धेरै चेस खेलेरै ओली राजनीतिक खेलाडी बन्नुभएको छ : अध्यक्ष तिमिल्सिना – Nepal Press

धेरै चेस खेलेरै ओली राजनीतिक खेलाडी बन्नुभएको छ : अध्यक्ष तिमिल्सिना

‘धेरै चेस खेलेरै प्रचण्डले जंगलदेखि सरकारमा तहल्का मच्चाउनुभएको छ’

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पार्टी र पार्टीका नेतृत्वप्रति कटाक्ष गरेका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरुप्रति कटाक्ष गरेका हुन् ।

उनले त्याग गरेका नेताहरुको तुलनामा भर्खरै राजनीतिमा आएका नेताहरुको चर्चा बढी भइरहेको भन्दै राजनीतिमा टिकेर देखाउन सक्नुपर्ने बताए ।

‘अब गर्ने कुराको महत्व हुन्छ, हिजो हामीले के गरेका थियौँ, त्यो इतिहास हो । इतिहासलाई बचाउने र त्यसलाई जीवन्त दिने कुरामा वर्तमानमा पनि त्यत्तिकै राख्नुपर्छ’, उनले भने, ‘आज त्यत्ति नेताहरुले चासो नदिएको जस्तो देखिन्छ । त्याग गरेका भन्दा भर्खरै हार्ईंफाईं गर्नेहरु नै बढी चर्चामा आउने गरेका छन् । कति टिक्नुहुन्छ, टिक्दा त राम्रो शुभकामना कति हुन्छ भविष्यले बताउँछ ।’

उनले बुद्धिचालका कारण मानिसहरुको दिमाग तेजिलो हुनेपनि बताए । उनले नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरुमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गरे । उनले चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उनले राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जंगलदेखि संसद र सरकारसम्म पुग्नुको कारण हुनसक्ने बताए । अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बन्नुभएको हुनसक्ने बताए ।

‘बुद्धिचाल राजनीति गर्नेले पनि राम्रोसँग खेल्यो भने धेरैकुरा जान्दछ । मैले चिनेको मध्येमा र थाहा पाएको मध्येमा धेरै नेताहरु खेल्नुहोला, मसँग जोडिएको भएर भनेको होइन, केपी ओली जी जेलमा हामी सँगै थियौँ, उहाँ त्यतिबेला पनि चेसमा उहाँलाई कसैले हराउन सक्दैन थियो’, अध्यक्ष तिमल्सिनाले भने ।

‘उहाँ राजनीतिक खेलाडी त हुँदै हो, सबैले बुझेकै छौँ, साँच्चिकै खेलाडी पनि हो । जेलमा हुने खेलहरुमा भलिबल अलिअलि, क्यारेमबोड, चेस, ती सबैमा उहाँलाई कसैले हराउन सक्नु हुँदैन थियो । खेलका कारणले राजनीतिमा जुन ढंगले अहिले भुमिका खेल्नुभएको छ, चेसले यो विकास गरेको हुनुपर्छ । त्यो एउटा धेरै कारणमा होला’, उनले भने, ‘शेरबहादुर देउवाले धेरै खेल्नुभएको होला, किनभने उहाँ धेरै पटक प्रधानमन्त्री हुनुभएको छ, पुष्पकमल दाहालले खेल्नुभएको होला, जंगलदेखि सदन, सरकार सबैतिर तहल्का मच्चाउनुभएको छ । जेलदेखि अहिलेसम्म मेरो ओलीजसँग संगत लामो भएकोले थाहा पाएको हो । खेलको महत्व देशले बुझ्न थालेको हो की भन्ने लागिरहेको छ । तर चेसलाई राज्यले त्यत्ति महत्व दिएको छ जस्तो लाग्दैन, दिनुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्व नदिएकाले आगामी दिनमा महत्व दिन आग्रह गरे । उनले चेस खेल नेपालको जनकपुरबाट उत्पत्ति भएको पनि बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर