बालेन र हर्कको जुगलबन्दी- फेसबुकमा एकअर्कालाई आड दिँदै – Nepal Press

बालेन र हर्कको जुगलबन्दी- फेसबुकमा एकअर्कालाई आड दिँदै

काठमाडौं । एउटै चुनावचिन्ह लौरोबाट स्थानीय चुनाव जितेका काठमाडौंका मेयर बालेन्द्र साह र धरानका मेयर हर्क सम्पाङबीच कुनै समयमा फेसबुक वार चलेको थियो । तर, अहिले उनीहरुबीच सम्वन्ध सुध्रिएको मात्र छैन, दोस्तियारी बढिरहेको छ ।

संयोगले दुवैजना मेयर यतिबेला केन्द्र सरकारसँग आआफ्नो सरोकार अघि सारेर लडिरहेका छन् । विभिन्न मन्त्रालयहरुले असहयोग गरेको भन्दै बालेनले सिंहदरबार, शीतलनिवास र बालुवाटारको फोहोर उडाउन दिएका छैनन् । उता साम्पाङले धरानका लागि खानेपानी आयोजना माग गर्दै विभिन्न किसिमले दबाब दिइरहेका छन् ।

दुवै मेयरले सरकारविरुद्ध यसरी संघर्ष गरिरहँदा जनमानसमा भने मिश्रित प्रतिक्रिया छ । धेरैले उनीहरुलाई समर्थन जनाएका छन् । कतिपयले चाहिँ सरकारसँग टकराव गर्नु उचित नहुने सुझावसमेत दिएका छन् । यसै सन्दर्भमा दुवै मेयरले सामाजिक सञ्जालमार्फत एक–अर्काको अभियानमा ऐक्यवद्धता जनाएका छन् ।

धराने मेयर साम्पाङले हिजो फेसबुकमा स्टाटस लेख्दै कडा चेतावनी दिएका थिए । यसपािको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरुलाई धरानमा निषेध गर्ने उनको घोषणा थियो ।

साम्पाङले लेखेका छन्, ‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरुर्लाइ धरानमा निषेध गरिनेछ । तल तीनकुनेमै बोर्ड राखिनेछ फोटोसहितको । ख्याल नठान्नुहोला । यो फेसबुक चलाउने मान्छे धरानको नगरप्रमुख हो भन्ने नभुल्नु ।’

यो स्टाटसमा बालेनले बलियो समर्थन जनाएका छन् । कमेन्ट बक्समा उनी लेख्छन्, ‘पूर्ण समर्थन । गर्ने नै यही हो ।’
बालेनको यो समर्थनको बदलामा हर्कले पनि गुण तिरेका छन् । उनले आज एक स्टाटस लेख्दै बालेनले सरकारसमक्ष राखेको मागलाई जायज संज्ञा दिए ।

उनले सरकारलाई कटाक्षसमेत गर्दै लेखेका छन्, ‘विभिन्न जायज माग राखेर बालेनजीले सिंहदरबारभित्रको फोहोर उठाउँदैनौं भन्नुभो । अब त्यहाँभित्र फोहोर सफा गर्ने श्रमदान हुन्छ होला । हामी भीरमा तान्यो तान्यो भन्छौं, त्यहाँ चाहीँ सोर्यो, सोर्यो भन्दा हुन् ।’

हर्क केही दिनअघि मात्रै काठमाडौं आउँदा बालेनलाई भेटेका थिए । त्यो भेटले उनीहरुको सम्बन्धलाई थप प्रगाढ तुल्याएको छ । उनीहरुको मित्रता बढ्दा समर्थकहरु पनि खुशी छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर