तीन करोड लगानीमा खुल्यो थारु संस्कृति झल्काउने रिसोर्ट – Nepal Press

तीन करोड लगानीमा खुल्यो थारु संस्कृति झल्काउने रिसोर्ट

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा थारु संस्कृति, परम्पराको संवद्र्धन गर्दै ‘अपन रिसोर्ट’ सञ्चालनमा आएको छ ।

विशेषगरी थारु समुदायको परम्परा र परिकारको स्वाद पस्किने गरी सिद्धार्थ राजमार्गको भैरहवा–बुटवल मुख्य सडक खण्डबाट ८०० मिटर पूर्व तिलोत्तमाको बोहियामा थारु युवाहरुको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

होटल सञ्चालनमा आएसँगै थारु समुदायका चर्चित परिकार घोँगी, ढिक्री, लाइलड्डु, दूधपुवा, गंगटा, झिंगे माछा, सानो बाम, ऐँठा, सितुवालगायतका परिकार रिसोर्टमा उपलब्ध भएको रिसोर्टका निर्देशक मनिष चौधरीले बताए ।

`

रिसोर्टमा थारुहरुको नाच समेत हेर्न पाइनेछ । भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलहुँदै भित्रिने बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरी करिब ३ करोड रुपैयाँको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको निर्देशक चौधरीले बताए ।

रिसोर्टमा ८० जना क्षमताको एक सभाहलसहित खुल्ला गार्डेन, आवासका लागि ५ वटा कोठा, आधा दर्जन बढी कटेज रहेका छन् । रिसोर्ट १२ कट्ठा क्षेत्रफलमा फैलिएको निर्देशक चौधरीले जानकारी दिए ।

थारु संस्कृति र कलाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरी समुदायमा आर्थिक समृद्धि ल्याउन रिसोर्टले सहयोग पुर्‍याउने सञ्चालकको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *