै हटाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् । सरकारलाई दिएको समर्थन, रास्वपाको आगामी यात्रालगायको विषयमा शपथपछि लामिछाने र पत्रकारबीच भएको सवालजवाफ –

पत्रकारः रास्वपाले सरकारलाई दिएको समर्थनबारे चासोको बिषय बनेको छ । अब के गर्छ ?

संसदीय दल र केन्द्रीय समितिको बैठक बसेर यलाई गम्भिर समिक्षा गर्छौँ । कयौं आपत्तिजनक परिस्थितिहरू सिर्जना भएको छ । त्यसलाई हामी छलफल गरेर निष्कर्षमा पुग्छौं ।

पत्रकारः भनेपछि सरकारमा जाने भन्दा फिर्ता लिने सम्भावना बढी भयो ?

त्यस्तो सम्भावना बढी नै देखिन्छ । किनभने मैले अगाडिदेखि नै बताउँदै आइरहेको छु । हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो महत्वपूर्ण एजेण्डा भनेको मुलुको भ्रष्टाचारको अन्त्य थियो । त्यही आधारमा हामीलाई भोट दिनुभएको छ । त्यो नै सरकारको न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले हाम्रो त्यसमा गम्भीरभन्दा गम्भीर आपत्ति छ ।

मतदाताले हामीले केही थान मान्छे संसदमा पठाएको होइन । निश्चित एजेण्डासहित पठाएको हो । जुन बाचा गरेर आएको थियो । त्यो भएको बाचा नै राख्नुपर्ने अझै निर्मम हुनुपर्ने विषयलाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले अब गम्भीर समीक्षा गरेरमात्रै अगाडि बढ्छौं ।

पत्रकारः प्रधानमन्त्रीले फोन गरेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको भन्ने कुरामा कत्तिको सत्यता छ ?

बधाई दिन प्रधानमन्त्रीले फोन गर्नुभएको हो । समर्थन फिर्ता लिनेबारे मैले यस्तो सुने के हो ? भनेर चासो राख्नुभएको थियो । सरकारसम्बन्धी त्यस्तो कुनै गम्भीर छलफल भएन । उहाँले मलाई बधाई दिन फोन गर्नुभएको हो ।

पत्रकारः सरकारमा ल्याउन प्रयास गर्छौं भनिराख्नुभएको छ नि ?

त्यस विषयमा हामीले धेरै समीक्षा गर्नुपर्छ । हामीले चुनावी दौरानको समयमा जेजस्तो क्रियाकलापहरू भयो । चुनावको बेलामा हेलिकप्टर लिएर गएर हामी दुवैजनाको विरुद्ध मन्त्री पद नै बाँड्ने लगायतका धेरै क्रियाकलाप भए । त्यसविषयमा हामीले धेरै समीक्षा गर्नुपर्छ । त्यस विषयमा हामीले धेरै सोच्नुपर्ने कुरा छैन ।

हामी अस्थिरता नहोस् भन्ने चाहन्छौं । एउटा जिम्मेवार राजनीतिक दलले मुलुकमा अस्थिरता नहोस् भनेर सोच्नुपर्छ । त्यस्तो अवस्थामा सरकारले आफूलाई समर्थन गरिराख्नुपर्ने न्यूनतम ठाउँ राख्नुपर्छ । त्यो ठाउँ राखेको छ कि छैन भनेर मूल्यांकन र पुनरावलोकनको विषय बनेकाले हामी पार्टी र संसदीय दलमा छलफल गरेर अघि बढ्छौं ।

पत्रकारः प्रतिनिधिसभाको अहिलेको जस्तो स्वरुप छ। यो बीचमा तपाईंहरुले आफ्नो नेतृत्वको सरकार बनाउने प्रयास गर्नुहुन्छ ?

यस्तै किसिमका अस्थिरता रहने र एउटा गन्तीका लागि हुने भयो । त्यसले डेलिभरी गर्न नसक्ने अवस्था आयो भने त्यो अभ्यास गर्नुको म तुक देख्दिनँ । सम्भावनाहरू रहन्छन् होला । तर, त्यो सम्भावना खोजी चाहिँ हामी गर्दैनौँ । स्वाभाविकरूपमा हामीले सोचेजस्तो हामीले परिकल्पना गरेजस्तो आफैँले गर्नसक्ने वातावरण बन्यो भने बेग्लै कुरा होला । जस्तो उदाहरणका लागि, हामीले भनेका पनि थियौं सबैलाई भाग लगाएर मन्त्रिमण्डल बनाउनुभन्दा १३ वटा मन्त्रालयमात्रै बनाऔं, रास्वपाले सरकार बनाओस्, अरुले समर्थन गरुन्, त्यस्तो अवस्थामा सबैजना तयार भए भने सकिन्छ गर्न सकिन्छ ।
हामी डेलिभरी गर्न सक्छौं । विभिन्न अवधारणामध्येको आइडियामा डिस्कस गर्दा त्यस्तो परिस्थिती विशेष भयो र काम गर्ने वातावरण भयो, अस्थिरता भएन त्यसमा छलफल गर्न सकिएला । तर, हामी त्यो सम्भावनाको खोजी र गेमतिर दौडिएका छैनौं ।

पत्रकारः तपाईं अतिकति कम्फटेबल कांग्रेससँग भन्दा एमालेसँगको गठबन्धनमा हुनुहुन्छ भन्ने टिप्पणी छ । के तपाईँ एमाले नजिक भएर जान चाहनुहुन्छ ?

छैन, त्यो एकदमै गलत भाष्य हो । त्यसको म खण्डन गर्न चाहन्छु । हामी आफैँसँग कम्फर्टेबल छौं । हाम्रो दृष्टिकोणमा अहिले भएका सबै राजनीतिक दलहरू लगभग सबै समान नै हुन् । कुनै फरक देखिएको छैन ।

सरकारमा हुँदा अलिकति एमालेसँग टाँसिएको भन्ने आक्षप पनि लागेको थियो । तर, सबैभन्दा पहिला सरकारबाट मन्त्री फिर्ता बोलाउने पार्टी नै हाम्रो हो । त्यसपछि राष्ट्रपतिको निर्वाचनमा एमालेले सारेको उम्मेदवार भन्दा सत्ता गठबन्धनले सारेको उम्मेदवारलाई भोट हाल्यौं । त्यसपछि सत्ता गठबन्धनमा संविधानको भावनाअनुसार उपराष्ट्रपतिमा महिला उम्मेदवार भएको हुन्थ्यो भनेर जनमतलाई भोट हाल्यौं । त्यसैले हामी कहिँ कतै टाँसिएको भाष्य गलत छ ।

सद्भाव सबैसँग छ । एजेण्डाको आधारमा सहकार्य सबैसँग हुनसक्छ । तर, कुनै राजनीति दलप्रति झुकाव भन्ने कुरामा सत्य छैन ।

पत्रकारः गृहमन्त्रालयबाट बहिर्गमन हुने बेलामा जनताको चाहनाअनुसार अनुमोदन भएर आउँछु भन्नुभएको थियो । त्यो पूरा भयो । अब फेरि मन्त्रालयमा जाने चाहाना कतिको छ ?

यथास्थितिमा मन्त्रालयमा जाने भन्ने कुरामा त हामीले सोचेका छैनौं । धेरै कुरा मिल्नुपर्छ । मुलुकको दूरगामी विकास, स्थिरताका लागि हेरेर गर्नुपर्ने निर्णय समान्य होइन । जुन ढंगले सरकार अगाडि बढेको छ । त्यतातिर मध्यनजर राख्दा त्यो सम्भावना धेरै कम छ ।

यो असाध्यै न्यून सम्भावनाको कुरा हो । यद्यपि, छलफल गर्ने अवस्था त रहन्छ नै । हामी छलफल गरेर निर्णय त गर्छौं । तर, हामी मन्त्रालय जाने, अहिल्यै जाने भन्ने हामी विषय होइन । किन जाने महत्वपूर्ण हो ? जाने ठूलो कुरा होइन ।

प्रतिक्रिया

2 thoughts on “रविको चुनौती- १३ मन्त्रालय दिएर अरुले समर्थन गरुन्, डेलिभरी कस्तो हुन्छ देखाइदिन्छौं

  1. अहिले यतिखेर प्रश्न उठाउँदा धेरैलाई अस्वभाविक र आग्रहपूर्ण लाग्न सक्छ तर सत्य के हो भने पश्चिमले रणनीतिक रूपमा डा. स्वर्णिम वाग्लेलाई रास्वपामा प्रवेश गराएर चुनाव जिताइएको र रवी लामिछानेलाई आफ्नो स्वार्थमा काम गर्ने सर्तमा अमेरिकाले प्रयोग गरिरहेको हुनसक्छ।#IPS_कुटनीति को प्रभाव देखिएको दिन हाम्रो आँखा खुल्ला जतिखेर ढिलो भइसकेको हुनेछ। यतिखेर शंकाको लाभ दिनु आफैलाई धोखा दिनु हो भनेर मैले बुझेको छु।

    1. अनि जनताले भोट खन्याएको पनि अमेरिकाले भनेर रहेछ ? वाहियात कुरा गर्ने ? काँग्रेसको पुच्छर हो कि क्या हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर