बजारमा जिराको कृत्रिम अभाव, एकै पटक प्रतिकेजी चार सयले मूल्यवृद्धि – Nepal Press

बजारमा जिराको कृत्रिम अभाव, एकै पटक प्रतिकेजी चार सयले मूल्यवृद्धि

काठमाडौं । पछिल्लो सयम सबै खाद्य वस्तुको मूल्य वृद्धि भएको छ । त्यस्तै मसलाजन्य वस्तुको जिराको मूल्य चर्को बढेको छ ।

अहिले किराना पसलदेखि मसला मिल्समा जिरा पाउन मुस्किल छ । जसले गर्दा यसको मूल्य ह्वात्तै बढेको छ । व्यापारीहरुका अनुसार प्रतिकेजी ६ सय रुपैयाँ रहेको जिरा अहिले ९ सयदेखि एक हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

बजारमा जिरा अभाव भएपछि उपभोक्तासँगै व्यापारी तथा व्यवसायीहरु अचम्भित छन् । काठमाडौंको ओम किराना स्टोरका सञ्चालक ओम श्रेष्ठले भने, ‘अहिले बजारमा जिराको अभाव छ । ६ सय रुपैयाँमा बिक्री भइरहेको जिरा अहिले हामीले नै प्रतिकेजी ८५० देखि ९५० सम्म तिरेर लिइरहेका छौं ।’

बजारमा जिरा अभाव भएकाले ५० केजी अर्डर गर्दा पनि मुस्किलले १० केजीमात्रै पठाउने गरेको उनले बताए । उपचुनाव र बिचौलियाको कारण बजारमा जिराको कृत्रिम अभाव भएको श्रेष्ठको भनाइ छ ।

व्यापारी कृष्ण लामाले पनि बजारमा जिराको माग धेरैभएकाले मूल्य पनि अकासिएको बताए । ‘अहिले ग्राहकलाई जिरा दिन सक्ने अवस्था छैन’, उनले भने, ‘५००-६०० सय प्रतिकेजी भएको जिरा अहिले एकाएक ९ सयदेखि एक हजार पुगेको छ ।’

उनले पछि जिराको मूल्य घटेर आउने भएकाले अहिले आवश्यकभन्दा बढी नकिन्न ग्राहकहरुलाई सम्झाउँदै आएको बताए ।

खुद्रा व्यापार संघका सचिव अमुलकाजी तुलाधरले बजारमा जिराको मूल्य अत्यधिक बढेको र अभाव पनि रहेको नेपालप्रेससँग बताए ।

‘भारतमै जिराको मूल्यवृद्धि भएको भन्दै नेपाली बजारमा पनि मूल्य बढाइएको छ’, तुलाधरले भने, ‘अहिले हामीले जिरा ल्याउने ठाउँबाटै प्रतिकेजी ५ सयको बिलमा ८७५ रुपैयाँ लिएको छ । विल थोरैको तर मूल्य धेरै भएकाले खुद्रा व्यापारीहरुले जिरा ल्याउन नसक्ने अवस्था छैन ।’

कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्ने निकाय वाणिज्य विभागका अधिकारीहरुसँग भने सम्पर्क हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *