प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा: क्यूआरमार्फत भुक्तानीको व्यवस्था – Nepal Press

प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा: क्यूआरमार्फत भुक्तानीको व्यवस्था

राष्ट्र बैंकले प्रधानमन्त्री प्रचण्डलाई पठायो इण्डिया नेपाल क्रसबोर्डर पेमेन्टसम्बन्धी प्रस्ताव

काठमाडौं । भारतमा पनि नेपालीले क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणका लागि नेपाल राष्ट्र बैंकले क्यूआरमार्फत भुक्तानी हुनसक्ने व्यवस्था मिलाउने गरी एजेन्डा बनाएको छ ।

प्रधानमन्त्रीलाई पठाइएको एजेन्डामा इण्डिया नेपाल क्रसबोर्डर पेमेन्टसम्बन्धी व्यवस्था रहेको राष्ट्र बैंक स्रोतले बतायो । स्रोत भन्छ, ‘क्यूआरमार्फत भारत नेपाल अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सम्झौता गर्न राष्ट्र बैंकबाट एजेण्डा गएको छ । प्रधानमन्त्रीले भारत भ्रमणमा यो एजेन्डा पेश गर्नेछन् ।’

ती अधिकारीका अनुसार नेपालमा जुन डिभाइसबाट क्यूआरमार्फत पेमेन्ट हुन्छ, भारतमा पनि त्यही डिभाइसमार्फत पेमेन्ट गर्न सकिने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । ‘अब भारत र नेपालका प्रधानमन्त्रीको प्राथमिकतामा कति पर्नसक्छ । त्यस आधारमा अघि बढ्ने कुरा हो’, उनले भने ।

नेपाली बजारमा क्यूआर पेमेन्टमा समस्या छैन । तर, भारतमा गएपछि अहिले भइरहेको डिभाइसमार्फत क्यूआरमा काम गर्दैन । ‘यदि यो सम्झौता भयो भने नेपालमा जसरी भारतमा पनि क्यूआरमार्फत पेमेन्ट गर्न सकिनेछ’, ती अधिकारीले भने ।

राष्ट्र बैंकको एकीकृत निर्देशनअनुसार अहिले क्रेडिट कार्ड, डेबिट कार्ड र प्रिपेड कार्डबाट भारतमा भुक्तानी गर्न र नगद झिक्न सकिन्छ । त्यसको सीमा दैनिक १५ हजार र मासिक एक लाख भारतीय रुपैयाँ छ ।

स्रोतका अनुसार क्यूआर पेमेन्ट सम्झौता भयो भने नेपालीले भारु नै बोकेर हिँड्नु पर्दैन । उसले नेपाली मुद्राबाट पनि भुक्तानी गर्न सक्नेछ ।

कसरी हुनेछ कार्यान्वयन ?

अन्तरदेशीय डिजिटल भुक्तानीको सम्झौता हुँदा नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्नसक्ने युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणाली लागू हुनेछ ।

नेपालमा यसको कार्यान्वयन राष्ट्र बैंकमार्फत नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले गर्नेछ । एनसीएचएल राष्ट्र बैंकको लगानी भएको संस्था हो । भारतका तर्फबाट भने रिजर्भ बैंक अफ इण्डियामार्फत नेशनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया (एनपीसीआई) ले गर्नेछ । यसमा क्यूआर, फण्ड ट्रान्सफर र मोबाइल बैंकिङ कारोबार सहज हुने स्रोतले बतायो ।

एनपीसीआईमा रिजर्भ बैंक अफ इण्डियाको लगानी रहेको छ भने यसको बोर्डमा भारतीय केन्द्रीय बैंकको प्रतिनिधित्व रहने व्यवस्था छ । भारतमा यूपीआई प्रणालीमार्फत विद्युतीय कारोबार सेवा दिने सरकारी संस्था एनपीसीआई हो । सम्झौता भए यसको लागि पनि कारोबारको सीमा तोकिने राष्ट्र बैंकले जनाएको छ ।

भारतमा सबै बैंकले डिजिटल बैंकिङ कारोबारमा भुक्तानी गर्दा यूपीआई प्रयोग गर्छन् । नेपालमा क्लियरिङ हाउसले सञ्चालन गरेको रिटेल पेमेन्ट स्वीचमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको डिजिटल भुक्तानी सुविधा लिन सकिन्छ ।

दुई देशबीच सम्झौता भएमा नेपाल आउने भारतीय पर्यटकले समेत नगद बोक्न पर्नेछैन र भारत जाने नेपालीले पनि नगद बोक्न पर्नेछैन । अहिले राष्ट्र बैंकले अमेरिकी डलर बेचेर भारु खरिद गर्दै आएको छ । यसले नेपाललाई अमेरिकी डलरको सञ्चितीमा दबाब पर्दै आएको छ । क्यूआरमार्फत भुक्तानीको व्यवस्था भएपछि नेपालीले लाइन लागेर भारतीय रुपैयाँ साट्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *