सातौं पोखरा स्पोर्टस् अवार्ड: क्रिकेटका करण र फुटबलकी सावित्रा वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा – Nepal Press

सातौं पोखरा स्पोर्टस् अवार्ड: क्रिकेटका करण र फुटबलकी सावित्रा वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा

पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसी र राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सातौं स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दै आएको पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणमा वर्ष उत्कृष्ट खेलाडीको मनोनयनमा क्रिकेटका करण र फुटबलकी सावित्रा परेका हुन् ।

मञ्चले बुधबार पत्रकार सम्मेलन गर्दै वर्ष उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा करणसहित आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदीप खड्का परेका छन् ।

वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा फुटबलकी सावित्रासहित आर्चरीकी रोजिना थापा मगर र आईटीएफ तेक्वान्दोकी सुम्मिता थापा मगर छन् ।

वर्ष उत्कृष्ट प्रशिक्षक मनोनयनमा आर्चरीका किशोरकुमार गुरुङ, लन टेनिसका निरज थापा र आईटीएफ तेक्वान्दोका सुरज सुनार परेका छन् । उदीयमान खेलाडीको मनोनयनमा फुटबलका सुमित श्रेष्ठ, क्रिकेटका सुवास भण्डारी र भलिबलका रवि केसी परेका छन् ।

मञ्चले प्रदान गर्ने कुल ७ विधामध्ये लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिने व्यक्तिको नाम केही दिनमा सार्वजनिक गरिने मञ्चका अध्यक्ष दिनानाथ बरालले बताए । वर्ष उत्कृष्ट खेल संघ र पत्रकारिता अवार्डको घोषणा कार्यक्रममा नै गरिनेछ ।

वर्ष उत्कृष्ट खेलाडी पुरुष र महिलाको विजेताले इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, खेल पत्रकार र उत्कृष्ट खेलकुद संघ वा क्लबको विजेताले ३५ हजार रुपैयाँ पाउनेछन् ।

वर्ष २०७९ मा खेलाडीले प्राप्त गरेका उपलब्धि र प्रदर्शनको आधारमा खेलाडी छनोट गरिएको मञ्चले जनाएको छ । सातौं संस्करणको पोखरा स्पोर्टस अवार्ड वैशाख २३ गते पोखरा सभागृह हलमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर