तनहुँमा स्वर्णिम जितका ४ फ्याक्टर – Nepal Press

तनहुँमा स्वर्णिम जितका ४ फ्याक्टर

पोखरा । अर्थविद् डा. स्वर्णिम वाग्लेले चैत १५ गते अपेक्षितरूपमा कांग्रेस परित्याग गरे । तीन पुस्तादेखिको आफ्नो पार्टी परित्यागको बदला उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उम्मेदवारी प्राप्ति भयो । वाग्लले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिब १५ हजार बढी मत ल्याए ।

स्वर्णिमको जितमा ४ फ्याक्टरले काम गरेको विश्लेषण हुन थालेको छ ।

गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनले स्नातक तहको अध्ययन बीएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए । विद्यालय स्तरको पढाइ काठमाडौंको बूढानीलकन्ठ स्कूलबाट पूरा गरेका थिए ।

जोशी फ्याक्टर

गत मंसिरमा भएको निर्वाचनमा ६ हजार ८ सय ८६ मत ल्याएको गोविन्दराज जोशी समूहले उपनिर्वाचनमा उम्मेदवार उठाएसँगै कांग्रेसमा फर्काउन निकै कोसिस भयो । कांग्रेसले कारबाही फिर्ताको निर्णय गरेरै जोशी समूहलाई फर्काउन खोज्यो । महामन्त्रीदेखि सभापति नै जोशी समूहलाई मिलाउन लागि परे । आफूहरूलाई सम्मानसहित पद दिए कांग्रेसमा फर्किन लचिलो भएको यो समूहसँग अन्तिम समयमा कुरा भाँडियो र जोशी समूहले कांग्रेसलाई समर्थन नगर्ने जनायो ।

हरेक निर्वाचनमा राम्रै प्रभाव जनाउने जोशी समूहले त्यसपछि भने कसरीलाई समर्थन गर्छ भन्ने सबैको चासोको विषय बनेको थियो । पछि रास्वपाका सभापति रवि लामिछाने र गोविन्दराज जोशी, उनका छोरा दीपकराज जोशीबीचको भेटघाटबाट रास्वपालाई समर्थन गर्ने सहमति जुट्यो । जोशी समूहको सहकार्य नै स्वर्णिमको जितको उपयोगी पाटो बन्यो ।

कमजोर एमाले फ्याक्टर

गत मंसिरमा भएको निर्वाचनमा काठमाडौं ६ बाट पराजित भएका एमालेका सर्वेन्द्र खनाल तनहुँको उम्मेदवार बन्दा पार्टीका धेरै सदस्यले असन्तुष्ट बनेका थिए । अध्यक्ष केपी शर्मा ओलीसँग समधुर सम्बन्ध बनाएर ६ महिनामा दुईपल्ट टिकट पाएका खनाललाई तनहुँ १ का एमालेले नै अस्वीकार गरे । धेरैले स्वर्णिम वाग्लेले कांग्रेसको भोट काट्ने अपेक्षा गरेका थिए । तर, स्वर्णिमले कांग्रेसको भन्दा धेरै भोट एमालेको काटे । मंसिर ४ को निर्वाचनमा एमालेले पाएको मतको आधाभन्दा पनि कम मतमा सर्वेन्द्र खुम्चिए । यसै पनि तनहुँमा फितलो संगठन भएको एमाले पंक्ति चुनावमा कमजोर रुपमा परिचालित भयो ।

गत मंसिरका एमाले उम्मेदवार एकबहादुर रानाले करिब २० हजार मत ल्याएका थिए । उक्त क्षेत्रमा एमालेको सांगठनिक मत नै १६ हजार भन्दा बढी थियो । यसपल्ट एमालेको भोट आधा हुनु रास्वापाका स्वर्णिम वाग्लेको लोकप्रियतामात्रै होइन, खनालको अलोकप्रियता पनि उत्तिकै देखिन्छ । एकबहादुरले भन्दा खनालले साढे ११ हजार कम मत पाए ।

रविको आकर्षण फ्याक्टर/नयाँ पुस्ता

निर्वाचनको केही दिनअघि मात्र तनहुँका जनतासँग नजिक भएका स्वर्णिम फराकिलो मतले विजयी हुँदा यसको श्रेय रास्वपाका रवि लामिछानेलाई नै जान्छ । चितवन क्षेत्र नम्बर २ मा रवि लामिछाने गत मंसिरको निर्वाचनमा पाएको मतभन्दा धेरै मत ल्याएर विजयी भए । उनले आफूले मात्र जितेनन्, तनहुँमा स्वर्णिमलाई पनि जिताए ।

रविकै आकर्षणका कारण कांग्रेसको गढ अनुभवी र इतिहास बोकेका कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई समेत हराउन रविको आकर्षणसँगै युवापुस्ताको साथको पनि महत्वपूर्ण भूमिका रह्यो । वाग्लेलाई नचिने पनि धेरैजसो मतदाताले रवि लामिछानेप्रति आकर्षित भएर भोट हाले ।

वाग्लेको चुनावी सभामा अधिकांश युवा वर्गको साथ थियो । पुराना दलबाट वाक्क भएर नयाँ दलका उम्मेदवार, रास्वपाका उम्मेदवारलाई युवा पुस्ताले रुचाएको देखिन्थ्यो । तनहुँको १ मा नयाँ मतदाता अर्थात युवाको अधिकांश भोट डा. स्वर्णिमलाई गएको देखिन्छ ।

माओवादी फ्याक्टर

सत्ता गठबन्धनका दलहरूको साझा उम्मेदवारका रुपमा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार बनेका थिए । यसअघि पनि सोही गठबन्धनबाट उम्मेदवार बनेका रामचन्द्र पौडेलले २५ हजार बढी मत पाउँदा भट्टराईलाई मात्र २० हजार मत आयो । त्यसको एउटा कारण सत्ता साझेदार दल माओवादी केन्द्रका कार्यकर्ता निरुत्साहित हुनु पनि हो । माओवादी केन्द्रले तनहुँ १ मा कांग्रेसलाई सघाएबापत गण्डकी प्रदेश सरकारको नेतृत्व पहिला आफूले गर्नुपर्ने माग राखेको थियो । तर, सरकारको नेतृत्व जसैगरे पनि आफूले गर्नुपर्ने अडान कांग्रेसले राखेपछि माओवादी केन्द्र असन्तुष्टि बनेको थियो । जसको कारण माओवादीको भोट कांग्रेसका उम्मेदवार नगएको देख्न सकिन्छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानको वडामै रास्वपाका उम्मेदवारले कांग्रेसका उम्मेदवारको भन्दा दोब्बरभन्दा धेरै मत ल्याए । चुमानको वडा आँबुखैरेनी गाउँपालिका २ मा १ हजार ३९२ मत खसेको थियो । जसमा रास्वपाका स्वर्णिमले ८८१ मत पाउँदा कांग्रेसका भट्टराईले ३ सय ३६ र एमालेका खनालले १ सय ८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर