रुस भ्रमण ऐतिहासिक रुपमा उपलब्धिपूर्ण :अध्यक्ष तिमिल्सिना – Nepal Press

रुस भ्रमण ऐतिहासिक रुपमा उपलब्धिपूर्ण :अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा रसियामा ऐतिहासिक रुपमा उपलब्धिपूर्ण भएको बताएका छन् ।

रुसको उपल्लो सदन संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना मात्भिएन्काको निमन्त्रणामा भएको रुसको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले रुससँग अन्तरव्यवस्थापिका सहयोग आदानप्रदानका साथै आपसी सहयोग वृद्धिका लागि भ्रमण महत्वपूर्ण भएको बताएका हुन् ।

भ्रमणका क्रममा रुसको उपल्लो सदन र राष्ट्रियसभाका बीचमा अन्तरसंसदीय सहयोगलाई प्रवर्द्धन गर्नेलगायतका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए ।

राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बीचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तरसंसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तरक्रियामार्फत अन्तरसंसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।

यस्तै आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेशन र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ ।

समझदारीपत्रमा अन्तरव्यवस्थापिका संघलगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्नेसमेत उल्लेख छ ।

अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारले चाहेको अवस्थामा जीटुजीमार्फत रुसबाट रासायनिक मल र गहुँ आयात गर्न चाहेको तथा विगतमा रोकिएको नेपाल र रुस सीधा हवाई उडान पुनः सुरु गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन रुस तयार रहेको जानकारी पनि दिए ।

आफ्नो सहयोगमा बनेको कान्ति बाल अस्पतालको क्षमता विस्तार गर्न पनि रुसले चासो दिएको उनले जानकारी दिए । नेपाल र रुसका स्थानीय तहबीचमा पनि मितेरी सम्बन्ध विस्तार गर्ने सहमति भएको अध्यक्ष तिमिल्सिनाले बताए ।

रुसले यो भ्रमणलाई अहिलेसम्मकै उच्च महत्व दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर