प्रचण्डकै कारण प्रदेश सभा आएका पाण्डे उनकै गुनले मुख्यमन्त्री – Nepal Press

प्रचण्डकै कारण प्रदेश सभा आएका पाण्डे उनकै गुनले मुख्यमन्त्री

पोखरा । गोरखा निर्वाचनका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, –निर्वाचनपछि गोरखाले प्रधानमन्त्री र मुख्यमन्त्री पाउँछ । निर्वाचनपछि उनी प्रधानमन्त्री त भए तर उनले भनेका गोरखाका कांग्रेस नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुन पाएनन् ।

प्रचण्डले आफू प्रधानमन्त्री हुन एमालेसहितका दलहरुसँग मिलेर सरकार बनाएपछि कांग्रेसका पाण्डेलाई मुख्यमन्त्री बन्ने अवसर जुरेन । उनी पुस १० गते मुख्यमन्त्री हुने गरी काठमाडौंबाट फर्कँदै थिए । काठमाडौंबाट हिँड्दा ठिकै भएको गठबन्धन पाण्डे पोखरा आइपुग्दा एकाएक फेरबदल भयो ।

केन्द्रको राजनीतिमा फेरबदल हुँदा प्रदेशमा पनि सत्ता समीकरणमा उलटफेर भयो । जसले कारण उनको मुख्यमन्त्री बन्ने चाहना तुषारापात लाग्यो । त्यतिबेला उनले पोखरा विमानस्थलमा ल्यान्ड भएपछि भनेका थिए, ‘यो घटना मेरा लागि अपेक्षित थिएन । पोखराबाट काठमाडाैं आउँदा प्लेन त ल्यान्ड भयो, तर राजनीति क्र्यास भयो । म सकुशल अवतरण भएँ, तर म आइपुग्दा राजनीति चाहिँ क्र्यास भयो ।’

तर, पुस १० गते प्रचण्डकै कारण मुख्यमन्त्री गुमाएका सुरेन्द्रलाई प्रचण्ड नै दाहिना हुँदा ४ महिनामै मुख्यमन्त्री बन्ने अवसर जुरेको छ । केन्द्रमा प्रचण्डले एमाले छाडेर कांग्रेससँग साइनो जोडे । प्रदेशमा पनि गठबन्धन फेरियो । त्यससँगै नेता पाण्डेलाई मुख्यमन्त्रीको स्वर्णिम अवसर मिल्यो । माओवादीका सहित ३५ सांसदको समर्थनमा पाण्डे गण्डकीको मुख्यमन्त्री बिहीबार नियुक्त भएका छन् । कांग्रेसका २७, माओवादी केन्द्रका ७ र एकीकृत समाजवादी १ गरी ३५ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त हुन् ।

को हुन् नवनियुक्त मुख्यमन्त्री पाण्डे

२०२१ भदौ ९ गते जन्मिएका पाण्डे विद्यार्थीकालदेखि राजनीतिमा लागेका हुन् । नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघमा आबद्ध भएका उनले २०३६ सालमा नेविसंघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा प्रवेश गरेका हुन् । पाण्डे २०३९ सालमा नेविसंघ अस्कल इकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए ।

२०४९ मा नेविसंघको केन्द्रीय सदस्यसमेत भएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बनेका थिए । अहिले तेस्रोपटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित उनीसँग २०७४ सालमा राष्ट्रिय सभामा सांसद रही नेपाली कांग्रेसकोतर्फबाट प्रमुख प्रतिपक्ष दलको नेता बनेर काम गरेको अनुभव छ । राजनीतिक संघर्षका क्रममा उनले २०४५ साल, शाही शासन २०६१ सालमा गरी झण्डै ८ महिनाभन्दा बढी समय जेल जीवन बिताएका छन् ।

गत मंसिरमा भएको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ मा संघीय क्षेत्रमा एकल सिफारिस भएका पाण्डे कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि पाण्डे प्रदेश सभामा झरेका थिए । मुख्यमन्त्री बन्ने सर्तसहित प्रदेशमा झरेका उनी प्रचण्डकै कारण मुख्यमन्त्री बन्न बञ्चित भएका थिए । ४ महिनामै प्रचण्डले गठबन्धन गरेसँगै पाण्डेलाई मुख्यमन्त्री बन्ने अवसर जुरेको थियो ।

प्रदेश सरकारको पहिलो ५ वर्षमा २ जना मुख्यमन्त्री भए । त्यति बेला माओवादी पहिला एमाले र पछि कांग्रेसको सत्ता सहयोग बन्यो । नेतृत्वमा पुग्न पाएन । यसपालि माओवादी संसदीय दल नेता हरिबहादुर चुमान अब त आफूले नेतृत्व पाउनुपर्ने भनिरहेका थिए । तर प्रचण्डले चुनावी बाचा सम्झेरै कांग्रेसलाई नै नेतृत्व सुम्पँदा सुरेन्द्र पाण्डेको भाग्य चम्कियो । कांग्रेसको पनि मतले चुनाव जितेको गुन प्रचण्डले सुरेन्द्रलाई मुख्यमन्त्री बनाएर गोरखाली मतदातालाई तिरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर