हर्क साम्पाङले गुइँठे भनेर अपमान गरेपछि धरानका वडाध्यक्षको प्रतिक्रिया- तिमी धकुले हौ – Nepal Press

हर्क साम्पाङले गुइँठे भनेर अपमान गरेपछि धरानका वडाध्यक्षको प्रतिक्रिया- तिमी धकुले हौ

धरानका वडाध्यक्षहरूको रियाक्सन- हर्क साम्पाङसँगको लडाइँ अब वार कि पारको

विराटनगर । धरान उपमहानगरका मेयर हर्क सम्पाङ्ग र वडाअध्यक्षहरूको विवाद थप चुलिएको छ ।

विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङ्गले वडाध्यक्षहरूको राजीनामा मागेका थिए । मेयरले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयरको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टियप्पणी गरेका छन् ।

राजीनामा दिन चेतावनीसहितको विज्ञप्तिपछि वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ्गलाई राजीनामा गरेर पुन: चुनाव लड्न चुनौती दिएका छन् ।

एक वर्षसम्म मेयरको पेलान सहेको भन्दै अब नबस्ने उनीहरूको प्रतिक्रिया छ । वडाध्यक्षहरूले आफूहरूले विधि र प्रक्रियाको कुरा गरेको तर मेयरले प्रक्रियाभन्दा बाहिर गएर धाकधम्की दिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा धरान- ६ बाट स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष भूपेन्द्र भट्टराईले साम्पाङलाई नगर प्रमुख पदबाट राजीनामा दिएर आफ्नो वडामा अध्यक्ष जितेर देखाउन चुनौती दिए ।

उनले मेयर साम्पाङले आफूलाई खोला बेचुवा भनेर चिनाउन खोजेको आरोप लगाउँदै भने, ‘आफनै स्रोत साधन प्रयोग गरौँ खोलाको उचित सदुपयोग गरौँ खोला ठेक्का होइन स्रोत परिचालन गरी बाटोघाटो र विकास कार्य गरौँ भन्दा खोला बेच्न खोजेको हुन्छ ? के खोला मेयरको ठेक्का हो ?’

भट्टराईले वडाको उन्नति र विकासका लागि आफू हरपल प्रयत्न गर्दै मेयरसँग झुकेको तर त्यसको गलत अर्थ लगाएको बताए ।

१७ नम्बरका अध्यक्ष सूर्यबहादुर भट्टराईले उपमहानगरपालिकाको विवाद मेयर हर्क साम्पाङसँग वडाध्यक्षहरूको व्यक्तिगत नभई विधि, प्रक्रिया, पद्धति, विभेद र न्यायको लडाइँ भएको बताए । वडाध्यक्षहरूलाई राजीनामामा माग्ने मेयरले आफैँ राजीनामा दिएर चुनावमा भिड्न उनले चुनौती दिए ।

यो पनि पढ्नुस् : वडाध्यक्षहरूलाई हर्क साम्पाङको चेतावनी- सच्चिएर बैठकमा आऊ, नत्र राजीनामा देऊ

उनले धरानलाई समृद्ध बनाउन कार्यपालिकालाई एकताबद्ध बनाएर अघि बढाउने दायित्व र भूमिका नेतृत्वमा बसेको मेयरको भएको बताए । मिलेर, मिलाएर जाऊँ भन्दै अगाडि बढेको तर अबको लडाइँ अब वारपारको बनेको भट्टराईको भनाई थियो ।

मेयर साम्पाङले बोलाएको बैठकमा धरानको विकासको एजेन्डा नहुने भन्दै वडाध्यक्षहरू बैठकमा नजाँदा विकास प्रभावित नभएको उनको जिकिर छ ।

उनले भने ‘फेसबुकमा लाइक र कमेन्टले धरान चल्दैन । धरान बनाउन स्थानीय शासन सञ्चालन ऐन नियम अनुसार अघि बढ्नुपर्छ उनले बताए । हाम्रो ५ वटा माग पूरा नभए कानूनी प्रक्रियामा जान्छौं ।’

वडा नम्बर १८ का अध्यक्ष प्रवीण राईले कार्यपालिका बैठक सुचारु गर्न मेयर आफैँ नलागेको आरोप लगाए ।

‘सहजीकरणको लागि समीक्षा गरौं भनेका थियौं, तर उहाँ आफैँ मान्नु भएन’, उनले सुनाए ।

सामाजिक सञ्जालमा वडा अध्यक्षहरूलाई ‘गुइँठे’ भन्दै अपमान गर्ने र अस्तित्वमाथि नै धावा बोल्ने अधिकार मेयर साम्पाङलाई नभएको राईले बताए ।

उनले भने ‘क्रियाको प्रतिक्रिया हुन्छ, मेयर धकुले (धक्कुमात्र लाउने काम नगर्ने) उपनामले चिनिएका छन् ।’

धरानमा लामो समयदेखि वडाअध्यक्ष र मेयरबीच लामो समयदेखि विवाद छ । मेयरका स्वकीय सन्दिर लिम्बूले वडाअध्यक्षहरूलाई निर्देशनात्मक पत्र पठाएपछि विवाद सुरू भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर