वर्षाले किन रोजिन् मृत्यु ? परिवारविरुद्ध माइती पक्षले दियो आत्महत्या दुरुत्साहनको मुद्दा – Nepal Press

वर्षाले किन रोजिन् मृत्यु ? परिवारविरुद्ध माइती पक्षले दियो आत्महत्या दुरुत्साहनको मुद्दा

विराटनगर । विराटनगरकी २७ वर्षीया वर्षा सुवेदी कोइरालाको मृत्यु रहस्यमय भएको भन्दै माइती पक्षले ४ जनाविरुद्ध प्रहरीमा आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गरेका छन् । चैत २४ गते राति कोठामा झुण्डिएको अवस्थामा फेला परेकी कोइरालाकी आमा रञ्जु सुवेदीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएकी हुन् ।

जाहेरीमा वर्षाका पति, ससुरा, सासू र नन्दलाई दोषी किटान गरिएको छ । श्रीमानले आफ्नी छोरीलाई निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएको आरोप रञ्जुले लगाएकी छन् । वर्षाको अनुहार तथा शरीरमा चोटपटक र निलडाम भएका तस्वीरहरुसमेत उनले प्रहरीमा पेश गरेकी छन् ।

वर्षा गत चैत २४ गते घरको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । अमेरिकामा बस्दै आएका मृतकका सासू–ससुरा घर आएको राति नै घटना भएको थियो ।

रञ्जुले भनिन्, ‘श्रीमानले शारीरिक र मानसिक यातना दिइरहेको भनेर छोरीले सुनाएकी थिई । त्यस्ता तस्बिरसमेत मसँग सुरक्षित छन् । परिवारको ज्यादतीकै कारण उसको ज्यान गएको हो ।’

रञ्जुका अनुसार वर्षाले उनलाई भिडियो कलमा आफ्नो अनुहार र शरीरका चोटपटक देखाएकी थिइन् । यस विषयमा माइती पक्षले चैत २५ गते परिवारसँग छलफल गर्ने तयारी गरेका थिए ।

बाबुआमा अमेरिकाबाट फर्किएपछि छोराले गरेको व्यवहारबारे छलफल र कानूनी उपचारको खोजी गर्ने तयारी रहेको रञ्जुले बताइन् । तर, त्यसको ठीक अघिल्लो राति नै वर्षाको शव भेटिएको हो ।

छोरालाई लिएर सुत्ने वर्षासँग घटना भएको राति नन्द सुजाता सुतेकी थिइन् । छोरालाई अर्कै कोठामा सुताएर आफू वर्षाको साथमा रहेको र राति साढे ११ बजेसम्म दुवै जना कुराकानी गर्दै बिताएको नन्द सुजताले प्रहरीसामु बताएकी छन् । उनले प्रहरीलाई आफू निदाउनुअघिसम्म भाउजू मोबाइलमा बोलिरहेको बयान दिएकी छन् ।

पति सुजनले चैत २४ बिहान साढे ८ बजेसम्म ढोका नखुलेपछि आफूले लात्तीले हानेर ढोका फुटाएको बताए । तर, बन्द रहेको भनिएको ढोकाभित्रको चुकुल जस्ताको त्यस्तै अवस्थामा रहनुलाई माइती पक्षले शंकास्पद बताइरहेका छन् ।

प्रहरीका अनुसार खाना पकाउने एलपी ग्यासको सिलिण्डरमाथि सिरानी राखेर पंखामा झुन्डिएको अवस्थामा वर्षाको शव भेटिएको थियो । सिलिण्डर भूईंमा लडेको भए पनि कोठामै सुतिरहेकी सुजाताले कुनै आवाज नसुनेको बताएकी छन् ।

वर्षाले पति सुजनका बारेमा आफ्नी बहिनी आश्मासँग पनि गुनासो गर्दै आएकी थिइन् । सानो छोराका कारण सम्बन्धविच्छेद गर्न नसकेको बताउने गरेको आश्माको भनाइ छ ।

‘दिदी सम्बन्ध विच्छेद गर्नेभन्दा विदेश जाने सोचमा हुनुहुन्थ्यो’, आश्माले भनिन्, ‘वैशाख महिनाकै सुरुमा कतार जाने तयारी गर्नुभएको थियो ।’

बहिनीसँगको म्यासेन्जर कुराकानीमा वर्षाले अघिल्लो वर्ष कोभिडका कारण सिकिस्त बिरामी हुँदा सुजनले खानसमेत नदिएको बताएकी छन् ।

मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले प्रहरीले जाहेरी गरिएका व्यक्तिलाई उपस्थित गराई बयान लिएको बताए । आवश्यक प्रमाणका आधारमा घटनाका बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।

पोखरेलका अनुसार वर्षाले आत्महत्या गर्नुअघि एक सहकर्मीलाई भिडियो पठाएको देखिएकाले यसतर्फ पनि अनुसन्धान भइरहेको छ ।

‘उनले भने झुण्डिनुअघि सल देखाएर भिडियो कल गरेको देखिन्छ । भिडियो कलपछि पोदारको फोन आएको देखिन्छ’, एसपी पोखरेलले भने, ‘आत्महत्या गर्नुको कारण के हो ? हामी अनुसन्धान गरिरहेका छौं ।’

मृतक वर्षा कार्यरत कामना विकास बैंकका एक सहकर्मीलाई चैत २८ गते प्रहरीले पक्राउ गरेको छ । मृतकको मोबाइलमा ती सहकर्मीसँग गरिएका कुराकानी र भिडियोका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरी प्रमुख पोखरेलले बताए ।

२०७१ साल असोजमा सुजनसँग वर्षाको विवाह भएको थियो । सुरुमा प्रेम सम्बन्धमा बाँधिएका उनीहरुले परिवारको मञ्जुरीमा परम्परागत तवरबाट विवाह गरेका थिए । २०७२ सालसम्म सहज सम्वन्ध रहे पनि केही वर्षअघिदेखि उनीहरु भिन्न कोठामा बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर