पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या – Nepal Press

पत्रकार बनेर आएका तीन जनाद्वारा पूर्वभारतीय नेताको हत्या

काठमाडौं । अपहरणको अभियोगमा दोषी ठहरिएका एक जना पूर्वभारतीय राजनीतिज्ञ र उनका भाइको गोली हानेर हत्या भएको छ । पत्रकार बनेर आएका तीन जना किशोरले प्रहरी घेरामै उत्तर प्रदेशका पूर्वसांसद अतिक अहमद र उनका भाइ असरफलाई गोली हानेर मारेका हुन् ।

यहाँस्थित अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याइएका अहमद दाजुभाइ अस्पताल बाहिर पत्रकारसँग कुराकानी गरिरहेका बेला पत्रकारकै बीचमा रहेका ती तीन जनाले उनीहरूलाई टाउकोमा गोली हानेका थिए । घटना गएराति भएको हो ।

पूर्वसांसद राजु पालको हत्यामा दोषी ठहरिएका उनीहरू साबरमती जेलमा कैद भुक्तान गरिरहेका थिए । आक्रमणकारी तीनै जनालाई पक्राउ गरिएको छ ।

अतिक अहमदविरुद्ध विगत दुई दशकमा अपहरण, हत्या र जबरजस्ती करणीलगायत दर्जनौं मुद्दा दर्ता भएका थिए । स्थानीय अदालतले उनलाई अपरहण मुद्दामा गत मार्चमा जन्मकैदको सजाय सुनाएको थियो । अतिकले आफूलाई प्रहरीबाट असुरक्षा रहेको बताउँदै आएका थिए ।

अतिक र असरफलाई गोली हानेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । दुई दिनअघि अतिक अहमदका छोरा असद तथा उनीसँगै रहेका उनका साथी गुलाम मोहम्मद झाँसीमा भएको प्रहरी कारबाहीमा मारिएका थिए । उनीहरूविरुद्ध उत्तर प्रदेश प्रहरीको विशेष कार्यदलले कारबाही गरेको थियो ।

मुख्यमन्त्री योगी आदित्यनाथले उक्त घटनाको उच्चस्तरीय अनुसन्धान गर्न आदेश दिँदै तीन सदस्यीय न्यायिक आयोग गठनको घोषणा गरेका छन् ।

उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले उक्त घटनालाई अपराधको पराकाष्ठा भन्दै राज्यमा शान्ति सुव्यवस्था कायम गर्न अक्षम भएकामा राज्य सरकारको आलोचना गरेका छन् ।

काङ्ग्रेस नेत्री प्रियङ्का गान्धी, भारतीय कम्युनिष्ट पार्टीका नेता सीताराम यचुरीलगायत विभिन्न राजनीतिक पार्टीका नेताले हत्याकाण्डको निन्दा गरेका छन् । उनीहरूले राज्यमा जङ्गली राजलाई बढावा दिएको आरोप लगाउँदै मुख्यमन्त्री आदित्यनाथको आलोचना गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *