उपनिर्वाचनको ‘साइड इफेक्ट : कांग्रेस र प्रचण्ड-माधव बाहेकको समीकरण बन्न उपेन्द्र निर्णायक – Nepal Press

उपनिर्वाचनको ‘साइड इफेक्ट : कांग्रेस र प्रचण्ड-माधव बाहेकको समीकरण बन्न उपेन्द्र निर्णायक

काठमाडौं । उपचुनावमा मतको सुनामी ल्याएर जितेपछि बिहीबार घण्टीघरमा प्रवेश गर्दै रास्वपा सभापति रवि लामिछानेले भने- न्यूनतम साझा कार्यक्रमबाट भ्रष्टाचारका फाइल खोल्ने हाम्रो बुँदा हटाउनेहरूलाई सरकारबाटै हटाइदिन सक्छौं ।

प्रतिनिधिसभाको चौथो ठूलो दल र उपनिर्वाचनको परिणामपछि कांग्रेस र एमालेलाई चुनौती दिनेगरी उभार लिएर अघि बढेको रास्वपाले वर्तमान सरकारको विकल्प खोज्ने संकेत गर्नुलाई राजनीतिकरूपमा अर्थपूर्ण मानिएको छ ।

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त उदयले केन्द्रीय राजनीतिमा तरङ्ग पैदा भइरहेको छ । उपनिर्वाचनको परिणामको कम्पन सरकारको समेत देखिने संकेत देखिएको छ ।

१० दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व गरिरहेका छन् । पुस १० गते बनेको एमाले नेतृत्वको ७ दलीय गठबन्धन छाडेर कांग्रेस नेतृत्वकै गठबन्धनमा उभिएका प्रचण्ड नेतृत्वको सरकार अहिले धर्मराउन थालेको राजनीतिक वृत्तमा चर्चा छ ।

उपनिर्वाचनको नतिजापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाहेकको सरकार गठनको गृहकार्यमा थालेका हुन् ? यो प्रश्न उब्जिएको छ । कांग्रेसभित्रै पनि यो आशंका छाएको छ ।

गठबन्धनमा रहेका दलहरूबीच भागबण्डाको असन्तुष्टिले जनमत पार्टी सरकारबाहिर गइसकेको छ । जसपा पनि पूर्ण सन्तुष्ट छैन । मधेस सरकार ढाल्ने चलखेल जारी छ । यस्तोमा केपी ओलीले कस्तो कदम चाल्छन् ? चासो सबैतिर छ ।

आफूले निकै रिस्क मोलेर र लचिलो भएर प्रधानमन्त्री बनाएका प्रचण्डले धोका दिएर पहिलेकै गठबन्धनमा गएको बदला लिन ओली चाहन्छन् । संसदको अंकगणित र ताजा जनादेशले पनि केही फेरबदल माग गरेको छ ।

अहिले मूर्तरूप लिइनसकेको ‘ट्रयाक टू’ मिसनअनुसार एमालेको ७९, रास्वपाको २१, राप्रपाको १४, जसपाको १२, जनमतको ६, नागरिक उन्मुक्तिको ४, लोसपाको ४ र स्वतन्त्र ३ जना गरी सरकार निर्माणको लागि आवश्यक संख्या पुग्छ ।

सरकार गठनका लागि १३८ सांसद आवश्यक पर्छ तर, तीन दलबाहेक १४२ सांसद हुने भएकाले सरकार गठन हुनसक्ने ठाउँ भने छ । यद्यपि यसमा भूराजनीतिक चलखेलले पनि बेला बेलामा काम गर्छ । तर, प्रचण्ड सरकारको आयुमाथि प्रश्न भने उठेको छ ।

तर, एमाले उपमहाचिव प्रदीप ज्ञवाली अहिले एमालेले सत्ता बनाउने खेलमा नलागेको दाबी गर्छन् । उनी भन्छन्, ‘अहिले हामीलाई गठबन्धन बनाउनमा कुनै रुचि र योजना पनि छैन । हामी अहिले प्रतिपक्षमा बसेर जनताको एजेण्डा कार्यान्वयनमा पहल गर्छौं ।’

मुल्यहीन गठबन्धन बनाएर मुलुकको राष्ट्रिय राजनीतिलाई भागबन्डा र सत्ता स्वार्थको भूमरीमा फसाइएको उनको आरोप छ ।

त्यसो त चुनाव जितेसँगै रास्वपा सभापति लामिछानेले सरकारलाई समर्थन गर्नुको औचित्य सकिसकेकाले फिर्ता लिने संकेत दिएका छन् ।

कुनै पनि समयमा भएको भ्रष्टाचारको फाइल खोल्ने विषय नीति-कार्यक्रमबाट हटाइएको भन्दै उनले सरकारलाई समर्थनको औचित्यमै प्रश्न उठेको बताए ।

उनले भने, ‘जुन ढंगले न्यूनतम साझा कार्यक्रममा हाम्रा महत्वपूर्ण बुँदा हटाइएको छ, अब हामीले सरकारलाई दिएको समर्थनको औचित्यमा प्रश्न गर्नुपर्ने भएको छ। भ्रष्टाचारको फाइल नखोल्ने हो भने त सरकार पनि हट्न बेर लाग्दैन। हामी थप मजबुत भएर आएका छौं ।’

त्यसो त गठबन्धनकै हकमा रास्वपा र राप्रपा ओलीसँग नजिक छ । रास्वपाले राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गरेपनि अहिलेसम्म एमालेप्रति नै सरकारामत्क छ । त्यसैले पनि रास्वपा र राप्रपाको साथ सहजै पाउनसक्ने एमाले नेताहरूको बुझाइ छ । सातदलीय गठबन्धनको सरकार बन्दा पनि लामिछानेलाई गृहमन्त्री बनाउने ओलीले नै भूमिका खेलेका थिए ।

रास्वपा र राप्रपाको साथ पाइसकेपछि जसपा, नागरिक उन्मुक्ति, लोसपासहित साना दल जता सत्ता उतै हुने कतिपयले टिप्पणी गर्ने गरेका छन् । उपनिर्वाचनको क्रममा पनि ओलीले बारामा २ पटक चुनावी कार्यक्रमका लागि गए । तर, तनहुँ र चितवनमा गएनन् ।

ओली बारामा गएर पार्टीको भोट दायाँबाँया हुन नदिएकै कारणले उपेन्द्रलाई जित सहज भएको कतिपयको विश्लेषण छ । एमालेको मत अन्य पार्टीमा जान नपाएकै कारणले उपेन्द्रको जित सहज भएको बताइन्छ ।

त्यसो त जसपा नेता अशोक राईले पनि ०५१ सालपछिको लगातार पराजय व्यहोर्दै एमालेकै कारणले चुनाव जितेर अहिले मन्त्रीसमेत बनेका छन् । राईसहित राजकिशोर यादवहरु अझै पनि एमालेसँगै मिलेर जानुपर्छ भनेर पार्टीमा दबाब बढाइरहेको निकट स्रोतको भनाई छ ।

अहिले सत्ता गठबन्धनमा जसपाले दुई मन्त्रालय भन्दा पाएको छैन त्यो पनि रोजेको होइन । अहिले सरकारमा रहेका दललाई थप मन्त्रालयसहितको प्रस्ताव गरे उनीहरू एमाले नेतृत्वको गठबन्धनमा आउन समस्या छैन ।

त्यसो त चुनावअघि पनि पाँचदलीय गठबन्धनमा कुरा नमिलेपछि उपेन्द्रले एमालेसँग सहकार्य गरेका थिए । यद्यपि यादवले अहिले सत्ता समीकरणको फेरबदलको कुनै सम्भावना नरहेको दाबी गरे ।

उनले भने, ‘अहिले हामी गठबन्धनको सरकार छौं । यो गठबन्धन भत्काएर अर्को बनाउनेतिर लाग्दैनौँ । त्यो सम्भावना पनि छैन ।’

एमाले नेतृत्वको ७ दलीय गठबन्धनबाट प्रतिनिधिसभाको शत प्रतिशत मत पाएका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक ६ मा १७२ सांसदको समर्थन पाएका थिए ।

तर, अहिले रास्वपाले समर्थन फिर्ता लिएको अवस्थामा प्रचण्डसँग १५२ सांसदको मात्रै समर्थन रहन्छ । त्यसमा ६ सीट भएको जनमत पनि मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिसकेको छ ।

उनले पनि समर्थन फिर्ता लिएर प्रचण्डसँग १४६ सांसदको मात्रै समर्थन रहन्छ । जसले गर्दा प्रधानमन्त्री प्रचण्डले अहिले् सरकार चुनौतिपूर्ण अवस्थामा रहेका पार्टीका नेताहरूसँग बताउने गरेको स्रोतको दाबी छ ।

तर, सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार यो गठबन्धन नटुट्ने दाबी गर्छन् । उनले दलहरूबीच सहमतिको आधारमा सरकारले निरन्तरता पाउने दाबी गरे ।

सत्ता गठबन्धनमा प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने भद्र सहमति भएको छ । माओवादी केन्द्रका सचिव लीलामणि पोखरेल यही गठबन्धन पाँच वर्षसम्म जाने दाबी गर्छन् ।

उनी भन्छन्, ‘प्रधानमन्त्रीले सकेसम्म सबैलाई मिलाएर लाने प्रयास गरिराख्नु भएको छ । त्यसैले यो गठबन्धन पाँच वर्षसम्म जानेमा सबै दलहरू एकमत छन् । कसैले टुटाउन सक्दैन ।’

तर, राजनीतिक विश्लेषक रोसन जनकपुरी सबै दल अवसरवादी भएको कारणले सरकार अस्थिर रहेको टिप्पणी गर्छन् ।

उनी भन्छन्, ‘अहिले को सरकारमा बस्ने र को बाहिर जाने भन्ने छैन । राजनीतिक नैतिकताका आधारमा चलेको भए भन्न सकिन्थ्यो । तर, अहिलेको परिवेशमा भन्न सकिने अवस्था छैन ।’

उनले राजनीतिक दलका नेताहरूको सत्ता स्वार्थको कारणले जुनसुकै बेलामा सत्ता समीकरण फेरिनसक्ने संकेत गरे ।

उनले थपे, ‘कांग्रेस, माओवादी र नेकपा एसलाई बाहिर राखेर सरकार बनाउने प्रयास ओलीको तर्फबाट नहोला भन्ने अवस्था छैन । त्यस्तो अवस्थामा रास्वपा, राप्रपालगायतका अन्य साना दल आएपछि उपेन्द्र यादव आउँछन् जस्तो लाग्दैन ।’

सत्ताका लागि सम्भावनाको खेल धेरै हुनसक्ने उनको बुझाइ छ ।

उनी थप्छन्, ‘उपेन्द्र यादव नै गए भने नयाँ चिज हुनसक्छ । तर, मलाई लाग्छ अहिले सत्ता गठबन्धन छाडेर अर्को गठबन्धन बनाउनतिर लाग्दैनन् । त्यो अवस्थामा सरकार बनाउन गाह्रो हुन्छ ।’

रास्वपाले पनि अहिलेसम्म आफ्नो कित्ता प्रष्ट नपारेकाले सम्भावना धेरै भएपछि अहिले यही हुन्छ भन्नसक्ने अवस्था नरहेको उनको विश्लेषक जनकपुरीको तर्क छ ।

अर्का विश्लेषक हरि रोक्का तत्काल सत्ता समीरकणको फेरबदल हुने सम्भावना नरहेको बताउँछन् । सत्ता समीकरण नै फेरबदल हुनसक्ने सम्भावना रहेपनि त्यो परिस्थिति अहिले नै बनिनसकेको उनको बुझाइ छ ।

कांग्रेस, माओवादी र नेकपा एसलाई बाहिर राखेर सरकार बन्ने सम्भावना कत्तिको देख्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘त्यसबारे छलफल त दलहरूबीच चल्यो होला । तर, अहिले उपेन्द्र यादवजीले पनि चुनाव जित्नुभएको कारणले जसपाले यही गठबन्धनमै कम्फरटेबल मान्नुहुन्छ जस्तो लाग्छ ।’

त्यसो त नेकपा एसका सम्मानित नेता झलनाथ खनालले यो गठबन्धन कुनै आयु नभएको तर्क गर्छन् ।

गत साता नेपाल प्रेससँगको अन्तर्वार्ताको क्रममा भनेका थिए, ‘कुनै पनि गठबन्धनको आयु निश्चित छैन । योभन्दा अगाडि पनि तीनवटा गठबन्धन बने । अहिलेको गठबन्धनको पनि आयु निर्धारित छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर