रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु (तस्विरहरु) – Nepal Press

रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु (तस्विरहरु)

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सोमबार सुरु भएको छ ।

जात्राको पहिलो दिन ललितपुरको पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गाःबहालमा पुर्‍याइएको छ । रथ तान्नुअगाडि गुरुज्यूको पल्टनबाट सलामी दिइएको थियो । मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ ।

रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्च बुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् । मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबहाल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ ।

पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरु गराएको किंवदन्ती छ ।

तस्विरहरु : गाैरव पाैडेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *