सन्दीपको मुद्दामा ३ घण्टा बहसपछि न्यायाधीशले भने– हेर्दाहेर्दैमा राख्दिन, अर्को पेशी तोकिन्छ – Nepal Press

सन्दीपको मुद्दामा ३ घण्टा बहसपछि न्यायाधीशले भने– हेर्दाहेर्दैमा राख्दिन, अर्को पेशी तोकिन्छ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज वादीतर्फका वकिलहरुले ३ घण्टा बहस गरेका छन् । तर, न्यायधीस दीपक ढकालले मुद्दालाई हेर्दा हेर्दैमा राखेनन् ।

मुद्दामा आज सरकारी वकिलहरुले बहस गरेका थिए । बहस नसकिएपश्चात हेर्दाहेर्दैमा राखेर अर्को दिन यसलाई निरन्तरता दिने प्रचलन छ ।

तर, न्यायधीश ढकालले हेर्दाहेर्दैमा राख्न इन्कार गर्दै अर्को पेशी तोकिने घोषणापछि दुवै पक्षका वकिलहरु आश्चर्यमा परेका थिए ।

एक वकिलले न्यायाधीश मुद्दाको फैसला गर्न खुट्टा कमाएको टिप्पणी गरे ।‘चार जनाको बहस सुनिसेकपछि हेर्दाहेर्दैमा राख्नुपर्ने हो । तर, उहाँले ठाडै इन्कार गर्नुभयो । आफैंले फैसला गर्दा विवादमा पर्ने डरले पन्छाउनुभएको हुन सक्छ,’ ती वकिलले भने ।

स्रोतका अनुसार बहसको सुरुमा नै न्यायधीसले जाहेरीकर्ताको उमेरबारे प्रश्न उठाएका थिए । ‘उमेरबारे दुईथरि कुरा आइरहेका छन् । वास्तविक उमेरको निक्र्यौल कसरी हुन्छ त ?’ उनले सरकारी वकिललाई सोधेका थिए । सरकार वकिलले नागरिकतालाई नै आधार बनाउनुपर्ने माग गरे ।

जाहेरीकर्ताको नागरिकता र जन्मदर्तामा उमेर फरक देखिएको छ । जन्मदर्ताका आधारमा उनी बालिग भइसकेकी छन् ।

कुनै पनि मुद्दा हेर्दाहेर्दैमा राख्दा अर्को दिन सोही न्यायधीसको इजलासमा बहसले निरन्तरता पाउँछ । तर, नयाँ पेशी तोकिँदा न्यायधीस पनि नयाँ हुन्छन् र बहस फेरि सुरुबाटै थाल्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *